द्विद्धेश जोड्ने संखुवासभा किमाथांका सडकको ट्रयाक खुल्न अब मात्र ७.५ किमी बाँकी आगामी दुई बर्षभित्रमा ट्«याक खोलिसक्ने आयोजनाका इन्जिनियर किरणकुमार श्रेष्ठको कथन

धरान । चीन र भारत जोड्ने द्विदेशिय सडक सञ्जालको रुपमा निर्माण हुँदै गरेको संखुवासभा किमाथांका जोगवनी ३९३ किमी लामो सडकको ट्रयाक खुल्न अब ७.५ किमी मात्र बाँकी रहेको छ ।
प्रदेश नं. १ को नेपाल भारत सीमा नाका जोगबनीबाट संखुवासभा जिल्लाको खाँदाबारीसम्मको २३१ किमी सडक पूर्ण रुपमा कालोपत्रे भइसकेको छ भने संखुवासभादेखि किमाथांका सम्मको १६२ किमी सडकमध्ये ७.५ किमी सडकको ट्रयाक आगामी दुई बर्षभित्रमा खोलिसक्ने लक्ष्य रहेको उत्तर दक्षिण कोशी सडक आयोजनाका इन्जिनियर किरणकुमार श्रेष्ठको कथन छ ।


आयोजनाका इन्जिनियर श्रेष्ठका अनुसार सदरमुकाम खाँदबारीलाई जिरो माइल मानिन्छ । जिरो माइलबाट बरुण खोलासम्मको ८० किमी सडकको ट्रयाक यस भन्दा अगाडि नै खुलिसकेकोले हाल उक्त सडकलाई धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ । यसैगरी बरुण खोलाबाट च्याम्ताङसम्मको ४८ किमी सडकको ट्रयाक समेत खुलिसकेको छ । इन्जिनियर श्रेष्ठका अनुसार संखुवासभाबाट बरुण दोभमानसम्मको सडक कालोपत्रेका लागि चार प्याकेजमा टेन्डर समेत भइसकेको छ । बरुण खोलादेखि अगाडिको ४८ किमी सडकको कालोपत्रेका लागि समेत दुई प्याकेजमा टेन्डर भइसकेको छ ।
संखुवासभा–किमाथांका सडकमा १० पुलमध्ये ८ वटा पुल बनिसकेका छन् । साना तथा केही ठूला खोलामा पुल बनेकाले ट्याक्टर लगायतका सवारी साधनहरु चल्न थालेको श्रेष्ठले बताउनुभयो । हाल सबैभन्दा ठूलो दुईवटा पुलको काम भइरहेको छ । बरुण खोला र एक्वा खोलामा पुल निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको छ । यो पुलको काम द गजुरमुखी मोदिदाना जेभिले गरिरहेको छ । बरुण खोलामा पुल निर्माण भइसकेपछि अगाडि ट्रयाक खुलेको ४८ किमीमा समेत सवारी साधन चल्न सक्छन्, इन्जिनियर श्रेष्ठले भन्नुभयो । तर च्याम्ताङ्ग र घोङगोप्पा बीचमा सडकको ट्रयाक खोल्ने काम यतिबेला तिब्र गतिमा भइसरहेको छ । तीन महिना अगाडि त्यहाँ १०.५ किमी सडकको ट्रयाक खोल्न बाँकी रहेको थियो । ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाको विकास निर्माण दलले च्याम्ताङ्ग–घोङगोप्पा सडकको पुन ः सर्भेक्षण गर्दा सडक छोट्याउन सफल भएको थियो । पहिलाको सर्भेक्षणको तुलनामा झण्डै दुई किमी सडक छोटिँदा सडकको ट्रयाक खोल्ने दुरी पनि घटेको हो ।
इन्जिनियर किरणकुमार श्रेष्ठका अनुसार च्याम्ताङ्ग र घोङ्गगोप्पाबीचको भाग अत्न्यन्तै कडा चट्टाने पहरा रहेको छ । सडक विभाग र ठकेदार मार्फत यो बीचको ट्रयाक खोल्न सम्भवै थिएन । यो सडकको ट्रयाक खोल्न सडक विभागले सिधै नेपाली सेनाको विकास निर्माण गणलाई रक्षा मन्त्रालयमार्फत टेन्डर स्वीकृत गरेको हो । हाल नेपाली सेनाको विकास निर्माण दलमा मेजरको नेतृत्वमा ब्लाष्टिङ गरेर सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।
उता संखुवासभाको उत्तरी सीमा गाउँपालिका भोटखोलाको किमाथांकाबाट नेपालतर्फ चुम्सुर सम्मको १४ किमी सडकको ट्रयाक पहिला नै खुलिसकेको छ । यहाँ स्मरणीय कुरा के छ भने किमाथांकादेखि खाँदबारी लेगुवा, पाख्रीबास हुँदै हिलेसम्मको सडक चीनको महत्वाकांक्षी परियोजना विआरआइ अन्तर्गत निर्माण हुँदै गरेको हो । हाल बरुण खोलामा पुल बनिरहेको छ । बर्षाको समयमा निर्माण सामाग्री, खाद्यान्न लैजान मुस्किल हुने हुँदा यतिबेला निर्माण सामाग्री र खाद्यान्न बरुण खोला पारि लैजाने काम भइरहेकोे इन्जिनियर श्रेष्ठ बताउनुहुन्छ । च्याम्ताङ्ग घोङ्गगोप्पा सडकको ट्रयाक खुलेपछि दुवै देश सडक सञ्जालमा जोडिने छन् । हाल उक्त सडकमा नेपाली मजदुर, प्राविधिक मात्र नभएर चिनियाँ मजदुर, प्राविधिक, चिनियाँ उपकरणहरुबाट काम भइरहेको छ । सडकमा नेपाली सिमेन्ट र फलामे डण्डीमात्र प्रयोग भएको छ भने बाँकी सबै बाहिरकै सामान हुन् ।

तपाईको प्रतिक्रिया