धरान/ केही समय अगाडि पाचकन्या र विष्णुपादुका गाविस धरान उपमहानगरपालिकासंग गाभिएपछि त्यसक्षेत्रले अपेक्षाकृत रुपमा विकासको जुन अपेक्षा राखेका थिए, गाभिएपछि सर्वसाधारणमा अझ निराशा बढाएको छ ।
विष्णुपादुका गाविसबाट एकैपटक
धरान उपमहानगरपालिकामा गाभिएपछि र गाभिनुभन्दा अगाडि भएको गाविसको कामबाही एउटै भएको महसुस सर्वसाधारणले गरेका छन् भने अझ स्थानीय निकायले गर्ने काममा ढिलासुस्ती, घण्टौ हिडेर धरान उपमहानगरपालिका जानुपर्ने बाध्यता लगायतका कुराले विष्णुपादुकाका सर्वसाधारणहरुमा निराशा छाएको छ ।
२०४८ सालदेखि विष्णुपादुका गाविस वडा नं. ४ पट्नालीमा बस्दै आउनुभएका नरबहादुर विकले गाविसबाट एकैपटक
धरान उपमहानगरपालिका बनेपछि अझै सास्ती भोग्नुपरेको बताउनुभयो । गाविस हुदा थााति रहेका विकासका निर्माणका कामहरु उपमहानगरपालिका हुदा बन्लान् भन्ने सोच्नु भएका उहाले उपमहानगरपालिका भएपछि पनि यस क्षेत्रको विकासमा केही ध्यान नदिएको बताउनुहुन्छ । अझ गाविस हुदा जग्गापास, जग्गा खरिद जस्ता कार्यमा कर वृद्धि भएको, घर बनाउदा अनावश्यक रुपमा नक्सा पास गर्नुपर्ने प्रावधानले कृषि पेशा अंगालेर दुई छाक टार्नुपर्ने अवस्थाका उहालाई उपमहानगरपालिका बनेपछि अझ सास्ती व्यहोर्नुपरेको बताउनुहुन्छ ।
धरान उपमहानगरपालिका वडा नं. २७ मा पर्ने यो स्थानमा चतराबाट लाइन आउने भएकाले लोडसेडिङ्ग कम हुने भएकोले ऊर्जा प्रवद्र्धन गरेर यसको विकास गर्न सकिने स्थानीयहरुको भनाई छ । उनीहरुले यस क्षेत्रको पूर्वाधार विकाससंगै लोडसेडिङ्ग कम हुने हुनाले औद्योगिक क्षेत्र बनाएर सर्वसाधारणलाई रोजगारी प्रदान गर्न उपमहानगरपालिकालाई आग्रह समेत गरेका छन् ।
उनीहरुले उपमहानगरपालिका बनेसंगै विकासका पूर्वाधारसंगै रोजगारीको अवसर प्रदान गर्नु धरान नगरपालिकाले उपमहानगरपालिकाको कर्तव्य बनेको समेत बताएका छन् । उनीहरुले प्रशासनिक काममा समेत उपमहानगरपालिकाले सर्वसुलभ ढंगले सेवाग्राहीलाई काम गर्ने वातावरण मिलाइदिन समेत आग्रह
गरेका छन् । धरान उपमहानगरपालिकाबाट १६ किमी उत्तरमा रहेको यस वडामा मात्रै ३ सय घरधुरी रहेको छ । सर्दुखोलाको सीमानामा पर्ने यस वडामा बर्षाद्को समयमा सर्दुखोलाका कारण धरान आवतजावतमा समेत मुस्किल हुने गरेको उनीहरुको भनाई छ । गाविस हुदा सहज हुने काम अहिले झन्झिलो, बढी राजस्व बुझाउनुपर्ने, घर निर्माण गर्दा गरिने प्रक्रिया अझ झन्झिटिलो लगायत प्रशासनिक काममा समेत गाह्रो हुने भएकोले सहज वातावरण बनाइदिन उनीहरुले आग्रह
गरेका छन् ।
विष्णुपादुका गाविस वडा नं. ४ मा पर्ने पट्नाली धरान उपमहानगरपालिकामा गाभिए पनि भौगोलिक, रहनसहन र वातावरणका कारण छुट्टैजस्तो देखिन्छ । गाभिएका अन्य वडा भन्दा यो अत्यन्तै दुर्गम क्षेत्र पर्ने भएकोले यसलाई प्राथमिकताका रुपमा स्थानीयहरुको माग छ ।
यस विषयमा धरान उपमहानगरपालिकाका कामु अधिकृत एवम् वरिष्ठ प्रशासकीय अधिकृत उपमहानगरपालिका बन्ने वित्तिकै जादुको छडीजस्तो ह्वात्तै विकास नहुने बताउनु हुन्छ । उहाले धरान नगरपालिकाभित्र रहेका १९ वडालाई भन्दा उपमहानगरपालिका बनेपछि थपिएका ८ वडालाई विकासको हिसाबले प्राथमिकताका रुपमा हेरिने बताउनुभयो ।
उहाले धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०७१/०७२ बजेटमा उपमहानगरपालिकाले ३५ करोडको बजेट प्रस्ताव गरेको छ । यसमा पनि आन्तरिक आय ७ करोड ४० लाख मात्र रहेको बताउदै कम्तीमा पनि उपमहानगरपालिका बनेपछिको अवस्थामा १० करोड भन्दा माथिको
आन्तरिक आम्दानी चाहिने बताउनुभयो । उहाले पिछडिएका क्षेत्रलाई लक्षित गरी सडक नबनेको क्षेत्रमा सडक, कालोपत्रे, विजुली बत्ती, खानेपानी र सहज ढंगले प्रशासनिक काम गर्न विभिन्न वडामा सेवा सेन्टर
राखिने समेत बताउनुभयो ।
