धरान । आर्थिक एवम् प्राविधिक रुपमा विश्वमै शक्ति सम्पन्न बन्दै गएको चीनले चिनियाँ भाषा, कला,गीत र संगीतमार्फत नेपालमा जनस्तरमा सम्बन्ध विस्तार गर्ने उद्देश्यले विद्यालय स्तरमै चिनियाँ भाषा अध्यापनमा जोड दिँदै आएको छ । नेपालमा कोरोना महामारी शुरु हुनुभन्दा अगाडि नेपालका ६० भन्दा बढी विद्यालयमा चिनियाँ भाषा अध्ययापन हुँदै आएको थियो । चिनियाँ भाषा अध्यापनका लागि नेपालको शिक्षा मन्त्रालय र चीन सरकारबीचमा वि.सं. २०७१ असोज २९ गते चिनियाँ भाषा विद्यालय स्तरमै अध्यापन गराउन स्वयम्सेवक शिक्षक परिचालन गर्ने सम्बन्धी सम्झौता भएको थियो ।
शिक्षा मन्त्रालयको तथ्यांक अनुसार कोरोना कालभन्दा अगाडि नेपालका ६० वटा विद्यालयले चिनियाँ भाषा अध्यापनका लागि अनुमति लिएर अध्यापन गराउँदै आएका थिए । तर कोरोना कालपश्चात चिनियाँ राजदुतावासले उपलब्ध गराएका स्वयम्सेवक शिक्षिकाहरु अधिकांश मुलुक फर्किएपछि हाल राजधानी, पोखरा, बुटवल, सिन्धुपाल्चोकका सीमावर्ती विद्यालयहरुमा मात्र चिनियाँ भाषा अध्ययन हुँदै आएको स्रोतले जनाएको छ । कोरोना कालभन्दा अगाडि सुनसरीको तरहरास्थित सहीद स्मृति माविमा समेत चिनियाँ भाषा पढाउन शुरु गरिएको थियो । धरानको भालढुंगा मावि, खोटाङका दुई सामुदायिक विद्यालयर्ले समेत चिनियाँ भाषा अध्यापनका लागि स्वयम्सेवक शिक्षक उपलब्ध गराइ दिन आवेदन दिएका थिए ।

चीन सप्ट पावर (नरम शक्ति मार्फत) जनता जनता बीचको सम्बन्ध विस्तार गर्न चाहेकोले चिनियाँ भाषा अध्यापन गराउन चाहने विद्यालयले जिल्ला शिक्षा समन्वय इकाई कार्यालयमा शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि प्रक्रिया अगाडि बढाउन आवेदन दिनुपर्ने हुन्छ । शिक्षा विकास समन्वय कार्यालयले शिक्षा विभाग हुँदै मन्त्रालयबाट चिनियाँ दुतावासमा विद्यालयको माग सम्बोधन गरेर पत्राचार गर्ने गरेको थियो । नेपाल सरकारले चिनियाँ स्वयम्सेवकलाई गैह् पर्यटकीय भिषा उपलब्ध गराउँदै आएको थियो । कोरोना पश्चात हाल सबै ठप्प रहेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
