विकास विरोधीहरुले मलाई बद्नाम गराउन अनेक अफवाह फैल्याउने काम गरिरहेका छन्

गफार अन्सारी । सुनसरी जिल्लाको भारतीय सीमावर्ती हरिनगरा गाउँपालिकाका अध्यक्ष । नेपालको संविधान २०७२ लागू भए पछिको पहिलो स्थानीय निर्वाचनमा अन्सारी नेपाली काँग्रेसका तर्फबाट अत्याधिक वहुमतले हरिनगरा गाउँपालिकाको अध्यक्षमा विजयी हुनु भएको थियो ।
संघीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजनमा प्रारम्भदेखि नै हरिनगरा गाउँपालिकालाई उपेक्षा गरिदै आए पनि सुनसरी जिल्लाका अन्य स्थानीय निकायको तुलनामा हरिगनगर गाउँपालिकामा जे जति काम भएका छन् त्यसलाई विपक्षीहरुले समेत मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् ।
समधर्म समभावको मान्यता राख्नु हुने र विकास निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउदै आउनु भएका अध्यक्ष अन्सारीले झण्डै तीन बर्षको अवधिमा गाउँपालिकाबाट सदरमुकामसँग जोड्ने आधा दर्जन सडकको निर्माण, वडा वडामा स्वास्थ्य चौकी, धार्मिक मठ मन्दिर, चर्च, मदर्शा, मस्जिदहरुलाई दैनिक पूजा आजा तथा नित्य कर्मका लागि गाउँपालिकाबाटै यथोचित बजेटको व्यवस्था, एक दर्जन भन्दा बढी स्थानमा कल्भर्ट तथा पुल निर्माण, स्थानीयले बर्षौदेखि कटानबाट पीडा भोग्दै आएको सुनसरी खोलामा कटान नियन्त्र, गरीबहरुका लागि घर निर्माण गरेर आवासको व्यवस्था, गरीब परिवारका विद्यार्थीका लागि शैक्षिक सामाग्री र साइकल वितरण, कोरोना महामारीको अवस्थामा पाँचसयलाई आश्रय दिन सकिने व्यवस्थित क्वारेन्टाइनको व्यवस्था लगायतका दर्जनौ कार्यले अन्सारीलाई लोकप्रिय बनाएको छ ।
तीनपटक गाउँ पालिकाको अध्यक्ष भइसक्नु भएका अन्सारी पहिलो संविधानसभाको निर्वाचनमा झिनो मतले पराजित हुनुभएको थियो । पछिल्लो पटक उहाँले हरिनगरा गाउँपालिकामा गर्नुभएको विकास निर्माणको कार्यबाट केही विकास विरोधीहरु उहाँको मानमर्दन गर्न उद्यत देखिन थालेका छन् । हरिनगरामा रहेको शिव मन्दिर अध्यक्ष अन्सारीले भत्काउन लाग्यो भनेर एकथरिले धार्मिक सहिष्णुता भड्काउन गरेको कुप्रचारप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । हरिनगराका दर्जनौ स्थानमा हिन्दु धर्मालम्बीहरुको मठ मन्दिर शिलान्यास, निर्माणमा सहयोग, आफ्नो र गाउँ पालिकाको तर्फबाट पूजारी राख्ने व्यवस्था समेत गरेको भन्दै त्यस्ता कुप्रचारप्रति सजग रहन उहाँले स्थानीय जनता,प्रशासन सबैमा आग्रह गर्दै आउनु भएको छ । यसपटक हामीले हक्की स्वभावका, गाउँको विकासमा अहोरात्र लागि पर्नुहुने अन्सारीसँग वार्ता गरेका छौं , प्रस्तुत छन् र्वााका सारसंक्षेप ः–

सुनसरीमा रहेका अन्य स्थानीय निकायको तुलनामा हरिनगरा गाउँपालिकामा सबैभन्दा बढी विकास भएको छ । तर पछिल्लो समय रामंो काम गर्दा गर्दै पनि तपाईलाई शिव मन्दिर भत्काउन लाग्यो भनेर विादमा तान्ने काम गरेको देखियो । यसमा तपाई के भन्नुहुन्छ ?
