उमेर जिन्दगीको अंक हो । एउटा क्यालेन्डर पल्टाएर सिद्धिदा मान्छेले एक अंक उमेर पाउँछ । शायद बर्षेनी थपिदै गएको अंकका कारण अहिले उहाँ केही अस्वस्थ हुनुहुन्छ । औषधिले धानेको शरीर सामान्य हिँडडुल मात्र आज उहाँको शारीरिक कर्म भएको छ ।
अर्थात धिरजबहादुर श्रेष्ठ । उमेरले उहाँलाई ८६ बर्षतिर डोहो¥याइरहेको छ । तर प्रजातन्त्रको पर्यायबाची नेपाली काँग्रेसप्रतिको निष्ठा, अस्था र विश्वासमा उहाँमा कुनै कमी आएको छैन । उहाँले जीवनमा कहिल्यै पदीय लोलुपता देखाउनु भएन र पाएको जिम्मेवारीबाट पनि कहिल्यै विमुख हुनु भएन । इमान्दारीताको कसीमा उहाँ सदैव खरो उत्रनुभयो ।
वि.सं. १९९३ सालमा विराटनगरमा जन्मनु भएका धरान–८ निवासी धिरज बहादर श्रेष्ठको बरगाछीस्थित घरमा शनिवार एक्कासी पुग्दा उहाँ परिवारका साथ भलाकुसारीमा मग्न हुनुहुन्थ्यो । शरीरको शिथिलताको क्लेससम्म पनि उहाँमा देखिदैन थियो । सेता पाइजामा, घ्यु रंगको कुर्ता र ढाकाको टोपी उहाँको नियमित पहिरन नै हो । शनिवार उहाँलाई भेट्दा पनि सोही पहिरनमा हुनुहुन्थ्यो । केही क्षणको भलाकुसारी पश्चात उहाँले यस पंक्तिकारलाई आफनो सयन कक्षमा लिएर जानुभयो र उहाँको शयन कक्षमा पुग्दा भित्ताभरि सजाएर राखिएका दर्जनौ सम्मानपत्र, स्वर्गीय पूर्व प्रधानन्त्रीसँग युवावयमै लिइएका ठूला फ्रेमिङभित्रका तस्विर, पूर्व उपप्रधानमन्त्री एवम् महिला नेतृ सुजता कोइरालासँग विभिन्न कालखण्डमा सँगै खिचिएका तस्विर, सम्मान गर्दै गरेका तस्विर, विभिन्न सामाजिक संघ संस्थाद्वारा गरिएका अभिनन्दनपत्रले कोठा पूरै ढाकेको थियो ।
यी यावत दृश्य देखेपछि पंक्तिकारको मनमा कौतुहलता जाग्नु स्वभाविक थियो । त्यसपछिको भलाकुसारीमा उहाँ अतिततिर फर्कनुभयो । विराटनगरमा पिताको जागिर थियो । त्यही दौरानमा म विराटनगरमा जन्मिएँ तर शिक्षा दिक्षाचाहिँ भारतको देहरदुनमा भयो । त्यसबेला एसएलसी पास गरेकाहरुको समाजमा ठूलो इज्जत हुन्थ्यो । उहाँले देहरादुनबाट एसएलसी अर्थात म्याट्रिकुलेशन पास गरेर फर्किएपछि भारतीय सेनामा भर्ति हुनुभयो । तर लामो समय उहाँले भारतीय सेनामा आफूलाई समर्पित गर्न सक्नु भएन । देशमा राणा शासनका विरुद्धमा वि.स. २००७ साल कार्तिक २४ गतेदेखि नेपाली काँग्रेसले आन्दोलन शुरु गरेको थियो । उक्त आन्दोलनमा हजारौ भारतीय नेपाली सैनिक र बृद्धिश सैनिकहरु जागिर छाडेर सहभागी भएका थिए । उहाँ दाजु
रामबहादर श्रेष्ठ जो पछि नेपाल प्रहरीको पहिलो आइजीपीसमेत हुुनुभयो जसले उहाँलाई नेपाली काँग्रेसमा आउन प्रेरित गर्नुभयो । त्यसपछि उहाँ नेपाली काँग्रेसमा निरन्तर सक्रिय रहँदै आउनु भयो ।


