नेपालमा अझै पनि पुरुष क्रिकेट टिमले खासै राम्रो अन्तर्रा्ष्टि्रय व्यावसायिक क्रिकेट खेल्ने अवसर नपाइरहेका बेला नेपाली महिला क्रिकेटर मनिता गौतम अमेरिकाको क्रिकेट टिममा अनुबन्धित भएकी छिन्। नेपाली राष्ट्रिय टोलीकी पूर्व सदस्य मनिताले तीन वर्ष नेपाली टोलीबाट खेलेकी थिइन् ।
यतिबेला नेपालमा महाविपत्तिका कारण खेल गतिविधि शून्य छ तर मनिताको क्रिकेटमा लामो फड्को खेलकुद जगत्का लागि खुसीको विषय बन्न पुगेको छ ।
चितवनको भरतपुरमा जन्मेर त्यहीबाट क्रिकेट प्रशिक्षक सुनिल लामा, राजु खड्काबाट क्रिकेट खेल्न सुरु
गरेकी गौतम नेपाली महिला टोलीकी भरपर्दो खेलाडी थिइन् ।
नेपाली महिला क्रिकेट टोलीकी सदस्य रहेकी मनिता अमेरिकाको क्यालिफोर्नियामा रहेको युएसए बाका फायरबर्ड क्लबमा अनुबन्धित भएकी हुन् ।
फायरबर्ड क्लबको टोलीबाट मनिताले तीन खेल खेलिन् । उनको टालीको न्युयोर्कको ब्रुकलिनस्थित ३३९ गेटवे मैदानमा खेल भएको थियो । उनले उक्त क्लबबाट क्षेत्रीय प्रतियोगिता खेलेकी थिइन् । यसमा उनको राम्रो प्रदर्शनका कारण अमेरिकाकै राष्ट्रिय टोलीमा समेत सहभागी हुने अवसरसमेत मिल्न सक्ने प्रशिक्षक सुनिल लामाले बताए ।
उनको टोलीले अमेरिकामा पहिलो खेल न्युयोर्क रिजन र दोस्रो खेल लेगासी सिसीसाग खेलेको थियो । अमेरिकाबाट पहिलो पटक क्रिकेट खेलेकी अलराउन्डर मनिताले सन् २०११ मा एसिसी महिला सिनियर टिममा रहेर कुबेतमा खेलेकी थिइन् । मनिताको बलिङ र ब्याटिङ दुवै उत्कृष्ट छ ।
