धरान÷कोरोनाको जोखिम बढ्दै जादा सरकारले संक्रमण ऐन २०२० लागु गरेको छ । संक्रमण ऐनमा सार्वजनिक ठाउँमा भेला, सम्मेलन गर्दा बढी भिडभाड नगर्ने उल्लेख गरेको छ । तर, धरान–१३ स्थित कृषि उपज
बजारको चौपाया बजारमा यो ऐनको पालना भएको पाइदैन ।
शुक्रबार धरानको कृषि बजारमा खसी बोका खरिद विक्रीका लागि आएका व्यापारी तथा उपभोक्ताको भिड थामिनसक्नु थियो । यो भिड धरानबासीको मात्र हैन तराईका विभिन्न जिल्लाबाट व्यापारीहरु खसीबोका खरिदका लागि आएका थिए । उनीहरुले समान्य स्वास्थ्य सावधानी अपनाएको समेत पाइदैनथियो । कृषिउपज बजारमा खसीबोका खरिदको लागि सरकारले लागू गरेको ऐनको न त कृषि उपजबजारले पालना गरेको पाइयो न त व्यापारी तथा उपभोक्ताले । अधिकांस व्यापारी तथा उपभोक्ताले कोरोनालाई सामान्य रुपमा लिएर बेवास्ता गरेको खरिद विक्रीका लागि आएका व्यापारी तथा उपभोक्ताको प्रतिक्रियाले प्रष्ट पाथ्र्र्यो ।
कतिपय व्यापारी तथा उपभोक्ताले भने संक्रमणको त्रास हुदाहुदै पनि आर्थिक स्रोत उपार्जनक लागि बाध्य भएर आउनु परेको बताएका थिए । धरान २०का कृषक पर्शुराम बस्नेत र दुहवी सुनसरीका व्यापारी मुस्ताहिकले बाध्य भएर कृषि बजार आउनु परेको बताएका छन ।
त्यसो त कृषि उपज बजारका जिम्मेवार व्याक्तिहरुले पनि यो कुरालाई स्विकारेका छन् । बजारका पूर्वअध्यक्ष एबं व्यापारी काजी गिरीले यस विषयमा कृषि बजारलाई बारम्बार ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको आरोप लगाउनुभयो ।
यता कृषिउपजबजार स्थलले भने चौपाया बजारमा निर्माण कार्य भइरहेको हुँदा अहिले व्यावस्थापन गर्न गाह्रो भएको जनाएको छ । कृषि उपज बजारका अध्यक्ष पर्शुराम कट्वालले यसलाई चाडो सुधार्ने प्रतिबद्धता जनाउनुभयो ।
चौपाया बजारमा भिडभाड बढ्दा संक्रमण जोखिम बढ्ने हुँनाले चाडै बजार व्यावस्थापन समितिसंग छलफल निकास खोजिने वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले बताउनुभयो ।
कृषि उपज बजारका अनुसार यस बजारमा वार्षिक ५० करोड बराबरको खसी बोकाको कारोबार हुने गरेको छ । तर, यस बर्ष कोरोनाका कारण ४२
करोड बराबरको कारोबार भएको छ । कृषि उपजबजारमा पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम, पाँचथर, सुनसरी, मोरङबाट खसीबोका भित्रिने गर्दछ भने यहाँबाट तराइका विभिन्न जिल्ला, काठमाडौंदेखि छिमेकी मुलुक भारतसम्म खसीबोका निर्यात हुने गरेको कृषि उपज बजारले जनाएको छ ।
धरानको कृषि बजार अन्य कृषि बजार भन्दा उत्कृष्ट बन्दै सातौं पटकसम्म पुरस्कृत भएको छ । यसको व्यावस्थापन, कृषक तथा व्यापारीको सुविधा, कारोबारलाई हेरेर उत्कृष्ट पुरस्कार पाएको हो । तर, बजारको व्यावस्थापनलाई भने हेरेको पाइदैन ।
