धरान । आÏनो सुमधुर स्वरले भारतमा मात्र नभएर विश्व जगतमा दशकौसम्म एकछत्र राज गरेकी स्वर साम्राज्ञी लतामंगेशकरको निधन भएको छ ।
भारत रत्नबाट सम्मानित विख्यात गायिका मंगेशकरले महाराष्ट्रको मुम्बईस्थित ब्रिजकैन्डी अस्पतालमा आइतबार विहान अन्तिम सास लिनु भएको थियो । भारतकी नाइटिंगेलको उपनामले समेत चिनिनु हुने स्व. मंगेशकर ९२ बर्षको हुनुहुन्थ्यो । उहाँले पाँच दशकभन्दा बढी समय हिन्दी चलचित्रमा फिमेल पास्र्व गायिकाको रुपमा एकछत्र राज गर्नुभएको थियो ।
विश्व विख्यात गायिका मंगेशकरले मात्र १३ बर्षको उमेरमा आफ्नो केरियारको शुरुवात गर्नुभएको थियो । सन् १९४२ मा उहाँले आफ्नो क्यारियर गायनबाट शुरु गर्दा परिवारले उहाँलाई साथ भने दिएनन् । उहाँले भारतका कैयौ भाषा र अन्य देशका भाषामा समेत गरी ३० हजार भन्दा बढी गीत गाउनु भएको छ । मंगेशकरलाई भारत सरकारले देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट विभूषित गरेको छ । यसका अलावा उहाँलाई पद्मा विभुषण, दादासाहेब फाल्के पुरस्कार लगायत दर्जनौ विभूषणबाट सम्मानित गरिएको छ ।

पौष दोस्रो हप्ता । एक्कासी अस्वस्थ भएपछि उहाँलाई मुम्बइको एक अस्पतालमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा उहाँमा कोरोना भाइरस पोजेटिव पाइएको थियो । त्यस क्रममा उहाँमा निमोनिया देखियो । दिनप्रतिदिन उहाँको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो । तर नाटकीय ढंगले उहाँको स्वास्थ्यमा सुधार आएपछि उहाँलाई भेन्टिलेटर बाहिरै राखी उपचार हुँदै आएको थियो । माघ २२ गते शनिवार उहाँको स्वास्थ्य अचानक बिग्रिएपछि पुन ः उहाँलाई भेन्टिलेटरमा राखिए पनि आइतबार विहान उहाँको निधन भएको थियो ।
कोकिल स्वरकी धनी मंगेशकरको निधनले भारतमा मात्र नभएर विश्वभरिका दिग्गज व्यक्ति, सर्वसाधारणहरुले गहिरो शोक व्यक्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लता मंगेशकरसँगको कैयौ तस्विर ट्विट गर्दै लेख्नुभएको छ, अत्यन्तै दयालु र सबैप्रति आदरभाव राख्नुहुने लता दिदीले हामी सबैलाई छोडेर ब्रम्हलिन हुनुभयो । उहाँले यस्तो शून्यता छोडेर जानुभयो जुन कहिल्यै भरिन सक्दैन । त्यसैगरी केन्द्रीय मन्त्री नितिन गडकरीले लेख्नु भएको छ उहाँको निधनले देशलाई ठूलो क्षति भएको छ । उहाँ सबै संगीत साधकहरुकालागि प्रेरणाको स्रोत हुनुुहुन्थ्यो । लता दिदी प्रखर देश भक्त हुनुहुन्थ्यो । भारतीय संगीतमा उहाँको योगदान अतुलनीय छ । शिव सेनाका प्रवक्ता एवम् राज्यसभा सासद संजय राउतले आफ्नो ट्विटमा लेख्नु भएको छ तेरे विना भि क्या जिना………। भारतका सबै राजनैतिक दलका नेताहरुले मंगेशकरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
लता मंगेशकले गाएका लोकप्रिय गीतहरुमध्येको सबैभन्दा लोकप्रिय गीत हो ऐ मेरे वतन के लोगो जरा आँखोमे……। कवि प्रदिपले लेखेको यो राष्ट्रवादी गीत गाउन पहिला लता मंगेशकरले इन्कार गर्नुभएको थियो । त्यसको प्रमुख कारण उहाँले रिहर्सल गर्ने समय निकाल्न पाउनु भएको थिएन । तर कवि प्रदीपले उहाँलाई मनाएरै छोड्नु भयो । यो गीत पहिलो पटक १९६३ को गणतन्त्र दिवस समारोहमा बजाइएको थियो । यो गीत लतामंगेशकर आफ्नी बहिनी आशा भोसलेसँग गाउनु चाहनुहुन्थ्यो र गीत गाउन दिल्ली जान भोसलेले इन्कार गरेपछि मंगेशकर एक्लैले यो गीत गाउनु भएको थियो । आज यो गीत भारतमा सर्वाधिक राष्ट्रवादी गीतको रुपमा कालजयी रहेको छ ।
