विराटनगर÷एक नम्बर प्रदेशका झापा, ईलाम र मोरङ जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रित लागुऔषध सहित ६ जना पक्राउ परेका छन् ।
सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बाह्रदशी गाउँपालिका–२ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित बाह्रदशी गाउँपालिका–३ का २३ बर्षीय अमिन मोहम्बदलाई बिरिङ खोला किनाराबाट पक्राउ गरेको हो ।
यसैगरी ईलामको माङसेबुङ गाउँपालिका–५ का १९ बर्षीय प्रेम राई र १७ बर्षीय अमिर लिम्बु नियन्त्रित लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो २ केजी गाँजा सहित दुबै जनालाई पक्राउ गरेको हो । यस्तै मोरङको केरावारी गाउँपालका–६ बाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । सोमवार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले मुगु खोला छेउमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १० प ७६९३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार रहेका केरावारी गाउँपालिका–५ का २२ बर्षीय रुपेश राई, धरान–८ की ३० बर्षीया अबिमाया राई र २० बर्षीय उत्सव लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले डाईजेपलाब ९५ एम्पुल, एभिल ९४ एम्पुल र लुपिजेसिक ९७ एम्पुल लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा कानूनी कारवाहीका साथै थप अनुसन्धान भईरहेको छ ।