पारिवारिक सल्लाहमा वैवाहिक बन्धनमा बाँधिएपछि श्रेष्ठका एक छोरी र दुई छोराको जन्म भयो । तर उहाँले कहिल्यै पार्टीको नाममा आफ्ना सन्तानलाई व्यवस्थित गर्ने प्रयास गर्नुभएन । हाल छोराछोरी बाहिरै छन्, कहिलेकहीँ आउँछन्, उहाँले सुनाउनुभयो । आफ्नो नाता पर्ने सिंहबहादुर श्रेष्ठ प्रारम्भदेखि नै गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र हुनुहुन्थ्यो । सिंहबहादुरकै कारण उहाँको उठबस गिरिजाप्रसाद कोइरालासँग हुन थाल्यो । उहाँ सुनाउनुहुन्छ, २००७ सालमा प्रजातन्त्र आएपछि विभिन्न वहानामा २०१५ सालसम्म मुलुक अनिर्णयको बन्दी जस्तै भयो । कहिले को प्रधानमन्त्री हुने कहिले को प्रधानमन्त्री हुने क्रम चलिरहयो । २०१५ सालको निर्वाचनको घोषणा भएपछि ३३ नं. क्षेत्रबाट बीपीलाई जिताउन उहाँ लगायत अन्य साथीहरुले विराटनगरमा निर्वाचन कार्यालय खोल्नुभयो । त्यसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो । निर्वाचनको दौरान अधिकांश समय उहाँको बसाई घरमा भन्दा पनि बाहिरै हुने र गिरिजाप्रसाद कोइरालासँगै हुन थाल्यो । निर्वाचन सम्पन्न भयो काँग्रेसले दुई तिहाई बहुमत ल्याएर पहिलो पटक जनताको छोरा बीपी कोइराला प्रधानमन्त्री हुनुभयो । तर डेढ बर्षमै नेपाली काँग्रेसको सरकारलाई अपदस्थ गरियो । पार्टीहरुमाथि प्रतिबन्ध लाग्यो । नेपाली काँग्रेसको सरकार अपदस्त हुँदा तत्कालीन कम्युनिस्टहरुले देशैभरि दिपावली गरेर खुशियाली मनाएको उहाँको स्मरणमा अझै ताजै छ । उहाँ भन्नुहुन्छ १९ औ शताब्दीमा शिक्षाको अभावले संसारका धेरै देशमा कम्युुनिष्टहरुले वर्चस्व राखे उनीहरुको डिक्टेटरबाट विस्तारै विश्व अवगत हुँदै गयो र विस्तारै पतन भए । नेपालमा कम्युनिस्हरु जुन देखिएको छ चाँडै तिनको पतन निकट छ । नेपाली काँग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो । अहिले कमजोर देखिएको महसुस गरेपनि काँग्रेस कमजोर नभएको र आगामी निर्वाचनमा काँगे्रस नै सत्तामा आउने उहाँले ठोकुवा गर्नुभयो । उहाँले पटक पटक सुनाउनु भयो काँगेस कमजोर छैन । प्रजातन्त्र र तानाशाहको बीचमा के अन्तर छ ? नेपाली काँग्रेस कसरी मजबुत भूमिका निर्वाह गर्नुपर्छ र नयाँ पुस्तालाई स्थापित गर्नुपर्छ । तर यहाँ त पुरानो पुुस्ताले नेतृत्व नछाड्ने र नयाँ पुस्ताले आँट नगर्ने प्रवृत्ति देखिएको छ ।
