धरान । आफ्नो पदावधि सिद्धिएपछि पूर्व मन्त्री, पूर्व राज्यमन्त्री, पूर्व सभामुख, पूर्व उपसभामुखहरु घर फर्कनु परेपछि राज्यले पदमा रहुन्ज्यालका लागि उपलब्ध गराएको भौतिक सामानहरु रातारात पोका पारेर भाग्न थालेका छन् । एक आद्य अपवाद बाहेक यतिबेला प्रतिनिधिसभातर्फका मन्त्री, राज्यमन्त्री, सभामुख, उपसभामुखहरुले त्यस्तो नियति देखाएका हुन् ।

सुदुर पश्चिम प्रदेशकी निवर्तमान उप सभामुख निर्मला बराल जोशीले आइतबार राज्यले उपलब्ध गराइएका भौतिक सामान सबै लिएर हिडेकी छन् । उप सभामुख जोशीले आफ्नो क्वार्टरमा रहेको सोफासेट दुई थान, टिभी, एसी, फिल्टर, स्टेण्ड पंखा, ग्याँस चुल्हो, स्टिल ¥याक, मिक्चर, पलंग, ल्यापटप, झ्याल ढोकाका पर्दा, सिरक, डस्ना, मोवाइल सबै पोको पारेर हिडेकी छन् । यस भन्दा अगाडि जनता समाजवादी पार्टीबाट मन्त्री भएका एक केन्द्रीय मन्त्रीले क्वाटरमा भएका सबै सामान लिएर हिडेका थिए । पछि चौतर्फी आलोचना भएपछि उनले आफूले लगेका सामानहरु फिर्ता गरेका थिए ।
सुदुर पश्चिममा मात्र नभएर प्रदेश नं. १ का सत्ता गठबन्धनका केही मन्तरीहरुले पनि राज्यले उपलब्ध गराइएका भौतिक सामाग्री लिएर हिडेको बताइएको छ । मन्त्री भएका तर पार्टीले टिकट नदिएका, टिकट पाएर पनि जित्न नसकेका मन्त्रीहरुले त्यसरी रातारात सामान लगेको प्रदेश १ मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । कुन कुन मन्त्रीहरुले त्यसरी सामान लगेको भन्ने जिज्ञासामा स्रोतले भन्यो अहिले सामानको रुजु गर्ने काम भइरहेकोले कस्ले के के लगे भन्ने थाहा नभएको र चाँडै नै सार्वजनिक हुने नै छ । उता मधेश प्रदेशमा पनि केही मन्त्रीहरुले सरकारी क्वार्टरका सामान मात्र लगेका छैनन् राज्यले कार्यकालका लागि प्रयोग गर्न दिएको गाडी नै लिएर हिडेका छन् । गाडी फिर्ताका लागि ताकेता शुरु गरिएको स्रोतले जनाएको छ । क्वार्टरमा रहेका अन्य भौतिक समानको त अहिलेसम्म लेखाजोखा नै छैन ।
