नेताहरुको कथित भ्रमबाट अब सर्वसाधारण मुक्त हुनुपर्छ

नेपालीहरुको महान राष्ट्रिय पर्व यस बर्ष हामीमाझ विदा भएको छ । परम्परादेखि नेपाली समाजमा दशैलाई उच्च महत्वका साथ आ–आफ्नो गच्छे अनुसार मनाइने प्रचलन रहँदै आएको छ । शुभकामना आदान प्रदान, पुनर्मिलन, एक अर्काप्रतिको सद्भाव, स्नेह दशैका महत्वपूर्ण पक्ष हुन् ।
तर विगत केही बर्षदेखि नेपाली समाजले परम्परागत रुपमा मनाउँदै आएको दशैप्रति आफूलाई देशको जिम्मेबार नागरिक हुँ भन्ने तथा राजनैतिक वृत्तबाटै खल्बल्याउने दुस्प्रयास हुनु विडम्बना हो ।
यस मामलामा सबैभन्दा अग्रपंक्तिमा देखिएका छन् कुनै हेसियत नभएका र आम नेपाली नगारिकले घृणाका रुपमा हेरेका डा. बाबुराम भट्टराई, दशै बहिष्कारको नाममा राजनीति गर्ने समूह तथा अन्य भुरे टाकुरेहरु । दशैमा देशका अग्रज, बरिष्ठ व्यक्तिहरु, सरकारको नेतृत्व गर्नेहरु, सम्मानित व्यक्तित्वहरुले शुभकामना दिनु विगतदेखिकै परम्परा हो । यसै मेसोमा विगतका बर्षहरुमा झै यसपटक पनि नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले देशबासीका नामा जारी गरेको सन्देशले बाबुराम मार्काका पतनोमुख व्यक्तिहरुमा गम्भीर छटपटाहट भएको छ । आम नागरिकले राजा शाहको सन्देशलाई यथार्थ, समय अनुकूल, वास्तविकतामा आधारित भन्दै स्वागत गरेका छन् । तर बाबुराम प्रवृत्तिलाई त्यो हदसम्मको टाउको दुखाई किन ?
गणतन्त्र, लोकतन्त्रमा हरेक नागरिकले आफ्ना विचारहरु स्पष्टसँग राख्न पाउने मौलिक अधिकार रहन्छ । कसैको वाक स्वतन्त्रतामा बन्देज लगाउने प्रावधान रहँदैन । तर पूर्व राजा बोल्नासाथ बाबुराम मार्काको छट्टपट्टी शुरु हुन्छ । मुलुकको यथार्थ चित्रण गरेर पूर्व राजा शाहले आम नागरिकको बोली बोलेका छन् । हामी वास्तवमै चुकेका छौं, हामीले गणतन्त्रको नाममा लखनौ लुट मच्चाएका छौं, दण्डहीनता हाम्रै कारणले मौलाएको छ, शक्ति पृथकीकरणको सिद्धान्तलाई हामीले खिल्ली उडाएका छौं, हामीबाटै भ्रष्ट, माफिया, तस्करी, बलात्कारीहरुले संरक्षण पाएका छन्, निमुखा, निर्दोषहरुको आवाज दबाएका छौं भन्ने सोच र सुध्रिने मौकाको रुपमा राजा ज्ञानेन्द्र शाहको सन्देशबाट यिनीहरुले लिनु पर्ने हो । तर त्यो छनक यिनीहरुले दिन सकेका छैनन् र दिदैनन् पनि । बाबुराम प्रवृत्तिहरु मैमत्त भएका छन् । बोल्ने स्वतन्त्रता आफूमामात्र भएको भ्रम यिनीहरुमा छाएको छ ।
बाबुराम प्रवृत्ति वास्तवमै नागरिकहरुको पीडा भएको छ । कहिले धर्मको नाममा समाज भाँड्ने, कहिले अस्वस्थ आलोचना गरेर समाज भाँड्ने, कहिले के गर्ने त कहिले के गर्ने ? नागरिक भइसकेका पूर्व राजाले बोल्नै नमिल्ने प्रावधान संविधानमा कहाँ लेखिएको छ ? संविधान यिनीहरुले नै बनाएको होइन ? संविधान बनाउदै यो कुरा उल्लेख गरिदिएको भए हुन्थ्यो । सैयौ अपराधका मतियार बाबुराम भट्टराई प्रवृत्ति यही कारण पतन भइरहेको छ भने यही प्रवृत्तिक कारण वर्तमान व्यवस्थाप्रति आम नागरिकमा वितृष्णा पैदा भएको छ । हरेक नागरिकले एउटा हदसम्म बाबुराम प्रवृत्ति पचाउँछन् । हद पार गरेपछिको अवस्था कति दुर्दान्त र भयानक हुन्छ भन्ने कुरा इतिहासबाट पाठ सिक्दा राम्रो हुन्छ । अझ भन्नुपर्दा हेरक नागरिक सुतेको सिंह हुन जब उनीहरु जाग्छन् बाबुराम प्रवृत्तिको यस मुलुकमा टेक्ने स्थान सम्म हुँदैन । वर्तमान व्यवस्था १९ दिनमा आएको हो । नागरिक जागेको दिन १९ घण्टामा व्यवस्था परिवर्तन हुन्छ । त्यसबेला बाबुराम प्रवृत्तिको हालत हे हुन्छ ? त्यसैले आफ्ना अपराध लुकाउन अरुमाथि अनावश्यक खनिने चरित्र छोडेको राम्रो ।

तपाईको प्रतिक्रिया