धरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिका सचिव जितेन्द्र राईलाई पार्टीको प्रवक्ता तथा प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।
कांग्रेस उपमहानगर समितिको धरान १५ स्थित होटल धरान किचनमा सभापति श्याम पोख्रेलको सभापतित्वमा आज बसेको दोस्रो पूर्ण बैठकले विभिन्न विभागहरु गठन गर्नुका साथै पार्टीका सल्लाहकार र सदस्यहरु मनोनित गरेको हो ।

उपसभापतिद्धय नरेन्द्र कुमार राई (प्रविण)लाई संगठन विभाग संयोजकको जिम्मेवारी दिईएको छ भने सन्तोष लिम्बुलाई अव्यवस्थित बसोबास संरक्षण समन्वय समिति संयोजकको जिम्मेवारी दिईएको छ । यस्तै, अर्का सचिव हिमाल श्रेष्ठलाई भातृ संघसंस्था समन्वय समिति संयोजकको जिम्मेवारी दिईएको छ । सहसचिवद्धय शिला बज्राचार्यलाई महिला विभाग संयोजकको दिइएको छ भने यूनेश राणामगरलाई स्थानीय विकास समन्वय समिति संयोजकको जिम्मेवारी दिईएको कांग्रेस धरान उपमहानगर समितिले जनाएको छ । यस्तै, कोषाध्यक्ष पञ्चकला राईलाई आर्थिक विभाग संयोजकको जिम्मेवारी दिईएको छ । उक्त बैठकमा तत्कालिन नगरका कोषाध्यक्ष शुवर्ण श्रेष्ठले आर्थिक आय व्यय प्रस्तुत गर्दै हिसाब किताब कोषाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । यस्तै, संघसंस्था समन्वय समिति, स्वास्थ्य तथा विपद व्यवस्थापन समिति, सुवेच्छुक संघसंस्था समन्वय समिति, शिक्षागत संघसंस्था समन्वय समिति, बुद्धिजिवी समन्वय समिति, खेलकुद समन्वय समिति, शान्ति सुरक्षा समन्वय समिति, कला तथा सांस्कृतिक समन्वय समिति, धार्मिक संघसंस्था समन्वय समिति, वन तथा वातावरण समिति र अन्तरपार्टी समन्वय समितिको विभागीय संयोजकको जिम्मेवारी दिईएको कांग्रेस धरान उपमहानगर समितिले जनाएको छ ।
यस्तै, दोस्रो पूर्ण बैठकले सल्लाहकारहरु पनि मनोनित गरेको छ । हर्ष सुब्बा, गिरिराज आचार्य, भिष्म काफ्ले, आनन्द आचार्य, हेमलाल गुप्ता, भैरवमान श्रेष्ठ, गोविन्द दर्नाल, पदम लिम्बु, तिलक सुनुवार, महेशमान पालिखे, प्रा.डा. गोपाल भण्डारी, पूर्ण सुवेदी, हिरा उदास, प्रा. जिवन राई, प्रा. विशाल श्रेष्ठ, प्रा. गंगा चौलागाई, प्रा. बद्रि तामाङ, सागर बम्जन, प्रा. ईन्द्रमोहन झा, उर्मिला प्रधान, अरुण कट्वाल, सुरज श्रेष्ठ, हेमन्त लिम्बु, रुपम लामा, बासुदेव बराल, सरिता लिम्बु, पर्शुराम केसी, शंकरदास राई, सरस्वति ढकाल र निरकुमार राईलाई कांग्रेस धरान उपमहानगर समितिको सल्लाहकारमा मनोनित गरेको हो । यस्तै, कांग्रेसको विधान अनुसार ३३ जना नगर सदस्य मनोनित गरेको छ । मनोनित नगर सदस्य, सल्लाहकारहरुलाई सभापति श्याम पोख्रेलले खदा लगाएर मनोनयन पत्र हस्तान्तरण गरेका थिए । सभापति पोख्रेलले धरानमा कांग्रेसको लोकप्रियता बढ्दै गएको बताउँदै बुथ सभापतिहरुलाई क्रियाशिल भेला कार्यक्रम आयोजना गर्न पनि निर्देशन दिए ।
