धरान÷प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको चाहना नहुँदा नहुँदै पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको जोर बलमा विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र गिरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भए पश्चात प्रतिष्ठानलाई भूमाफिया, मेडिकल माफिया र दलालहरुले क्रमश ः कब्जा गर्दे लगेका छन् ।
उपकुलपति डा. गिरीले आफू नियुक्त हुने वित्तिकै सबैभन्दा पहिला प्रष्ठिानको अरबौको जग्गामा आँखा लगाएको प्रतिष्ठानका एक कासले बताए । उनले भने प्रतिष्ठानका कुनै पनि शिक्षक, कर्मचारी तथा कार्यकारिणी समितिका सदस्यहरुसँग छलफल नै नगरी प्रतिष्ठानको सुन्दर हरैचाको, काठमाण्डौ बाँसबारीको, धरानस्थित छाताचौकको र काठमाण्डौ भक्तपुरको जग्गा मोटो रकम कमिशन उठाएर भूमाफियालाई जिम्मा लगाउने चलखेल भइरहेको छ । निजी साझेदारी अवधारणा भन्दै कौडीको मूल्यमा उक्त जग्गाहरुको सम्बन्धमा ३५ बर्षे सम्झौता गर्ने र कमिशन असुल्ने योजना स्थानीयको विरोध तथा नेपाली काँग्रेसको भातृ संगठनहरुको आन्दोलनले तत्काललाई चकनाचुर बनाइदिएको छ । गत हप्ता काठमाण्डौको पार्क भिजेल रिसोर्टमा बसेको प्रतिष्ठानको सिनेट बैठकले उपकुलपति डा. गिरीको उक्त योजना तुहाइदिको ती कास सदस्यले बताए ।
सिनेट बैठकले उपकुलपति र रजिष्ट्रारको योजनामा प्रतिष्ठानको जग्गा निजी क्षेत्रलाई व्यापारिक प्रयोजनका लगि दिने प्रस्ताव स्वास्थ्य सेवा विस्तारको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्न सकिने सिनेटरहरुको अडानले अस्विकृत भएको थियो । प्रतिष्ठानभित्रै र प्रतिष्ठानको जग्गामा मदन भण्डारी ट्रमा सेन्टरको प्रस्तावको चौतर्फी विरोध भएपछि सिनेट बस्नु भन्दा अघिल्लो दिन परिवर्तन गरेर ट्रमा सेन्टमात्र राखेकोले स्विकृत भएको थियो । यसैगरी MCH र Anco/cardio
Hospital को प्रस्ताव नै सिनेटमा राखिएन । यसैगरी नियमावली संसोधन समितिमा कुनै संगठनका प्रतिनिधि नराखिएको र ४५ करोड घाटाको बजेट पास गरिएको थियो ।
२३ जना सिनेट सदस्यमध्ये १२ जना मात्र उपस्थित
कोभिड १९ को महामारी र सर्वत्र लकडाउनको अवस्थामा प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र उपकुलपति डा. ज्ञानेन्द्र गिरीको जोडबलमा काठमण्डौको पार्क भिलेज रिसोर्टमा बसेको सिनेट बैठकमा कुल २३ जना सिनेट सदस्य मध्ये १२ जना मात्र उपस्थित भएका थिए ।
रोचक कुरा छ के छ भने सिनेट बैठकमा मन्त्रालयका सचिव, मेडिकल काउन्सिलका अध्यक्ष, धरान उपमहानगरपालिकाका प्रमुख, अन्य प्रतिष्ठानका उपकुलपति लगायत ११ जनाले उपस्थित नभएर बहिस्कार
गरेका थिए । बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढाकाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्ले, चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा. दिव्या सिंह, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी, प्रा.डा. विश्वनाथ यादव, प्रा.डा. सञ्जिवकुमार शर्मा, समाजसेवीबाट श्रीमति मञ्जु भण्डारी, राजकुमार ओझा र डा. ज्ञानेन्द्र गिरीको उपस्थिति रहेको थियो । सिनेट बहिष्कार गर्नेहरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. लोकविक्रम थापा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधयक्ष डा. अन्जनीकुमार झा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला, स्वास्थ्य वैज्ञानिक प्रा.डा. गजेन्द्रप्रसाद रौनियार, स्वास्थ्य वैज्ञानिक प्रा.डा. पारस कुमार पोख्रेल र धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई रहनु भएको थियो ।
सम्बन्धन दिएर करोडौ कुम्ल्याउने योजना
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आजका दिनमा आफै एउटा विश्वविद्यालय हो । प्रतिष्ठानले आफ्नै पाठ्यक्रम पढाउँछ, आफै शैक्षिक कार्यक्रम सञ्चालन गर्छ, यसका कुलपति अन्य विश्वविालयको जस्तै प्रधानमन्त्री नै हुन् । यसले आफै दिक्षान्त समारोह पनि आयोजना गर्छ । यसले गर्न नसक्ने कार्य भनेको अन्य मेडिकल कलेजलाई सम्बन्धन दिने कार्य मात्र हो ।