–मन्दिरको विवादै छैन । यहाँ जसले मन्दिरको कुरा उठाएको छ त्यसले यहाँको धार्मिक सद्भावलाई विगार्न खोजेको छ । मन्दिरमा कुनै प्रकारको विवाद नहुँदा पनि किन यस्तो गर्दैछन् विस्तारै सबैले बुझ्न थालेका छन् । वास्तविकता के हो भने संघीय सरकारले हुलाकी राजमार्गको डिपिआर बनाउँदा विराटनगरदेखि फुलचौक सम्मको २७ किमी सडक बन्दै छ । हुलाकी राजमार्गमा महानगरापलिका थोरै स्थानमा परेको छ भने बाँकी बर्जु गाउँपालिका, देवानगञ्ज गाउँपालिका, भोक्राहा गाउँपालिका, हरिनगरा गाउँपालिका पर्छन् । सडक विभागले सबै स्थानीय तहलाई एउटा पत्र लेख्यो हुलाकी राजमार्गमा पर्ने संरचनामा ५० मिटर क्लियर गरिदिनु । त्यही चिठ्ठीको आधारमा हरिनगरा गाउँपालिकामा मैले मस्जिद, मदर्सा, मन्दिरको, केही स्कूलको घेराबारा थियो, कही चर्चको घेराबारा थियो त्यसलाई हामीले हटायौं । हरिनगरामा भएको शिब मन्दिरमा माइपुग्दा केहीले विवाद गरे । डिपिआर अनुसार दुई फिट ८ इन्च मन्दिरको सटरमा प¥यो । मन्दिर कुनै पनि हालतमा भत्काउनु हुँदैन भनेर मैले नै मन्दिर बचाउनुपर्छ भनेर डिपिआरलाई थोरै संसोधन गर्न लगाएँ । इन्जियनरले पनि हाम्रो हाम्रो आग्रहलाई स्विकारेर दुई फिट ८ इन्चको डिपिआर सच्याउनुभयो । संसोधन गरेपछि सबैले खुशी व्यक्त गरे । मन्दिर भएको ठाउँमा चौरास्त छ । अर्थात एउटा पश्चिम, उत्तर, पूर्व र अलिकति तलबाट दक्षिणपट्टि घुस्कीबाट आउने बाटो छ । मन्दिरको निर्माण २०५३ सालमा मेरै्र पहलमा निर्माण भएको हो । मन्दिर पहिलादेखि नै सानो आकारमा थियो । त्यसलाई ठूलो आकारमा बनाउन हिन्दु साथीहरुले आग्रह गर्नुभयो र अहिलेको संरचना बनेको हो । पहिलो पटक म निर्वाचित भएर आएपछि जग्गाको व्यवस्था पनि मैले नै गरिदिएको थिएँ । त्यसबेला मन्दिरसँगै लाइब्रेरी, गाउँविकासको मार्केट पनि बनाए । मन्दिर बनिसकेपछि मन्दिरको आम्दानी केही छैन त्यसैले तीनवटा सटर बनाएर भाडा लगाई आम्दानी गर्नुप¥यो भन्नुभयो । सटर भएको जग्गा सडकको हो । ४–५ फिटका त्यस्ता सटर हाल डिपिआरको नालामा परेको छ । उहाँहरुले त्यसबेला सडक विस्तार हुँदा भत्काइदिन्छौ भन्नुभएको थियो । डिपिआरलाई जति संसोधन गर्दा पनि नालामा पर्ने ती सटहरुलाई बचाउन सकिने अवस्था भएन । उहाँहरुलाई मैले आग्रह गरे तपाईहरु सटर हटाइदिनु्स् । मन्दिर हामी कुनैपनि हालतमा भत्काउदैनौं, एउटा इँटा झार्न दिँदैनौै, मन्दिरको प्रोटेक्सन गर्ने जिम्मेवारी हाम्रो हो भने । स्थानीय सरकारको जिम्मेवारी पनि भएकोले मठ मन्दिरको संरक्षण गने जिम्मा हाम्रो हो यसका लागि गाउँपालिकाले व्यवस्था गर्छ । हामीले गाउँ पालिकामा एउटा समझदारी पनि गरेका छौं । अब एक थरिले अड्को थापेर अनावश्यक विवाद गरेका छन् । यहाँ मन्दिर जोगाएर सटर भत्काउने कुरा मात्र हो । यसमा पहिला
विरोधीहरु क्लियर हुनुप¥यो । मेरो बद्नाम गर्न सामाजिक सञ्जालदेखि अन्य सबै मिडिया सुनियोजित रुपमा प्रयोग गयिरएको छ । म भन्छु हामी मन्दिरको संरक्षण गर्छौै । मैले चार पटक चुनाव लडेको छु । हरेक पटक मलाई मुस्लिम मात्र नभएर हिन्दु दाजुभाईले समेत अत्याधिक वहुमत दिएर तीन पटक जिताउनुभयो । मैले उहाँहरुको भावनाकोे कदर गर्नुपर्छ । मैले उहाँहरुलाई सम्मान गर्न सकिन भने भोलि मलाई कसरी पुनः मत दिनुहुन्छ ? मैले यहाँ दर्जनौ मन्दिरको शिलान्यास गरेको छु, पैसा दिएर बनाउन लगाएको छु । फेक आइडी बनाएर मेरा परिवारलाई समेत नाताभाति गाली गर्नु कत्तिको शोभनीय हो ? नाला नबनाउने हो भने त्यसबाट पानी मन्दिरमा पस्छ । भोलि फेरि उनीहरु नै भन्छन् सबै पानी मन्दिरमा पस्यो, गफार अन्सारी अध्यक्ष भएर पनि केही गरेन । त्यसैले सटर भएको ठाउँमा सडकको नाला बनाएर मन्दिर संरक्षण र अझ व्यवस्थित, सुन्दर बनाउनुपर्छ ।
तपाईले मन्दिरलाई यति राम्रो संरक्षणको योजना बनाउदा बनाउदै तपाइको विरोध गर्ने जमातको आशय के हो ?
