धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक हप्ता अगाडि उपकुलपति डा. ज्ञानेन्द्र गिरीको पिए ? सल्लाहकारको नियुक्ति लिएर आएका अर्घाखाँचीका नेकपाका झोले कार्यकर्ता दिलिप भट्टराईले टन्न रक्सी खाएर शुक्रबार राति १२ बजे ड्युटीमा रहेका प्रतिष्ठानका जिआर, नर्सहरुमाथि दुव्र्यवहार गरेका छन् ।
उपकुलपति डा.गिरीको सल्लाकार हुँ भन्दै रातको समयमा कोरोना अस्पतालमा ड्युटीमा खटिएका माथि दुव्र्यवहार भएपछि प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारीहरुले निजमाथि कारबाहीको माग गरेका छन् । पावरको आडमा निजले आफूहरुमाथि ड्युटीमै हुँदा दुव्र्यवहार गरेको भन्दै आक्रोस समेत व्यक्त गरेका छन् ।
प्रतिष्ठान स्रोतले दिएको जानकारी अनुसार अर्थोपेडिक्सका जिआर र नर्सहरु शुक्रबार राति आइसोलेसन वार्डमा ड्युटीमा रहेका थिए । एक्कासी टन्न रक्सीले मातेर आएका उनले रातको १२ बजे आइसोलेसनमै पुगेर दुव्र्यवहार गरेपछि तत्काल उनीहरुले कोरोना टिममा आवद्ध उपकुलपति डा. ज्ञानेन्द्र गिरी, कोरोना अस्पतालका प्रमुख डा. सञ्जिव शर्मा, अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई फोन गरे पनि कसैको फोन उठेन । आफूहरुमाथि भएको दुव्र्यवहारलाई लिएर उनीहरुले प्रतिष्ठान प्रशासनलाई लिखित उजुरी दिने बताएका छन् ।
शुक्रबार राति झापाको कचनवल गाउँपालिकाबाट ल्याइएका २७ जना कोरोना संक्रमितलाई आवश्यक समन्वयको अभाव देखाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नलिँदा विरामीहरुको हो–हल्ला एकातिर थियो भने अर्कातिर भट्टराईको दुव्र्यवहारले चिकित्सक तथा नर्स तनावमा परेका थिए । प्रतिष्ठानका एक चिकित्सक भन्छन् पब्लिक हस्पिटलमा सात दिन अगाडि नियुक्ति लिएर आएका पिए हुन कि सल्लाहकार हुन टन्न रक्सी खाएर कोरोना हस्पिटलमा खटिएका चिकित्सक तथा नर्सहरुलाई गाली वेइज्जत गर्नु कत्तिको न्यायोचित हो ? कोरोनाका विरामी राति आए त्यसको व्यवस्थापनको जिम्मेवारी कस्को हो ? विरामी ल्याउन कस्ले समन्वय गरेको हो ? कचनवल गाउँपालिका भन्छ हामीले समन्वय गरेर पठाएका हौं । त्यसो भए प्रतिष्ठानले समन्वय किन गरेन ? जिम्मेवारी कस्को हो ? भिसीको हो कि, अस्पताल निर्देशकको हो कि, कोरोना डाइरेक्टर बनाइएका सञ्जिव शर्माको हो ?
विरामीहरु त्यसै बाहिर खुल्ला रुपमा बस्दा कहाँ कहाँ पुगे ? बाहिर दिसा पिसाव गर्ने ठाउँ थिएन । उनीहले बाहिरै दिसा पिसाव गरे । रातभरि भोकै बसे । त्यसको जिम्मेवारी कस्ले लिने ? त्यसरी रातभरि बस्दा कतिमा संक्रमण फैलियो होला ? शुक्रबार राति १०ः३० बजे आएका विरामीहरुलाई शनिवार विहान ७ बजे प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे विराटनरबाट आएपछि मात्र भर्ना लिइएको थियो । मन्त्री घिमिरेले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो प्रतिष्ठानको चरम लापारबाही देखियो । उहाँले विभागीय प्रमुख र पदाधिकारीहरुसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
यहाँ स्मरणीय कुरा के छ भने विहीबार भएको छलफलमा समेत प्रतिष्ठानका उपकुलपति गिरीले आफूहरुसँग २ सय वेड तयारी अवस्थामा रहेको बताएका थिए । त्यसै आधारमा झापाबाट धरान पठाउँदा फोकल पर्सनलाई सूचना दिएको भएपनि रातभरि विरामीलाई भर्ना नगरी बाहिरै राखेकोमा पनि मन्त्री घिमिरेले आपत्ति जनाउनुभएको थियो । हाल प्रतिष्ठानको आइसोलेसनमा ६७ जना रहेका छन् भने झापाबाट ल्याइएका २७ जना गरी ९४ जना पुगेका छन् ।
