नेपालको चीनसँग जोड्ने ताप्लेजुङ्गको उत्तर दक्षिण लोकमार्गको ट्रयाक खोल्न अब सात किमी बाँकी सामरिक दृष्टिले महत्वपूर्ण मानिएको उक्त सडक निर्माण पश्चात २७० किमी यात्रा गर्दा भारत पुग्न सकिने

फक्तालुङ (ताप्लेजुङ)÷नेपालको चीनसँग जोड्ने प्रदेश नं. १ को पर्यटकीय जिल्ला ताप्लेजुङ्गको उत्तर दीक्षण लोक मार्गको ट्रयाक खोल्न अब सात किमी बाँकी रहेको छ । सामरिक दृष्टिले नेपाल, भारत र चीनका लागि अति महत्वपूर्ण मानिएको उक्त सडक निर्माण पश्चात २ सय ७० किमी यात्रा गर्दा अब उत्तरी चीनको सीमावर्ती क्षेत्रका स्थानीयहरु भारत पुग्न सक्नेछन् ।
नेपाल सरकारले २०६३ सालमा छिमेकी मुलुक भारत र चीनलाई १६ वटा सडक करिडोरबाट जोड्ने योजना अगाडि सारे अनुरुप ताप्लेजुङ्ग जिल्लाको उत्तरी सीमानाका टिप्ताला भन्ज्याङ्ग सम्मको सडक २०६४ सालदेखि उत्तर–दक्षिण लोकमार्गको नाममा ट्रयाक खोल्ने काम शुरु भएको थियो ।
चीनसँग सीमा जोडिएको फक्तालुङ्ग गाउँ पालिकाका वडाध्यक्ष तथा प्रवक्ता छेतेन शेर्पाले दिनु भएको जानकारी अनुसार अब चीनसँग जोड्ने ताप्लेजुङ्ग जिल्लाको उत्तर दक्षिण लोकमार्गको ट्रयाक खोल्न सात किलोमिटर मात्र बाँकी रहेको छ । यो सडक पूरा भएपछि २ सय ७० किमी यात्रा गर्दा चीनबाट भारत पुग्न सकिन्छ । ताप्लेजुङ्ग सिक्किमसँग समेत जोडिएकोले उत्तर दक्षिण लोकमार्गको महत्व अझ धेरै रहेको प्रवक्ता छेतेनको भनाई छ ।


नेपाल र चीनको सीमानाका टिप्ताला भन्याङ्ग सम्मको २३ किमी सडक चीनले ताप्लेजुङ्ग जिल्लाको ओलाङचुङगोलासम्म जोडिदिएको छ । चिनियाँ ठेकेदार र कामदारसँगको सहयोगले चीनकै उपकरण प्रयोग गरी २३ किमी सडक निर्माण भएको प्रवक्ता शेर्पाले बताउनुभयो । नेपाल सरकारले ताप्लेजुङ्गको सदरमुकाम फुङ्गलिङ्ग नगरपालिकादेखि चीनसम्म सीमा जोड्ने फक्तालुङ्ग गाउँपालिकाको लुङ्गथुङ्गसम्मको ७० किमी ट्रयाक खनिसकेको छ । प्रवक्ता छेतेन शेर्पा दोहो¥याएर भन्नुहुन्छ, चिनियाँ उपकरण, चिनियाँ जनशक्ति, चिनियाँ प्राविधिकले टिप्तलादेखि ओलाङचुङगोला सम्मको २३ किमी ट्रयाक गत बर्ष नै निर्माण गरिदिएकोले ओलाङचुङगोला
उत्तरका स्थानीयहरुको चीनसँगको आवातजावत सहज भएको छ ।
काठमाण्डौको एसडी एलाइट निर्माण कम्पनीले हाल थुङ्गलुङ्ग भन्दा माथिको भागमा ट्रयाक खनिरहेको छ र चीनले ओलाङ्गचुङ्गगोलासम्म पनि खनिसकेकोले अब ताप्लेजुङ्गको फुङलिङ नगरपालिकादेखि टिप्ताला भन्याङ्गसम्मको १ सय किमी सडकको ट्रयाक चाँडै खुल्ने उत्तर दक्षिण लोकमार्ग आयोजना प्रमुख रामबहादुर गुरुङ्गले बताउनुभयो । प्रमुख गुरुङ्ग भन्नुहुन्छ ओलाङ्गचुङ्गगोला र लुङ्गथुङ्ग बीचमा सात किमी ट्रयाक खुल्न बाँकी रहेको छ ।


फुङ्गलिङ्ग नगरपालिकादेखि उत्तरका लेलेप, तापेथोक, ओलाङचुङगोला महत्वपूर्ण पहाडी बजार हुन । तिब्बतको डिजे काउन्टी रिउ बजारबाट टिप्ताला भन्ज्याङ्गको दूरी ३० किमी रहको छ भने संखुवासभाको किमाथांकाको दूरी ५० किमी रहेको फक्तालुङ्ग गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाले बताउनुभयो । उहाँ भन्नुहुन्छ ट्रयाकको निर्माण कार्य २०७७ आषाढ सम्ममा सिध्याउने लक्ष्य थियो । तर
कोरोना भाइरसको त्रासदीबाट भएको लकडाउन र बर्षादका कारण केही ढिला हुन गएको छ । उहाँ भन्नुहुन्छ म आफै पनि ट्रयाक निर्माणका लागि एउटा समन्वयकर्ताको रुपमा काम गरिरहेको छु । ट्रयाक सम्पन्न भएपछि झापा जिल्लाको केचनकवल (केचना) देखि आवतजावत सहज हुन्छ । हाल केचनादेखि ताप्लेजुङ्गको सुकेटारसम्मको सडक कालोपत्रे समेत भइसकेको छ । यो सडकले चीन र भारतलाई मात्र नजिक्याउने नभएर काँकडभिट्टा नाकाबाट छोटो दूरीमा रहेको बंगलादेशलाई समेत जोड्न सघाउ पुग्ने प्रवक्ता छेतेनको भनाई छ । उहाँ भन्नुहुन्छ सडक निर्माण नहुँदा समेत चिनियाँ पर्यटक, व्यापारी गोरेटो, घोडेटो मार्गबाट ताप्लेजुङ्ग आउजाउ गर्थे भने सडक निर्माण भएपछि उनीहरुको आवतजावत अझ बढ्ने र ताप्लेजुङ्गको विकासमा टेवा पुग्ने छ ।
यहाँ स्मरणीय कुरा के छ भने चीनले यसभन्दा अगाडि नै नेपालसँगको सीमा नाका टिप्ताला भन्ज्याङ्ग सम्मको
मोटर बाटो बनाई सकेको हुँदा ओलाङ्गचुङ्गगोलासम्मका स्थानीयहरु चीनको डिजे काउन्टी रियु बजारसम्म गएर व्यापारिक, घरायसी सामानहरु खरिद विक्री गर्छन् ।

तपाईको प्रतिक्रिया