विराटनगर । कोरोना भाइरसको विश्वव्यापी कहरका कारण झण्डै २ बर्ष देखि सुस्ताएको साहित्यिक कार्यक्रमहरु फेरि पुरानै लयमा फर्कन थालेका छन् । पछिल्लो समय पूर्वाञ्चलका विभिन्न स्थानहरुमा दैनिकजसो हुने गरेका विभिन्न साहित्यिक गतिविधिले यही कुराको पुष्टि गरेको छ ।

भर्खरैमात्र विराटनगरमा प्रदेशस्तरीय वृहत वाङमय सङगोष्ठी सम्पन्न भएको छ । प्रदेश नं. १ का मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा तेह्रथुम संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका साहित्यिक स्रस्टाहरुको विराटनगरमा राम्रै जमघट भयो । अर्थात चैत्र १८ गते शुक्रबार प्रदेश नं. १ का १४ वटै जिल्लाका साहित्यिक श्रष्टाहरु विराटनरको कञ्चनजंघा पार्टी प्यालेसमा जम्मा भएका थिए । श्रष्टाहरुलाई एकै ठाउँमा भेला हुने अवसर भने नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्यिक संगमले जुराई दिएको थियो ।
प्रदेश नं. १ स्तरीय वृहत वाङमय सङगोष्ठी प्रदेश नं. १ सरकार र विराटनगर उपमहानगरपालिकाको आर्थिक सहयोगमा चैत्र १८ र १९ गते दुई दिनसम्म चलेको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतबहादुर उपाध्याय, विराट साहित्य संगमका अध्यक्ष कवयित्री मधु पोख्रेलले आगन्तुक श्रष्टाहलाई न्यानो स्वागत गर्नुभएको थियो । प्रदेशस्तरीय वृहत वाङमय सङगोष्टीको समुद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले गर्नुएको थियो । उद्घाटन सत्रपश्चात नेपालको इतिहासको परिप्रेक्ष्यमा प्रदेश नं. १ वैशिष्ट्य प्रा.डा. टेकबहादुर श्रेष्ठ, प्रदेश नं. १ मैथिल जीवन दर्शन शिवनारायण पण्डित ‘सिंगल’ ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने साँझमा गजल सन्ध्याको आयोजना गरिएको थियो ।
चैत्र १९ गते शनिवार गोष्ठी सत्र भएको थियो । जसमा चारवटा कार्यक्रम प्रस्तुत गरिएका थिए । प्रदेश नं. १ मा नेपाली समालोचनाको स्थिति दधिराज सुवेदी, कोशी पस्रवण क्षेत्रका साँँस्कृतिक सम्पदा प्रा.डा. सोमप्रसाद खतिवडा, किराँत जनजीवन र लोक साहित्य मधुराज केरुङ्ग र प्रदेश नं. १ मा बोलिने मातृ भाषाको अस्था डा. तारामणि राईले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा स्थानीय साँस्कृतिक झाकीहरुको प्रदर्शन गरिएको थियो ।
