प्रजातन्त्र दिवसको अवसरमा जनपथ हेल्थ पार्कको उद्घाटन

धरान । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा धरान उपमहानगरपालिका वडा नं. १६ ले जनपथ हेल्थपार्क विधिवत रुपमा सञ्चालनमा ल्याएको छ । जनपथ मार्गको ऐतिहासिक महत्वलाई उजार गर्ने हेतुले हेल्थपार्कको नामाकरण ‘जनपथ हेल्थ पार्क’ राखिएको हो । धरान उपमहानगरपालिका वडा नं. १६ को १०लाख लगानीमा स्काइसपबाट १२ वटा हेल्थसम्बन्धी मेशिनहरु खरिद गरिएको थियो । हेभिङ्ग, थेरापी लगायतका व्यायामहरु गर्न सकिने १२ वटा मेशिनका १८ वटा सिस्टम रहेका छन् ।


जनपथ हेल्थ पार्कको विधिवत उद्घाटन गर्र्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले भन्नुभयो धरान उपमहानगर पालिका वडा नं १६ ले हेल्थपार्क सञ्चालनमा ल्याएर सह्रानीय कार्य गरेको छ । हेल्थपार्कका सम्बन्धमा आफूले चौतर्फी सकारात्मक प्रतिक्रिया पाएका सुनाउँदै प्रमुख राईले यस प्रकारको सकारात्मक कार्यलाई धरानका अन्य वडामा समेत विस्तार गर्दै लैजान आग्रह गर्नुभयो । स्वास्थ्यका दृष्टिले हेल्थपार्क आफैमा  राम्रो भएको र धरानेहरु स्वस्थ भएमा हरेक काम गर्न संयुक्त रुपमा अग्रसर हुन सकिने प्रमुख राईको प्रस्टोक्ति थियो । स्वास्थ्यलाई केन्द्रमा राखेर गरिने हरेक कार्यमा आगामी दिनमा आफ्नो तर्फबाट पूर्ण सहयोग हुने पनि उहाँले बताउनुभयो । धरान वडा नं. १६ को स्टेडियम बाहिर निर्माण गरिएको हेल्थ पार्कमा मर्निङ्गवाकमा हिड्नेहरुले निर्धक्क प्रयोग गर्न पाएकोमा सबैले खुशी व्यक्त गरेका छन् । खुल्ला हेल्थपार्क भएकै कारणले प्रयोगमा सबैको रुचि बढेको वडा नं. १६ का वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले बताउनुभयो । नागरिकको स्वास्थ्यमा सुधार होस् भन्ने हेतुले नै जनपथ हेल्थपार्कको स्थापना भएको र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको समेत उहाँले सुनाउनुभयो । हेल्थपार्कमा उपकरणमात्र जोडिएको र फाउन्डेशन र छानाको काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । उद्घाटन कार्यक्रमको सञ्चालन धरान १६ की महिला सदस्य सुशिला श्रेष्ठले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया