व्यवसायिक फुटबलको विकासको लागि तीन दशक भन्दा लामो समयदेखि संघर्ष गर्दै आउनु भएका किशोर राई फुटबल क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रमा समान्य जानकारहरुका लागि नौलो नाम होइन । फुटबल खेलेर पनि खेलाडी बाँच्न सक्छन् र त्यो वातावरण राज्यले बनाउनुपर्छ भन्ने मान्यता राख्नुहुने राई धरान फुटबल क्लबको संस्थापक अध्यक्ष हुनुहुन्छ । वि.सं. २०५५ सालमा धरानमा फुटबलप्रेमी सहयोगीहरुको साथ लिएर गठन गर्नुभएको धरान फुटबल क्लबले आगामी फाुगन १३ देखि अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको आयोजना गर्ने भएको छ । विगतमा कोभिड र मुलुकमा विकसित अन्य राजनैतिक घटना क्रमका कारण दुई बर्ष अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप आयोजना हुन नसक्दा धरानका फुटबल दर्शक र धराने खेलाडीहरुमा चरम नैराश्यता छाएको थियो । तर यसपटक क्लबले खेलाडी र दर्शकहरुमा नयाँ ऊर्जाको सञ्चार गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ केन्द्रीय उपाध्यक्ष, प्रदेश नं. १ फुटबल संघका अध्यक्ष, एन्फा एकाडेमीका अध्यक्ष समेत रहनु भएका राईले धरानेलाई एकताका फुटबलको ब्राजिलको नामले समेत चिनाउनु भएको थियो । यसपटक हामीले २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डसँग केन्द्रीत रहेर राइसँग संक्षेपमा वार्ता गरेका छौं । प्रस्तुत छन् राईसँग गरिएका वार्ताका सारसंक्षेप :
आगामी फागुन १३ देखि २० गतेसम्म २३ औं बुढासुब्बा गोल्डको आयोजना गर्दै हुनुहुन्छ, बीचमा दुई बर्ष ब्रेक भयो । हाल यसको तयारी कसरी गर्दै हुनुहुन्छ ?
–हाम्रो पुरानै संरचना छ । हाम्रो स्थायी स्रोत नभए पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाले दिने रकम भयो, प्रदेश सरकार, खेलकुद विकास समिति अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्, धरानका उद्योगी, व्यवसायी, फुटबललाई मायाँ गर्ने दाताहरुको सहयोगबाटै गोल्डकपको आयोजना हुन गइरहेको छ । बीचमा कोभिड महामारीका कारण मानिस आफैको जनजीवन अवरुद्ध भएको बेला आयोजना गर्न सक्ने कुरा भएन । दुई बर्ष पछि फेरि गराउँदै छौं । पहिला पनि हामीलाई नोक्सानी भएको छ । कोभिडका कारण आउनुपर्ने पैसा पनि प्राप्त गर्न सकिएन । त्यसैले यसपटक पनि हामीलाई चुनौति छ । तथापि यसपटक सबैभन्दा राम्रो गोल्डकप गराउने प्रयासमा छौं । हाम्रो आम्दानीको स्रोत स्थायित्व नभएका कारण यसपटकको गोल्कप मुनाफामुखी, धरानबासीकै गोल्डकप होस् भन्ने उद्देश्यले सबै पक्षसँग समन्वय गरिरहेका छौ। लगभग सबै पक्षलाई समेटेर आयोजनाका लागि अगाडि बढेका छौं ।
फुटबलको क्षेत्रमा तपाई एउटा चिरपरिचित नाम हो । तपाईले यस भन्दा अगाडि २१ पटक गोल्डकपको आयोजना गरिसक्नु भएको छ । तर कहिल्यै किशोर राईले मुनाफा भयो भन्नु भएन भन्ने आरोप तपाईमाथि लाग्ने गरेको छ । यसमा तपाई के भन्नुहुन्छ ?