गिरिजाप्रसाद कोइरालासँगको निकटको सम्बन्धको उहाँले बारम्बार कुरा उठाउनु भएको थियो । पार्टी प्रतिबन्धित भएपछि पनि गिरिजा बाबुसँग भेटघाट भइरहयो । कहिले फारविसगञ्जको क्याम्पसमा पुग्ने, कहिले रंगेली, डाइनियाँ पुग्ने क्रम निरन्तर चलिरहेको हुन्थ्यो । पुराना कुराको स्मरण गर्दे उहाँले भन्नुभयो गिरिजाबाबुसँगको सामिप्यता बडो उत्साहप्रद हुन्थ्यो ।
वि.स. २०४६ साल भन्दा अगाडिका हरेक आन्दोलनमा उहाँको सक्रिय भूमिका रहँदै आएको धरानका कुनै पनि नेपाली काँग्रेस नेता कार्यकर्ताहरुबाट लुकेको छैन । चाहे २०३६ सालको जनमत संंग्रह होस, चाहे २०४२ सालको सत्याग्रह होस् । २०४६ सालपछि उहाँले क्षेत्रीय समितिहरुमा समेत बसेर काम गर्नुभयो । नेपाली काँग्रेसका युवा नेता विनोदकुमार राई क्षेत्रीय सभापति छँदा उहाँ उपसभापतिको जिम्मेवारी रहनु भएको थियो ।
साथसाथै प्रजातन्त्र सेनानी संघको केन्द्रीय प्रतिनिधिमा समेत मनोनित हुनुभयो । उहाँ भन्नुहुन्छ धरानमा नेपाली काँग्रेस कमजोर भएर विगतमा निर्वाचन हारेको होइन, मानसिकता कमजोर भएर हारेको हो । अब विगतको अवस्था
नहराला कि उहाँले आशा व्यक्त गर्नुभयो । नेपाली काँग्रेसको हरेक गतिविधिमा अहिले पनि शारीरिक रुपमा नभए पनि आर्थिक रुपमा उहाँले सक्दो सहयोग पु¥याउँदै आउनु भएको छ । भर्खरैमात्र पनि धरानको वडा नं. १३ र वडा नं. २० को सीमा बनेको बीपी स्मृति पार्कमा निर्माण गरिएको बीपी कोइरालाको पूर्ण कदको शालिक निर्माणमा उहाँले आर्थिक सहयोग पु¥याउनु भएको थियो । त्यसबेला उहाँलाई आयोजक निर्माण समितिका तर्फबाट सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बनेर आउनु भएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौड्यालले उहाँको स्वास्थ्य स्थितिका बारेमा सोधपुछ गर्नुभएको थियो ।
पौड्यालले स्वास्थ्य स्थितिका बारेमा सोधपुछ गर्दा उहाँ केही भावुक पनि बन्नु भएको थियो । उहाँले भन्नुभयो मैले पार्टीमा लागेर कमाएको भनेकै सम्मान हो । हुन पनि हो उहाँलाई धरानका मात्र नभएर दुरदराजका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले सम्मान गर्छन्, स्मरण गर्छन् ।अब त त्यति हिड्न पनि सक्दिनँ, धेरेै प्रकारको औषधि खाएर फाउको जिन्दगी बाँच्दै छु भनेर उहाँले ठट्टा पनि गर्नुभयो । आफ्नो सयन कक्षबाट निस्कदै भन्नुभयो मेरो बारेमा धेरै बढाइचढाई गरेर नलेखिदिनुस् है । फेरि नेताहरुले धिरजबहादुर श्रेष्ठ पूर्ण स्वस्थ्य छ भनेर काठमाण्डौ लगायतका ठाउँमा बोलाउँछन् । बढो मान्छे ८६ बर्षमा रनिङ्ग गर्दै छु, धेरै हिड्न पनि सक्दिनँ र परिवारले पनि बाहिर टाढा नजान सुझाइरहन्छन्, श्रेष्ठले सुनाउनुभयो ।