–२०५३ सालमा मेरै सक्रियतामा मन्दिर निर्माण हुँदा पनि केहीले विरोध गरेका थिए । उनीहरु पहिलादेखि नै मेरो कामबाट, जनताको काम गरेकोमा सन्तुष्ट छैनन् । यो मान्छेलाई कसरी बद्नामी गराउन सकिन्छ भनेर लागिरहेका छन् । जनताले मलाई रुचाउँछन्, सन्तुष्ट छन् । मेरो बद्नामी गर्न मन्दिर मस्जिद, मदर्साको कुरा उठाउनेबाट म अत्यन्तै चिन्तित छु । म गम्भीर छु ।
यस्ता व्यक्तिले यहाँ धार्मिक सहिष्णुता भड्काउने काम गरिरहेको पाइयो । यसको नियन्त्रणका लागि के के प्रयास गर्दै हुनुहुन्छ ?
–मैले यसका सम्बन्धमा स्थानीय प्रशासनलाई जनकारी गराएको छु । समाजका सबैको मानिसको सद्भाव विगार्ने काम गर्नेलाई कानुनी कार्वाहीको माग गरेको छु । हिन्दु, मुस्लिम अन्य धार्मिक समुदायका भावनामा चोट पु¥याउनेलाई कार्वाही त हुनैपर्छ ।
स्थानीय प्रशासनबाट कस्तो सहयोग पाउनु भएको छ ?
–मैले यस सम्बन्धमा सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई, जिल्ला प्रहरीका एसपीलाई आग्रह गरेपछि उहाँहरुले निरीक्षण पनि गर्नुभयो । उहाँहरुले वास्तविकता बुझिसक्नु भएको छ । मैले मन्दिर भत्काउन खोजेको भए म कानुनी कार्वाही भोग्न तयार छु । तर धार्मिक सद्भाव भड्काउने काम कसैबाट हुनुहुँदैन ।
स्थानीय सरकारबाट सहयोग पाइरहनु भएको छ ?
–हो मैले राम्रो सहयोग पाएको छु ।
तपाईले गरेका कामबाट तपाईका विरोधीहरु मानसिक रुपमा पराजित भएर तपाईको बद्नाम गराउन खोजे जस्तो लाग्दैन ?
–झुठो कुरा धेरै दिन चल्दैन । एक दिन त्यो उदांगो हुन्छ । विकास देख्न नसक्नेहरु जलेका छन् । सत्यको सदैव विजय हुन्छ ताकि त्यो ढिलो किन नहोस् । मसँग जुनसुुकै धर्मका मानिस आएर भन्छन् अध्यक्ष ज्यू पूजा गर्नुछ पैसा छैन, छोरीको विवाह गर्नुछ पैसा छैन,पैसा नभएर छोरा छोरीले पढ्न पाएनन् भन्छन् म सहयोग गर्छु । सहयोग गर्नु गलत हो ?
तपाईको यही सदासयता, सबैप्रतिको सदभाका कारण पनि धर्मको आडमा तपाईमाथि बद्नामका गराउने षड्यन्त्र भएको होइन ?
–मलाई पनि त्यस्तै लाग्छ । मन्दिर भएको ठाउँमा तपाई पनि गएर हेर्नुस त्यहा सटर भत्काउन खोजेको हो कि मन्दिर प्रष्ट हुन्छ । प्रदेश नं. १ मा अन्य स्थानीय तहको तुलनामा सबैभन्दा बढी विकास भएको छ । यसबाट केही विकास विरोधीहरु जलेका छन् ।
दविकासका के के काम भएको छ ?