–त्यो होइन । व्यक्तिगत रुपमा आरोप लगाउनु स्वभाविक होला । तर धरान फुटबल क्लब २०५५ सालमा मैले जन्माएको हुँ । यसको परिकल्पनाकर्ता, संस्थापक अध्यक्ष पनि मै हुँ । अहिले २३ औं सम्म पुग्नका लागि, यति लामो यात्रामा नोक्सानी नै मात्र भएको भए यहाँ सम्म आइपुग्ने थिएनौं । देशमा न राजनीति स्थिरता छ, न इकोनोमिक स्थिरता छ । त्यसैले गर्दा पनि हाम्रो विभिन्न चरणको संस्करहरुमा घाटा नाफा हुँदैहुँदै यहाँसम्म आएको छ । धरान फुटबल क्लबले धरानमा संस्थागत रुपमा अफिस खोलेर, कर्मचारी राखेर धरानमा भ्याट्रोनहरुलाई, धरानमा महिला खेलाडीहरु सबैलाई समेटेर, यहाँका क्लबहरुलाई हरेक कार्यक्रममा सहयोग पु¥याएर निरन्तर अगाडि बढिरहको छ । आज मोरङ्ग, झापा जानुहोस्, विराटनगरमा गोल्डकप नभएको कति बर्ष भयो ? झापाले १८ बर्षपछि गोल्डकप गराउँदै छ । जबकी झापामा त्यत्रा त्यत्रा उद्योगी, व्यवसायी, बजार हुँदाहुँदै पनि नियमित गर्न सकेका छैनन् । तर धरान फुटबल क्लबले हामी जस्ता फुटबलर भएकोले नियमित रुपमा अगाडि बढाएको छ । काभिडका बेला मानिसको जीवन रहला कि नरहला भन्ने अवस्थामा कसरी गराउन सकिन्थ्यो ?
२३ औं गोल्डकपको आयोजनाको तयारीमा लाग्दा तपाई कत्तिको उत्साहित हुनुहुन्छ ?
–मैले फुटबलका सम्बन्धमा धरानबासीलाई भन्नुपर्छ जस्तो लाग्दैन । हिजो यस्ता क्लबहरु धरानमा धेरै थिए । धरानमा सैयौ क्लबहरु छन् । यो क्लब प्रशासन कार्यालयमा दर्ता भएको क्लब हो । अरु क्लबले आफ्ना गतिविधि अगाडि बढाइरहेका छन् भन्ने कुरा मिडियामा आइरहेको छ । तर धरान फुटबल क्लबचाहि किन यतिको चासोको विषय बन्यो भन्ने हामी जस्तो मान्छे जो राजनीति, सामाजिक हिसाबले आफ्नो ठाउँमा बलियो भएको नाताले अहिले फुटबलमा त्यसको बल, त्यसको तागतले २३ औं संस्करण गर्ने भनेर हामी लागि परेका छौं । त्यसो भएर पनि आरोप लगाउने साथीहरुलाई बारम्बार भन्ने गरेको छु आउनुहोस धरान फुटबल क्लबमा । तपाईले के बुझ्नु भएको छ ? के लिनु छ ? आउनुस् । धरान फुटबल क्लबले दुई बर्ष बुढासुब्बा गोल्डकप किन गराएन, किन घाटामात्र हुन्छ भन्ने कुरा नेपालमा भएका अन्य टुर्नामेन्ट हेर्दा हुन्छ । सबै घाटामुखी भएका छन् । हामी राज्य भन्छौ तर राज्यबाट के दिएको छ ? धरान फुटबल क्लबले २३ औं संस्करणका लागि ८० लाख बजेट बनाएको छ । तर हामीलाई नगरपालिकाले १२, टुबार्गले लास्ट एभिमेन्ट ११ लाख छ । अरु हामीले उठाउनुपर्छ ।
८० लाखको बजेट बनाउनु भएको छ, झण्डै ६०लाख अपुग देखिन्छ । यो कहाँबाट जुटाउनुहुन्छ ?
