धरान । भारत सरकारको अनुदान सहयोगमा उदयपुर जिल्लाको गाइघाटस्थित त्रिजुगा नगरपालिकाको बोक्सेमा बाल मन्दिर माध्यामिक विद्यालय भवनको शिलान्यास भएको छ ।
विद्यालय भवनको निर्माणका लागि नेपाल सरकारका पराराष्ट्र मन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमति नामग्य सी खम्पाले चैत्र २२ गते सयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

सामुदायिक विकास परियोजनाका रुपमा नेपाल भारत विकास सहकार्य अन्तगत नेरु ३ करोड ११ लाखको लागतमा भारत सरकारको अनुदानमा उक्त विद्यालय भवन निर्माण हुन लागेको हो । बालमन्दिर माध्यामिक विद्यालय उदयपुरको एक पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि विद्यालयलाई नयाँ भवनमा सारिने छ । विद्यालयमा हाल ११ सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन । जसमा ७० प्रतिशत छात्राहरु रहेका छन् ।
नेपालका सातवटै प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा खानेपानी, कनेक्टीभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निर्माण जस्ता विविध क्षेत्रमा सन् २००३ यता भारतले ५२३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाइसकेको छ । जसमध्ये ४६७ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । त्यसमध्ये उदयपुर जिल्लामा ८ वटा सम्पन्न परियोजना रहेका छन् । निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका अन्य आठ वटा परियोिजनासहित ७१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु प्रदेश नं. १ मा रहेका छन् ।
भारत र नेपालबीच वहुपक्षीय एवम् वहुक्षेत्रीय विकास सहकार्य रहेको छ । जसले दुई देशका जनताबबीचको प्रगाढ सम्बन्धलाई प्रतिबिम्बित गरेको छ ।