–म पहिला यहाँ निर्वाचित भएर आउँदा केही विकास भएको थिएन । सडक थिएन । अहिले यहँ ५२ किमी पिचको पूर्वाधार तयार गरेका छौं । २५ किमी पिच बनाएको छु । ७ वटा वडामध्ये ६ वटा वडामा वडा कार्यालय निर्माण, २ वटा कार्यालयमा हेल्टपोष्ट थिएन । हाल एउटा निर्माण गरिसकेका छौं । ७ नं. वडामा हेल्टपोष्टका लागि टेन्डर प्रक्रियामा छौं । हरिनगरा माविलाई नमूना मावि बनाएका छौं । अनिवार्य अंग्रेजीको व्यवस्था तल्ला कक्षाबाटै गरेको छु, पाठ्य सामाग्रीहरु उपलब्ध गराएको छु,, साइकल वितरण गरेको छु । शिक्षामा निःशुल्क व्यवस्था गरेको छु । मुसहर समुदायका विद्यार्थीहरुलाई वीमा गरिदिएको छु । केही व्यक्तिहरुको घर थिएन उनीहरुलाइ घर बनाएर दिएको छु । घुस्की वडा नं. ७ मा १५ वटा घर बनाएर दिँदैछौं ।
अहिलेसम्म यस्ता कति घर बनाएर घरवारविहीनहरुलाई वितरण गरिसक्नु भएको छ ?
–अहिलेसम्म १५ वटा घरमा गरीबले बास पाइसक्नु भएको छ भने वसन्तपुरमा ३०वटा घर बनाउदै छौं । विकासमा पनि दश वटा पुल बनाएको छु, सुनसरी खोलाको कटान नियन्त्रण गरेको छु । सबै बाटोबाट ५–१० मिनेटमा सदरमुकाम पुग्न गरेी रिङ्गरोडको अवधारणा अनुरुप काम अगाडि बढेको छ ।
दतपाईले धेरै काम गर्नुभएको छ । बजेटको व्यवस्थाचाहिँ कसरी गर्नुभएको छ ? सरकाराले मात्र दिएकोले त पुग्दैन होला ?
–हामीले गर्नसक्ने स्रोत कतिपय ठाउँमा जुटाएर गरिरहेका छौं । संघीय सरकार र प्रदेश सरकारले हामीलाई कम बजेट दिएको छ । विकासको काम टेन्डर प्रक्रियाबाट अगाडि बाएको छु । उपभोक्ता मार्फत काम गराइएको छैन । उपभोक्ता मार्फत गर्दा कार्यकर्ता पोस्ने काम हुन्छ जसले गर्दा संरचना कमजोर हुन्छ । अहिले कोभिड महामारीको बेलामा हरिनगरा गाउँ पालिकामा ५सय मानिसले क्वारेन्टाइनबाट सेवा लिएका छन् । यहाँ जम्मा १२ सयको पिसिआर गर्दा १२ जनामा मात्र पोजेटिव देखियो । यहाँका कोही पनि आइसोलेसनमा छैनन् । यहाँको क्वारेन्टाइबाट दुहवी नगरपालिका, इटहरी उपमहानगरपालिका, बर्जु गाउँपालिका,देवानगञ्ज गाउँपालिका, गढी गाउँपालिका, भोक्राहा लगयतका बासिन्दालाइ सेवा दिएका छौं । थोरै खर्चमा हामीले राम्रो सेवा दियौ । यसैबाट पनि कतिपयलाई ईष्र्या भएर मेरो विरोध गरेका हुन् । त्यस्तालाई मैले फूलको माला त लगाउने हैन होला ?
त्यस्ता मानिसलाई विकास विरोधी भन्दा कस्तो होला ?
–निश्चिय नै ती विकास विरोधी हुन् । तिनलाइ भगवानले चाडै सद्बुद्धि दिउन् ।
तपाइले भन्नुभयो संघीय सरकार र प्रदेश सरकारले बजेट अन्य स्थानको तुलनामा पर्याप्त दिएको छैन । यसको प्रमुख कारण के होला ?
–त्यो त मलाई थाहा छैन । किन आइरहेको छैन । म कही गएर देउ भन्दिनँ । न प्रदेश, न संघीय सरकारमा गएर भनेको छु । अरुलाई अतिरिक्त बजेट दिएको भन्ने सुन्नमा आएको छ । राम्रो काम गरेको छ भनेर मुल्यांकन गर्नुपर्ने हो ।

तपाईको प्रतिक्रिया