–हो । कुरा यही हो । हामी फुटबलका लागि भीख मागिरहेका छौं । व्यक्ति व्यक्तिसँग पुरस्कार प्रयोजन गर्न आग्रह गरिरहेका छौं । युकेमा बस्ने साथीहरुसँग मागेका छौं । आफन्तसँग मागेका छौं । विराटनगर, इटहरी गएर माग्छौं । सबैसँग मागिरहेका छौं । नेपाल सरकारले पैसा दिएर खेलाउन लागेको होइन । हामी फुटबलर साथीहरु मिलेर दुःखले गरिरहेका छौं । आयआर्जन हेर्ने हो भने यो क्लब बन्द गरिदिए हुन्छ । क्लब बन्द गरेर बसे हुन्छ । तर हामी घाटा खाएर गर्नुपर्छ भनिरहेका छौं भने हामी त्यही क्षेत्रबाट आएका मान्छे हौं । आफूले जन्माएको चिज, आफूले बनाएको चिज यसको माया ममता भएर यसलाई हामी निरन्तर यसलाई बचाउनुपर्छ भनेर लागिरहेका छौ । अहिले हामीलाई २७ लाख ५० हजार ऋण छ । हामीले क्लबहरुको पुरस्कार तिर्नुपर्ने छ, व्यक्तिहरुको बिना ब्याजको लन तिर्नुपर्ने छ । कि त हामीले बन्द गर्नुपर्ने थियो तर त्यो गर्न सकिएन । तीन बर्ष अगाडि नै मैले साथीहरुलाई जिम्मा लिन आग्रह गरेको थिएँ । तर कसैले जिम्मा लिन सक्ने अवस्था थिएन । घाटा छ, फुटबल चल्ने स्थिति छैन । हिजो एउटा बुढासुब्बा गोल्डकप थियो । अहिले टोलकप पनि गोल्डकप भइरहेको छ । जहाँ जहाँ फुटबल हुन्छ दर्शक त्यही इटहरी, भरौल, त्यही धनकुटामा, त्यही बराह नगरपालिका गोल्डकप भइरहेको छ । विराटनगरका दर्शक धरान किन आउँछन् ? विराटनगरमा त अहिले ठूलठूलो फोरलाइट रात्रीकालीन फुटबल हुन्छ । त्यहाँका उद्योगी व्यवसायीहरुले १० औं, २० औं लाख लगानी गरेका छन् । धरानमा सुनसरी उद्योग वाणिज्य सघसँग कुराकानी गर्दा उहाँहरु भन्नुहुन्छ हामीसाग एक लाख दिन सक्ने अवस्था छैन भन्नुुहुन्छ । यस भन्दा अगाडि ५० हजार दिनु भएको थियो । अहिले मानिसको रोजगारीदेखि लिएर व्यापारको मन्दीले पनि दिन गाह«ो मानिरहनु भएको छ । हामीलाई आर्थिक रेन्ज अर्थात खर्चको रेसियो माथि छ, पुरस्कारको व्यवस्थापन माथि छ, टिमलाई दिने खर्च माथि छ तर बजारबाट कलेक्सन गर्ने कुराहरु न्यून छ । प्रदेश सरकारले यस भन्दा अगाडि १० लाख छुट्याएको पैसा अर्कोलाई बाँडिदियो । हामीले यसको पर्दाफास गरेका थियौं ।
अहिले प्रदेश सरकारले बुढासुब्बा गोल्डकपका लागि बजेट छुट्याएको छ कि छैन ?
–छ । हामी गएर निवेदन दियौं । सदस्य सचिवलाई भेट्यौं । अध्यक्षलाई र सम्पूर्ण कार्यसमतिलाई भेटेर वार्ता गर्दा यसपटक बजेट छुट्याएको छ । हामीले निरन्तर खबरदारी गरिहेका छौं । किनकि फेरि अर्को सरकार आएको छ । बजेट काटिदिने हो कि भनेर हामी त्यसो गरिरहेका छौ । यसैगरी राष्ट्रिय खेलकुद परिषदबाट ८ लाख छुट्याएको छ, बिल भौचर दिएर पनि दुइ बर्ष अगाडि अनिश्चितकालका लागि सबै कार्यालय बन्द भयो । भदौमा माग्न जाँदा फ्रिज भयो पाउनुहुन्न भनियो । त्यो हिजोको ८ लाख पनि पाएनौ र अब पनि पाउने स्थिति छैन ।
यस पटक पनि राष्ट्रिय खेलकुद परिषद्ले बजेट छुट्याएको छैन ? तपाईहरुलाई बाइपास गरेकै हो ?
–बाइपास गरेकै छ ।
के कारणले होला ? तपाईहरुले नियमित गोल्डकप खेलाइरहनु भएको छ । नियमित आयोजना भएको खेललाई बजेटको व्यवस्था गर्नुपर्ने हैन ?
