मुलुकमा राजनीतिक दलको पतनको शुरुवात

आजभन्दा २३ बर्ष अगाडि मुलुकमा प्रजातन्त्र स्थापना भयो र त्यही जगमा टेकेर हिँंसात्मक द्वन्द्वबाट १६ बर्ष अगाडि मुलुकमा गणतन्त्र आयो । जुन उद्देश्यका लागि ती दुवै लक्ष्य प्राप्तिका लागि नेपाली जनता सडकमा आएका थिए आज तिनै जनता वर्तमान राजनीतिक व्यवस्था, राजनैतिक दलका नेताप्रति चरम घृणा गर्ने अवस्थामा पुगेका छन् ।
मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भयो तर नागरिकको अवस्थामा परिवर्तन भएन । व्यवस्था परिवर्तन अगाडि नागरिक जति खुशी थिए आज दुःखी र निराश छन् । उनीहरु दैनिक आधारभूत आवश्यकताको जोहो गर्न नसकेर चौतर्फी भौतारिएका छन् । छिमेकी मुलुक भारत लगायत लाखौ युवाहरु आफू र आफ्नो परिवार धान्नका लागि खाडी मुलुकमा रगत पसिना बनाउन विवश छन् । मुलुक व्यवस्था परिवर्तनसँगै युवा तथा कामदार निर्यात गर्ने देशको सूचिमा दर्ज भएको छ ।
एउटा निश्चित वर्गलाई गणतन्त्र फलिफाप भएको छ भने आम नागरिकका लागि अभिषाप भएको छ । पटक पटक अभाव, अपमान, कष्ट सहेर आशा बोकेर जनताले राजनीतिक दललाई सत्ताको बागडोर सुम्पदै आए । सत्तामा पुगेका राजनैतिक दलहरुले जनताका आशाा भरोसालाई कुण्ठित पार्दै गए । कहिले कँग्रेस, कहिले कम्युनिस्ट सत्तामा पुगे तर न मुलुक समृद्धिको दिशामा अगाडि बढ्यो न नागरिकको जीवन स्तरमा कुनै परिवर्तन आयो । जसका कारण अब आम जनता राजनैतिक दलको विकल्प खोज्न थालेका छन् । जनताले विकल्प खोज्नु भनेको राजनीतिक दलको पतनको शुरुवात नै हो । यसको पछिल्ला दृष्टान्तहरु स्थानीय निर्वाचनमा देशका प्रमुख स्थानहरुमा स्वतन्त्र उमेद्वारहरुप्रति नागरिकको मोह नै हो । देशका राजधानी जस्तो महत्वपूर्ण स्थान काठमाण्डौमा स्वतन्त्र उमेदवारले दलका उमेद्वारलाई भारी मतले पराजित गर्नु नै हो । यसैगरी धरान, जनकपुर, धनगढीमा स्वतन्त्र उमेद्वार निर्वाचित हुनुु, सत्ताको बागडोर सम्हालेका, पटक पटक सत्तामा पुगेका, ठूलो दलको अहंमता पालेकाहरुले आफनै पालिका, वडामासमेत पराजित हुनुले राजनीतिक दलको पतनको श्रृंखला शुरु भएको छ । यसलाइ कसैले अर्थात दलले अझ पनि कम आँक्ने प्रयास गरिरहेका छन् ।
निकट भविष्यमै मुलुकमा थप दुई निर्वाचन हुँदैछ । आम नागरिकले खारेजीको माग गरिरहेको औचित्यहीन, मुलुककालागि डरलाग्दो भार बनेको प्रदेशसभाको निर्वाचन र संघ अर्थात प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । दलहरुले निर्वाचनको तयारी गरिरहँदा स्वतन्त्र उमेद्वारहरुले अहिल्यैदेखि आफ्नो अभियान अगाडि बढाइसकेका छैनन् । उनीहरुले मुलुकका १६५ संसदीय निर्वाचन क्षेत्रमा उमेद्वारी दिने भएका छन् । नागरिकले स्वतन्त्र उमेद्वारलाई स्थानयि निर्वाचनमा दिएको मतबाट दलप्रति वितृष्णा गर्नेहरु हौसिएका छन । काठमाण्डौ महानगरपालिकामा बालेन्द्र साहले प्राप्त गरेको मत, धरानका हर्क साम्पाङले प्राप्त गरेको मत जनकपुरमा मनोज साहले प्राप्त गरेको मत, धनगढीमा गोपाल हमालले प्राप्त गरेको मत राजनैतिक दलविरुद्धको मत हो । स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वारहरुले निर्वाचनको उपयगिता गरेका थिए जसमा उनीहरुले प्राप्त गरेको मतले अब मुलुकमा राजनीतिक दलहरु संकटमा परेको देखाउँछ । मुलुकमा अब एउटा सकारात्मक परिवर्तनको खाँचो छ । अबको परिवर्तन बुलेटले होइन व्यालेटले तय गर्ने छ । जहा कसैले अंगभंग, मृत्युवरण गर्नु पर्दैन ।

तपाईको प्रतिक्रिया