धरान । धरान खानेपानी व्यवस्थापन बोर्डको बैठक बस्न नसकेको विषयमा बोर्ड सदस्यले नै ध्यानाकर्षण गराएका छन् । बोर्डको अध्यक्षको हैसियतमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अहिलेसम्म बैठक नबोलाउँदा बोर्डबाट सञ्चालन भइरहेको गतिविधि जानकारी नपाइएको भन्दै बोर्डको पदेन सदस्य रहेको सुनसरी उद्योग वाणिज्य संघले धरान खानेपानी बोर्ड व्यवस्थापन बोर्डको कार्यालयमा गएर चार बुदे मागपत्र समेत बुझाएका थिए ।

सुनसरी उद्योग वाणिज्य संघ ऐन वमोजिम धरान खानेपानी व्यवस्थापन बोर्डको पदेन सदस्य रहेको छ । संघको अध्यक्षमा जो निवार्चित हुन्छन्, उही संघको प्रतिनिधित्व गर्दै बोर्ड सदस्यको भूमिकामा रहन्छन् । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ निर्वाचित भएर आइसकेपछि अर्थात विगत एक बर्षदेखि भने खानेपानी बोर्डको बैठक बस्न नसक्दा बोर्डको गतिविधि जानकारी नभएको उनीहरुले बताएका छन् । संघका अध्यक्ष विजय श्रेष्ठ, पुर्वअध्यक्ष गिरीधारी सापकोटा, वर्तमान प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, महासचिव महेन्द्र प्रधान, वाणिज्य सचिव किसन मास्केलगायतको टोली बोर्डको कार्यालयमा पुगेका थियो । सो अवसरमा बोर्डका सदस्य तथा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले अहिलेसम्म बोर्डको बैठक बसेको छ कि छैन, बोर्ड कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा जानकारी लिन बोर्डको कार्यालयमा पुगेको बताउनुभयो । कार्यकारी निर्देशक राजु पोखरेलले बोर्ड बैठक अध्यक्षको निर्देशनमा आफुले बोलाउनुपर्ने प्रावधान रहेकोले मागबारे अध्यक्षलाई जानकारी गराउने बताउनुभयो । बोर्डको ऐन २०६३ को दफा १४ को उपदफा १ वमोजिम बर्षको ६ पटक वा तीन महिनाको फरकमा बोर्ड बैठक अनिवार्य बस्नु पर्ने भएपनि पदेन सदस्य नै रहेको संघलाई बैठक बारे नभएपछि बोर्डको वैठकसँग सञ्चालनको प्रक्रियाका बारेमा प्रश्न राखेका थिए ।
