धरानको चिण्डेडाँडा पर्यटकीय स्थल बन्दै

धरान । अहिले तराईमा ह्वात्तै गर्मी बढेको छ । सर्वसाधारणहरु चीसो ठाउँको खोजीसँगै रमणीय स्थलको खोजीमा हुन्छन् । रमणीय स्थलसँगै चीसो मौसमका कारण धनकुटाको भेडेटार धनकुटा घुम्न जानेहरुको  रोजाईमा पर्छ । तर पछिल्लो समय भेडेटारको विकल्प धरान २० चिण्डे डाँडा बन्दै गएको छ । नजिकको दूरी रमणीय स्थल भएकै कारण अहिले यस स्थानमा आन्तरिक पर्यटकहरु आउन थालेका छन् । धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरी पार गरेपछि धरान उपमहानगरपालका वडा नं. २० मा पर्ने चिण्डेडाँडा पुग्न सकिन्छ । यो ठाउँ पछिल्लो समय रमरणीय स्थलको रुपमा परिचित बन्दै गएको छ ।


प्याराग्लाडिङ यस ठाउँबाट उड्नेमात्र हैन यो डाँडाबाट धरान लगायत  तराईका विभिन्न भागको दृश्य राम्ररी नियाल्न सकिन्छ । सडक जीर्ण भएपनि अहिले यो ठाउँ टे«किङको रुपमा विकास हुदै गएको छ ।  धरान १५ बाट अघिल्लो दिन नै बास बसेर फर्किदै गरेको मनोज विकको टोली अघिल्लो दिन नै टेन्ट बोकेर चिण्डे डाँडामा बसेको सुनाउनुहुन्छ । पैदलै हिडेर अघिल्लो दिन चिण्डेडाँडा पुग्नु भएका उहाँको टोलीले बाटो घाटो राम्रो भएको खण्डमा यस ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुहुन्छ । ठ्याक्कै पोखराका विभिन्न ठाउँबाट पोखराको दृश्यजस्तै रमणीय धरानको दृशय अवलोकन गर्न सकिने भएकोले यसलाई पोखराकै जस्तो पर्यटकीय स्थलको रुपमा विकास गरेर लान सकिने स्थानीय भरतराज शर्मा बताउँछन् ।  सडक राम्रो नभए पनि यो स्थान अहिले युवाहरुका लागि साइकलिङ गर्ने स्थानको रुपमा परिचित बन्दै गएको छ । यो ठाउँलाई ट्रेकिङको अवधारणा अगाडि बढाएर विकास गर्न सके अन्य पर्यटकीय स्थलजस्तै घुम्न आउनेहरुको रोजाईमा पर्ने साइकलिङमा पुगेका युवाहरु बताउँछन् । आजभन्दा ५ बर्ष अगाडि चिण्डे डाँडासम्म पुग्ने बाटो गोरेटोमात्र थियो । अहिले कच्ची सडकसम्म बनेको छ । दुई प्रांग्रे मोटरसाइक, अटो रिक्सा लगायतका सवार साधन यस ठाउँमा पुग्न सक्छन् । सडक सञ्जालले छोएपछि यस ठाउँमा होटल समेत सञ्चालनमा छन् । स्थानीय होटल सञ्चालक प्रेमकुमार राईले बाटो घाटोको सुविधा भएको भए यो ठाउँमा अत्याधिक पर्यटक आउने बताउनुभयो । उहाँले यस विषयमा सम्बन्धित पक्षसँग पटक पटक पहल गरेको भएपनि सुनुवाई नभएको बताउनुभयो ।  चिण्डेडाँडा पुग्नेहरुले ऐतिहासिक स्थल सुलिकोट, झण्डी डाँडा लगायतका स्थानमा समेत पुग्ने र एक रात बास बसेर आउने गरेको पाइएको छ । चिण्डे डाँडा थोरै तल कालीमाटीमा सेच्छ एड्भेन्जर प्रा.लि.ले पर्यटकलाई तान्न साहसिक पर्यटक स्थलको निर्माण गरको छ । तर पनि धरान उपमहानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्न चासो देखाएको पाइदैन । धरानभन्दा केही चिसो, रमणीय स्थल भएकै कारण पनि त्यहाँ पुग्ने जोकोहीले यस स्थलको सुन्दरताको वर्णन गर्ने गर्छन । भौगोलिक हिसाबले पनि अति रमणीय स्थल चिण्डेडाडालाई पर्यटकीय स्थलको रुपमा विकास गरेर लग्न सके यो ठाउँ रमणीयमात्र हैन सैयौले रोजजारी समेत पाउने थिए ।

तपाईको प्रतिक्रिया