धरान÷नेपाल विद्युत प्राधिकरण धरान शाखामा कार्यालय प्रमुख इन्जिनियर प्रताप बराल र मर्मत इन्चार्ज महेश दाहालको मिलेमतोमा लाखौ अनियमिता हुने गरेको छ ।
धरानमा यतिबेला अत्याधिक मात्रामा विद्युतीय पोलहरु सार्ने काम भइरहेको छ । कुनै सडकमा परेका कुनै निजी जग्गामा रहेका त्यस्ता पोल सार्दा कार्यालय प्रमुख बराल र इन्चार्ज दाहालले प्राधिकरणको नियमलाई ठाडै धोती लगाई सरोकारवालाहरुसँगको लेनदेनमा त्यस्ता विद्युतको पोलहरु सारेर लाखौ अनियमतिता गरेको कर्मचारीहरुले नै बताएका छन् ।
पोल सार्नका लागि नेपाल विद्युत प्राधिकरण प्रदेश नंं १ प्रादेशिक कार्यालय विराटनगरको स्विकृति लिनुपर्ने प्रावधान रहेको भएतापनि त्यसो नगरी दुवैको मिलीभगतमा स्थायी र ज्यालादारी कर्मचारी मार्फत दजनौ पोलहरु सारिएका छन् । पोल सार्नु भन्दा अगाडि सम्बन्धित व्यक्तिले निवेदन सहित वडाको सिफारिस दिएपछि त्यसलाई इस्टिमेट सहित क्षेत्रीय कार्यालयमा पठाइ राजस्व जम्मा गरेको बैंक भौचर दिएपछि मात्र पोल सार्ने प्रावधान रहेको छ । चार दिन अगाडि धरान १७, धरान १५ मा आधा दर्जन त्यस्ता पोल सारिएको र प्रतिपोल सारेवापत २५ हजार रकम लिएको एकजना कर्मचारीले आफनो नाम उल्लेख नगर्ने शर्तमा भने ।
यतिमात्र नभएर ग्राहकले नयाँ मिटर जडानका लागि निवेदन दिएको सात दिनभित्रमा जडान गर्ने प्राधिकरणकै सूचना बोर्डमा लेखिएको छ । तर महिनौ वित्दा पनि ग्राहकले नयाँ मिटर पाउन सकेका छैनन् । उनीहरुले कार्यालय प्रमुख र मर्मत इन्चार्जसँग सम्पर्क राख्दा कहिले कर्मचारी छैन भन्ने, कहिले रुखो व्यवहार गर्ने गरेको धरान उपमहानगरपालिका वडानं. १४ का एक ग्राहकले दुःखेसो पोखे । नेपाल विद्युत प्राधिकरण दमकबाट सरुवा भएर आएका दाहाल पहिला चुहावट (मिटर सिकायत) शाखामा रहे पनि कार्यालय प्रमुखले हाल मर्मत इन्चार्ज बनाएर अनियमितता गर्ने गरेको अर्का एक कर्मचारीले बताए । यसै सम्बन्धमा कार्यालय प्रमुखसँग सम्पर्क राख्दा उहाले भन्नुभयो पहिला निवेदन र सिफारिस दिनुपर्छ, यहाँबाट इस्टिमेट भएपछि सारिदिन्छन् । सार्ने काम धरान शाखाबाटै हुन्छ त भन्ने सम्बन्धमा प्रश्न गर्दा उनी केही हच्केका थिए । उनले तपाई को बोलेको भन्दै प्रश्न समेत गरेका थिए । त्यसपछि उनले हामीलाई पोल सार्ने अधिकार हुँदैन ११ केभीको भए काठमाण्डौ पठाउनुपर्छ एलटीको भए विराटनगरबाट प्रक्रिया चलाउनुपर्छ । उता मर्मत इन्चार्ज दहालसँग सम्पर्क राख्दा उनले भने वडाको सिफारिससहित निवेदन दिनुपर्छ खर्चको इस्टिमेट हामी यहाँ बसेर गरिदिन्छौं र पोल सारिदिन्छौं ।