–हो । दिनुपर्ने हो । हामी फलो गरिरहेका छौं । तर अहिलेसम्म प्राप्त हुने नहुने कुनै किसिमको सूचना छैन, रेस्पोन्स छैन ।
सरकारी निकायबाट नियमित बजेट आजसम्म कसले दिइरहेको छ ?
–हाम्रो नियमित बजेट स्थानीय
सरकार धरान उपमहानगरपालिकाबाट मात्र पाएका छौं । केन्द्र सरकारलाई चासो नै छैन । राष्ट्रिय खेलकुद परिषदले दिन्छ कि भनेर पहल गरिरहेका छौं । सुनसरीका छिमेकी नगरपालिामा पनि हामीले प्रस्ताव राखेका छौं । तर पनि उहाँहरु त्यति कन्भिन्स हुनुहुन्न । खेलकुदमा पैसा छैन भन्नुहुन्छ । उहाँहरुले आफ्नै समस्या देखाइरहनु भएको छ । अब आउने दिनमा विशेष गरेर जनप्रतिनिधि नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षहरुले सहयोग गरिरहनु भएको छ । आगामी दिनमा त्यसैलाई स्थायित्व दिनुपर्छ भन्ने सोच बनाएका छौं । धरान नगरपालिकाले गोल्डकपलाई बचाउन कति पैसा पुग्दैन त्यो हेरिदिनुपर्छ । अझ बुढासुब्बा गोल्डकप भनेर पालिकाले संयोजन नै गरिदिनुपर्छ भनेर हामीले आग्रह गरेका छौं । क्लब आयोजक भए पनि नगरपालिका संयोजक बसिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विराट गोल्डकपको संयोजक भएर बस्नु भएको छ । हामीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आग्रह गर्दा बस्ने संकेत गर्नुभएन । तर आगामी दिनमा आशा गरेका छौं ।
२३ आंै संस्करणमा आइपुग्दा पनि परम्परागत रुपमै गोल्डकप गराई रहेको छ धरान फुटबल क्लबले भन्ने आरोप पनि लाग्दै आएको छ । अब यस पटक २३ औं संस्करणमा नयाँ के दिँदै हुनुहुन्छ ?
–अब के दिन सकिन्छ ? गोल्डकपलाई निरन्तरता दिनु नै ठूलो कुरा हो ।
बाहिरका खेलाडी आउने क्रम घटेको थियो नि ?
–त्यो त घट्छ । हामी अलिकति व्यवहारिक पनि हुनुप¥यो । बुढासुब्बा गोल्डकप हिजोको जस्तो हाइलेबलमा जान सक्दैन । किनकी तीन बर्षमा डबल खर्च बढेको छ । महंगी बढेको छ । हिजो हामी १५० रुपैयामा मासुभात खुवाएर, सुताएर पठाउन सक्थ्यौं अहिले १५०० दिँदा पनि होटलले मान्दैन । हिजो वा पहिलो खेलमा ७५ हजार पुरस्कार थियो, अहिले १० लाख पुगेको छ । हिजो हामीलाई बजारमा १ हजार सहयोग गर्नेहरु अहिले पनि त्यही छ । रेसियो बढेको छैन । हामीले भन्यौ भने हामीले सहयोग गरिरहेका छौैं, व्यापार छैन, हामी नै अप्ठेरोमा छौ भन्नुुहु्न्छ । उद्योग वाणिज्य संघसँग पटक पटक बैठकमा बसेका छौं । उहाँहरु पनि व्यापार उत्सव मनाइरहनु भएको छ । अर्कोतर्फ धरानको जनसंख्या कम भएको छ । बजार सानो भयो । पोखरा, विराटनगरसँग हामी दाँजो गर्न सक्दैनौं ।
त्यसो भए अहिलेलाई हामी यो संस्करणलाई निरन्तता दिने सोचमा मात्र छौं ?
–हो, हाम्रो कार्यक्रमलाई सुन्दरता दिन्छौं, वन्डरफूल गर्छौ । काठमाण्डौका दुई तीन वटा टिम हुन्छन्, विदेशमा दुई तीन वटा टिम हुन्छन् । हाम्रो उद्देश्य नोक्सानी भएको प्रतियोगितालाई मुनाफामा लैजाने हो । यसलाई सस्टेन गर्ने मात्र हो । नोक्सानी भएकोलाई पूर्ण गर्ने हो ।
यसपटक कति टिम सहभागी हुन्छन् ?
