धरान÷नेपाली काँगेस सुनसरी क्षेत्र नं. १ ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने कार्य सर्वसत्तावाद र संवैधानिक ‘कु’ भएको भन्दै सोमबार धरानमा व्यापक विरोध प्रर्दशन गरेको छ ।
नगर तथा गाउँ गाउँबाट आएका कार्यकर्ताहरु धरानको छाताचौकमा भेला भई ओली तेरो पाराले दुःख पाए साराले, भ्रष्टचारी सरकार मुर्दावाद, संसद पुनस्र्थापना हुनैपर्छ जस्ता नारा लगाउँदै भानुचौकको लोकतान्त्रिक चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सो अवसरमा बोल्दै नेपाली काँगेस महासमिति सदस्य एवम् पूर्व प्रदेश नं. १ का प्रमुख डा. गोविन्द तुम्बाहाम्फेले भन्नुभयो पूर्व एमाले र पूर्व माओवादी बीचमा छलकपटको एकता भएको थियो । ०७४ सालमा एकता हुँदा पुष्पकमल दाहालले ओलीलाई प्रधानमन्त्री स्विकारेर दोस्रो अध्यक्ष बन्नुको प्रमुख कारण मृगौलाका रोगी ओलीले धेरै लामो सत्ता चलाउन सक्दैनन् । त्यसपछि आफू अध्यक्ष र प्रधानमन्त्री दुवै हुने सपना देखेका थिए । तर मृगौलाको सल्यक्रिया पश्चात ओली झन बलियो भएर आएपछि आफूले पद नपाउने निश्चित देखेपछि माधव नेपाल, झलनाथ खनाललाई साथमा लिएर रडाको मच्चाउँदा आजको अवस्था सिर्जना भएको हो । पदीय झगडाले गर्दा संविधानको मर्ममाथि नै प्रहारमात्र भएको छैन, सवैधानिक कु नै हुन पुगेको छ । सो अवसरमा नेपाली काँग्रेसकी पूर्व केन्द्रीय सदस्य एवम् सांसद मिना सुब्बा, जिल्ला सदस्य राजदिप लामा, जिल्ला सचिव सुजेन्द्र गोलेले समेत संविधान विपरीत ओलीका कमदले मुलुकमा संवैधानिक संकट निम्तिएकोले सडकबाटै त्यसलाई सच्याउनुपर्ने अवस्था आएको बताउनु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रदेश नं. १ का सचिव मुरारी भट्टराइले गर्नुभएको थियो ।
