धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) को पछिल्लो अभिव्यक्तिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घोर आपत्ति जनाउदै प्रमुख राईको राजीनामा माग गरेको छ ।

शनिवार नगर प्रमुख साम्पाङले इन्जिनियरहरुले योजना बनाउने हैन, नीति नियम बनाउने हैन उनीहरुले घर बनाउने, पुल पुलेसा बनाउने हो भन्ने अभिव्यक्ति दिएपछि इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्ने इन्जिनियर शंकायतर्फका विद्यार्थीहरुले प्रमुख राईको राजीनामा माग गरेका हुन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष आभाष अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, हालै सामािजक सञ्जालमा अत्याधिक दम्भ र आफूबाहेक अरु कोही पनि सक्षम नरहेझै शैलीमा जुन किसिमले इन्जिनियरको क्षमता र यस पेसामा आवद्ध र अ्रध्ययनमा ऊर्जाका साथ समर्पित, सम्पूर्ण इन्जिनियरिङ पेशाप्रति धरानका हालका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (पूर्वाञ्चल क्याम्पस) घोर विरोध प्रकट गर्दछ ।
विज्ञप्तीमा भनिएको छ विश्व धु्रवका अनेकौ राष्ट्राध्यक्षदेखि देशको उच्च पदमा रहेर आफ्नो सैद्धान्तिक नीति निर्माण र नेतृत्व कुशलता प्रस्तुत गर्न सफल इन्जिनियर साथै उदाहरणका रुपमा भारतको सफल इन्जिनियरको नेतृत्व सहितको अरविन्द केजरीवालको राजनैतिक आगमनसँगै नयाँ दिल्लीले पाएको विकासलाई नजिकबाट हेर्दै गर्दा पनि यसरी इन्जिनियरमाथि प्रयोग गरेको तुच्छ शब्दले उहाँको विवेकशीलता, कुटनैतिक क्षमता र बोलीको परिपक्वतामाथि प्रश्न उठेको छ ।
यस्तो गैरजिम्मेवार नेतृत्व धरानले पाइरहँदा धरानको विकास भविष्य अन्धकारमा पुग्न लागेको कुरा सहजै स्वीकार्न सकिन्छ । आफू केही गर्न नसक्ने अरुको कामलाई विरोध गर्ने हाम्रा देशका अनेकौ भ्रष्टाचारले मौलाएका नेताबाट वाक्क भएर जनताले विश्वासका साथ एक स्वतन्त्र उमेद्वारका रुपमा उहाँलाई दिएको मतले सम्मान र जनताको आवश्यकताको निम्ति जनतमतको उचित कदर अनि सदुपयोग गरी हाम्रो सुन्दर धरानको विकासमा अघि बढ्न भ्याइनभ्याई हुनुपर्ने बेलामा सानो सोच राखेर आखिरी कुनचाहिँ नेताको संगतले होला उही हाम्रा पुराना भ्रष्टाचारी नेताको शैलीलाई पछ्याउदै हिड्नुले उहाँ अब अराजकताको बाटोतिर लम्कनु भएको कुरा प्रष्ट्याउँछ । यस कुराप्रति सम्पूर्ण धरानबासीलाई सचेत गराउँदै हालका नगरप्रमुख हर्क साम्पाङ राईले तुरुन्त पदबाट राजीनामा नदिए राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (पूर्वाञ्चल क्याम्पस) कडा भन्दा कडा आन्दोलनमा जाने चेतावनी विज्ञप्तीमा दिइएको छ ।