८ वटा टिम रहन्छ ।
कहाँ कहाँबाट आउँछन् ?
–काठमाण्डौ, लोकल टिम पोखराको सहारा हुन्छ । बुढासुब्बा प्रतियोगितामात्र धरान फुटबल क्लबले आयोजना गर्दैनौं । सहाराले हामीलाई खेल्न दिनुहुन्छ । अर्कोतर्फ एकाडेमिक, विभिन्न फुटबल संघहरुलाई आर्थिक, भौतिक, खेल सामाग्री वितरण गर्छौ । नेपाल सरकारको निकाय नभए पनि यहाँ धरान फुटबल क्लबले अरु सबै क्लबलाई अभिभावकत्व गरिरहेका छौं । बुढासुब्बा गोल्डकपकै कारणले अरु कार्याक्रमलाई धेरै माथि उठाउन सकिरहेका छैनौं । हामी नोक्सानीमा परेपछि त्यसको असर अरुलाई पनि पर्दोरहेछ । यसपटक १०–१५ लाख मात्र बचाउन सकेमा धेरै काम गर्न सक्छौ । धरान फुटबलले आफूलाई राष्ट्रिय थिटमा उतार्न सक्ने, क्लबहरुलाई खेलको आयोजना गर्न सहयोग गर्ने लगायतका यसको उद्देश्य हो । क्लबलाई माथि उठाउन गोल्डकप आयोजना गरेका हौं । हाम्रो स्थायी स्रोत छैन । न नगरपालिकाले त्यस्ता कुनै स्रोत दिएको छ ।
यसको निजी स्रोत के हो ? खाली दाताहरुसँग उथठाएर मात्र चलेको हो ?
–हो । १५–१६ बर्ष अगाडि धरानको शौचालय धरान फलुटबल क्लबलाई दिनुस्, त्यहीबाट हामी फन्डिङ्ग गर्छौ भन्यौ, तर दिइएन । दिएको भए नगरपालिकाले हरेक बर्ष फन्डिङ्ग गर्नुपर्ने थिएन । आय आर्जनका लागि फुटसल पनि चलाउनु खोजेका थियांै । तर त्यो महँगो पर्ने रहेछ । दुई तीन करोड बजेट लाग्ने रहेछ । हामीले सकेनौं । क्लबमा आय आर्जन गरेर बलियो भएको पोखराको सहारा क्लबमात्र हो । हामीले नै गोल्डकप गर्न सिकाएको हो । हामीलाई आज उहाँहरु गुरु मान्नुहुन्छ । हाम्रो र पोखरामा फरक के छ भने हामी करोड छौ भने उनीहरु अरब छन् । साना साना २ वाई ३ को पोष्ट राख्दा पनि २५–३० हजार दिने, सबैतिर तिरेर पनि टिकट काटेर हेरिदिन्छन् । बसपार्कको शौचालय नगरपालिकाले उनीहरुलाई आम्दानीको लागि दिएको छ । त्यसले सहराको आकर्षण बढेको छ । पैसा भएपछि त्यसै आकर्षण बढ्छ ।
अरु केही ?
–यो २३ औं संस्करणबाट मुनाफा गरेर हामीले तिुर्नपर्ने ठाउँमा जिम्मेवार र परिपक्व ढंगले दिने र नयाँ साथीहरुलाई नयाँ कार्यसमितिलाई जिम्मा दिने सोचमा छु । म धेरै बसें । एन्फामा पनि बसेर काम धेरै गर्नुपर्ने छ । फुबटल गर्न के के गर्नुपर्छ त्यो हामीलाई थाहा छ तर आर्थिक सहयोग गरिदिनुस् । यसपटक इ–टिकेटिङ्ग सिस्टम गरेका छौं । लण्डन (युके) बाट गोर्खा ब्रिगेड व्याण्ड भन्ने टोली आउँदैछ त्यसले आफ्नो प्रस्तुति दिने छ । गोल्डकपलाई सहयोग गर्न टिकट काटेर खेल हेरिदिन अनुरोध छ । हङकङ, युकेमा पनि बुढासुब्बा गोल्डकप हुन्छ । धरानमाचाहिँ वृहत रुपमा जाने मात्र हो ।




