एमाले सरकारबाट बाहिरियो

धरान । वर्तमान सत्ता घटकको मुख्य दल नेकपा एमालेले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरुले एक साथ प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् । एमालेका तर्फबाट मन्त्री मण्डलमा सहभागी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौड्याल,  परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कृषि मन्त्री ज्वालाकुमारी साह, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेति, भूमिसुधार मन्त्री राजेन्द्रकुमार  राई, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएर बाहिरिएका छन् ।


यस भन्दा अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मन्त्री मण्डलमा सहभागी भएकाहरु पार्टी अध्यक्ष समेत रहेका उपप्रधान तथा ऊर्जा जलस्रोत मन्त्री राजेन्द्र लिंगदेन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान, दिपक सिंहले सरकारलाई दिएको समर्थन फिर्ता गरेर बाहिरिएका  थिए । नागरिकता काण्डमा सर्वोच्च अदालतको फैसलापश्चात राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्रीसँगै उक्त पार्टीबाट मन्त्रिमण्डलमा सहभागीहरु बाहिरिएका थिए । यद्यपि उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता भने लिएको छैन । राजनैतिक विश्लेषकहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त निर्णयलाई च्याँखे थापेको अर्थमा प्रष्ट्याएका छन् । सरकारलाई समर्थन गरेको सबैभन्दा ठूलो दल एमाले बाहिरिएपछि राजनीतिले नयाँ मोड लिएको छ । अब काँग्रेस सहितको गठबन्धनको गृहकार्य शुरु भएको छ । एमालेले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री पुष्पकमल दाहालले एक महिनाभित्रमा संसदमा पुन ः विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादी र काँग्रेसमात्रको वहुमत नपुग्ने भएपछि संसदका साना दलहरु, स्वतन्त्रहरुलाई मनाउने कामले तिब्रता पाएको छ ।

तपाईको प्रतिक्रिया