भारतको अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्स जस्तो अवधारणामा खोलिएको हो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । अल इण्डिया मेकिडकल साइन्स मात्र नएर पि.जी. आइ चंडिकढ युस, जी.पी आई लखनौ लगायत संस्थाहरुलाई आजसम्म पनि सम्बन्ध दिने विश्वविद्यालय बनाइएको छैन । सम्बन्धन दिने बाहेक सबै कार्य विश्वविद्यालयकै हैसियतमा उक्त संस्थाहरुले काम गर्छन् । बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत सोही अवधारणामा बनेको नेपालको पहिलो प्रतिष्ठान हो ।
तर डा. गिरीले प्रतिष्ठानलाई सम्बन्धन दिने हैसियतमा लगेर झापाको विएण्डीसी र जनकपुरको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिएर करोडौ कमिशन खाने र आफ्नै स्वामित्वको विराट मेडिकल कलेजलाई समेत सम्बन्धन दिएर आय आर्जनको स्रोत सुनिश्चित गर्ने योजना बनाएको सिनेट बैठकमा अनुपस्थित एक सिनेटरले बताए । अब बीपी प्रतिष्ठान सम्बन्धनको खेलमा महाराजगञ्ज क्याम्पस जस्तै डुब्ने भयो प्रतिष्ठानका एक प्राध्यापक बताउँछन् ।
करोडौको उपकरण र सामाग्री सिधै खरिद
कोरोनालाई कमाउने बाली बनाएका प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारले आफ्ना सल्लाहकार तथा कमिशन एजेन्ट दिलिप भट्टराईलाई लगाएर कोरोना अस्पतालका निम्ति भन्दै विना टेन्डर करोडौको मेडिकल उपकरण र सामाग्री
रातारात खरिद गरेका छन् । धरान र विराटनगरका व्यापारीले चलाएको पसलबाट मात्र उनले त्यस्ता उपकरण र सामाग्री खरिद गर्ने गरेका छन् ।
गत हप्तामात्र खरिद आदेश बिना सल्लाहकार भट्टराईले आफै विराटनगर गएर खरिद शाखाका अधिकारीलाई थाहै नदिई लाखौको सामाग्री खरिद गरेर ल्याएका थिए । भट्टराईलाई सल्लहकार बनाएको हो कि खरिद अधिकारी ? मनोमानी महँगो गेष्ट हाउसमा राखिएको छ । खरिद अधिकरी जस्तो बनाइएको, प्रतिष्ठानको पद्धति नै भत्त्काए उपकुलपतिले, खरिद शाखाका एक कर्मचारी बताउँछन् । यसैबीच बजार मूल्य भन्दा डबल मूल्यमा अर्का व्यापारीबाट डेढ करोडको उपकरण टेन्डर बिना रजिष्ट्रार रेग्मीको योजनामा खरिद गरेको उनले बताए । खरिद गरिएका उपकरणहरुमा २५ लाखको अस्पताल वेड, २० लाखको प्रयोशाला उपकरण, हेमाटोलोजी एनालैजर, २० लाखको Fully automated लाखौको letrolyte analyzer, biochemistry analyzer, १२ वटा एसी, १५ वटा KVA UPS, KVA UPS, १० वटा KVA UPS, १५ Inch Monitor फर्मेसीका विभिन्न अैषधिहरु लगायतका छन । साथै तत्काललाई प्रयोगशालाका सबै सामाग्री किन्ने अडर समेत विना टेन्डर तिनै व्यापारीलाई रजिष्ट्रारले दिएका छन् । यी सबै खरिदलाई सार्वजनिक खरिद ऐन नियम विपरीत टुक्रे खरिदको प्रक्रिया मिलाउन सल्लाहकार भट्टरार्इीले खरिद शाखालाई दबाब दिने गरेको शाखाका कर्मचारी बताउँछन् ।
कोटेशनमा करोडौको निर्माण
कोरोना अस्पताल निर्माण तथा मर्मतको नाममा रजिष्ट्रार रेग्मी र भट्टराइको योजनामा पटक पटक टुक्रे कोटेशन गरेर करोड भन्दा बढीको काम भइसकेको र हरेक कार्य पश्चात नजराना बुझाउनुपर्ने अवस्था रहेको प्रतिष्ठानका एक इन्जिनियरले बताए । सार्वजनिक खरिद ऐन नियमले एकै प्रकृतिको कार्य एकै समय गर्दा टुक्रे खरिद गर्न नपाइने निर्देश गरेको छ । तर यहाँ त करोड नाघिसक्यो, आफै ठेकेदार चयन गर्छन्, मुखैले काम गराउँछन्, कसरी सही गर्ने ? प्रतिष्ठानका सिभिल इन्जिनियर भन्छन् ।
अख्तियारको चासो
यसैबीच प्रतिष्ठानमा भइरहेको अनियमितता सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको ध्यानाकर्षण भएको अख्तियार स्रोतले बतायो । उपकुलपति डा. गिरीको सल्लाहकार भट्टराईले आफ्नो पूर्व हाकिम डा. उपेन्द्र कोइरालाको साइनो लगाएर अख्तियारको धम्की दिने गरेको भए तापनि अख्तियार प्रमुख नविन घिमिरेको यही भाद्र महिनामा अनिवार्य अवकास हुने हुँदा निजको दबाबमा पनि छानविन रोकिने अवस्था नरहेको स्रोतले जनाएको छ ।

