धरान÷धरान २० खैरे खोलामा शंकास्पद रुपमा मृत भेटिएका धरान ११ का झगेन्द्र राईको परिवारलाई रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले घरमै पुगेर भेटघाट गर्नुभएको छ ।
कार्तिक २ गते सागुरीगढी गाउपालिकाबाट आफ्नो घर फर्कदै गर्दा धरान २० को खैरे खोलामा मृत अवस्थामा भेटिएका राईको मृत्यु शंकास्पद रुपमा भएको आफन्तले आरोप लगाइरहेको समयमा मन्त्री डा. रिजाल धरान ११ मा रहेको राईकै घरमा शुक्रबार पुगेर परिवारसँग वास्तविकता बुझ्नु भएको हो ।
तेह्रथुम जिल्लाको छथर गाउपालिका एक कार्यक्रममा सहभागी हुन पुग्नु भएका डा. रिजाल धरान आउने क्रममा मृतक राईको घर पुगी वास्तविकता बुझ्ने काम गर्नुभएको थियो ।

झगेन्द्र राईको खबर सुन्ने वितिकै शोकमा रहनु भएकी झगेन्द्रकी श्रीमति अनु राईको समेत असोज ३ गते मृत्यु भएपछि आमाबुबा गुमाएका छोराछोरीले मन्त्री समक्ष आफ्नो लालनपालन र शिक्षादिक्षाका लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।
मन्त्री घर पुग्ने वितिकै छोरी सन्ध्या राईले मन्त्री डा. रिजाललाई सहयोगका लागि पत्र नै दिनुभएको थियो । उहाले बाबुको मृत्युपछि आफ्नो साहारा कोही नभएकोले सहयोग गर्न मन्त्री डा. रिजाललाई निवेदनपत्र नै बुझाउनुभयो । बाबुआमाको मृत्युपछि भाइ र आफूमात्र रहेकोले आफ्नो भविष्य नै अन्यौलतामा छाएको पत्रका उल्लेख गरिएको छ । छोरी सन्ध्याले डा. मन्त्री समक्ष बाबुको मृत्यु र आमाको मृत्युको विषयमा विस्तृत जानकारी गराउनु भएको थियो ।
उहाले बाबाको मृत्यु शंकास्पद देखिएको बताउदै सत्यतथ्य पत्ता लगाए दोषी उपर कार्वाहीको माग समेत गर्नुभयो । उहामात्र हैन छिमेकी तथा आफन्तहरुले समेत राईको मृत्यु शंकास्पद भएको बताएका छन् । छिमेकी उमेश राईले मोटरसाइकलमा सवार राईको मोटरसाइकल घट्नास्थलभन्दा माथि हुनु, उहाले लगाएको चश्मा पनि खोला बाहिर हुनु तर उहाको शवचाहिँ खोलामा भेटिनुले बाढी र खोलाकै कारणले मात्र मृत्यु नभई यो मृत्यु शंकास्पद भएकोले तथ्यसत्य छानविन हुनुपर्ने माग राख्नुभयो ।
परिवार तथा आफन्तको कुरा सुनिसकेपछि रक्षामन्त्री डा. मिनेन्द्र रिजालले परिवारलाई सहयोग गर्ने आश्वासन दिनुभएको थियो । उहाले प्रहरी प्रशासनलाई समेत मृतुको कारण के हो छानविन गरेर तथ्यसत्य सार्वजनिक गर्न प्रहरीलाई निर्देशन दिनुभयो ।
उहाले परिवारलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री डा. रिजाल धरान ११ पीडितको घरमा पुग्दा एक बर्ष अगाडि बाढीबाट विस्थापित भएका धरान २० विष्णुपादुकामा रहेका ७ घर परिवारलाई भेट्न नगएकोप्रति सर्वसाधारण चकित बनेका छन् । गत बर्ष असोज महिनामा गएको पहिरोबाट विस्थापित भएका सात घर परिवार अहिले पनि टेन्टको बासमा रहेका छन् । स्थानीय, संघीय तथा प्रदेश सरकारले उनीहरुलाई धेरै आश्वासन बाडे तर अहिलेसम्म विस्थापितको दीर्घकालीन बसोबासको व्यवस्था तीनै सरकारले गर्न सकेका छैनन् ।
