विराटनगर । नेपाली काँग्रेसका नेता तथा विराटनगर स्थित नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले मोरङका चार पालिकामा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्दै आउनु भएको छ ।

मोरङको बेलबारी नगरपालिका, सुन्दर हरैचा नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिकामा शर्माले हप्ताको ६ दिन विशेषज्ञ चिकित्सकहरुको टोली पठाई विगत लामो समयदेखि सर्वसाधारणलाई स्वास्थ्य सेवा पु¥याउदै आउनु भएको हो ।शर्मा २०७५ को संघीय निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग झिनो मतले पराजित हुनुभएको थियो । बेलबारी, सुन्दर हरैचा, पथरी शनिवश्चरे, कानेपोखरी शर्माको निर्वाचन क्षेत्र पनि हो । स्वास्थ्य परीक्षण र औषधिका लागि विरामीले कुनै प्रकारको शुल्क तिर्नु पर्दैन । स्वास्थ्य शिविरमा उपचार हुन नसकेका विरामीहरुलाई शर्माले नोबेल मेडिकल कलेजमै ल्याएर ती क्षेत्रका विरामीहरुको उपचार गर्ने गरेको कानेपोखरी केरौनाका दुर्गा फुयाँलले बताए ।
खासगरी गरिबीका कारण ठूला रोगको उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्था नहोस् भनेर निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरण गरेको शर्माको कथन छ । हरेक हप्ता नोबेलका विशेषज्ञ टोली एम्बुलेन्स लिएर गाउँमा पुग्ने गरेका छन् । स्वास्थ्य शिविरमै भिडियो एक्सरे, इसिजी लगायतका सेवाहरु उपलब्ध हुने गरेको बेलाबारीका मनोज कार्कीले बताए ।
