ब्राम्हण समाजको साध्विक वनभोज

धरान÷वनभोज भन्दैमा आजकल मदिरा, माछा, मासु अनिवार्य हुने आम मानिसको बुझाई छ । मदिरा, माछा, मासु बिनाको वनभोज अहिलेका पुस्ताले कल्पनै गर्न सक्दैनन् । मदिराको सेवनका कारण विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने वनभोजमा यदाकदा अप्रिय घट्नाहरु घट्ने गरको सुन्न र देख्नमा नआएको होइन ।
तर शनिवार धरानको वडा नं. १७ स्थित सप्तरंगी पार्कमा आयोजित एउटा वनभोज कार्यक्रम पृथक देखियो । व्राम्हण समाज धरानले आयोजना गरेको वनभोज कार्यक्रममा मदिरा, माछा, मासु वर्जित गरिएको थियो, पूर्णतया ः साध्विक वनभोज ।
ब्राम्हण समाज धरान उपमहानगर समितिको आयोजनामा भएको वनभोजलाई सद्भाव वनभोज नाम दिइएको थियो । समाजले पहिलो पटक आयोजना गरेको वनभोजमा झण्डै पाँचसय ब्राम्हणहरुको सहभागिता रहेको थियो । समाजका धरान उपमहानगर समितिका अध्यक्ष उद्धव अधिकारीका अनुसार वनभोज आफैमा एउटा सद्भाव जगाउने कार्यक्रम हो । एक अर्कासँगको निकटता यस्ता कार्यक्रमले स्थापित गर्छ । स्वास्थ्यको दृष्टिले पनि मदिरा, माछा, मासु प्रतिकूल रहने मान्यता अन्यत्र पनि स्थापित हुँदै गएको अवस्थामा समाजले साध्वित वनभोजको आयोजना गरेको हो ।
धरान उपमहानगर पालिकाका हरेक वडामा स्थायी वा अस्याथी बसोबास गर्दै आउनु भएका, विभिन्न पेशामा आवद्ध व्राम्हणहरुको वनभोजमा सहभागिता रहेको समाजका सचिव कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया