धरान÷ धरान उपमहानगरपालिकाले संरक्षित मानेको शेरा खोलामा अवैध रुपमा ढुंगा बालुवा उत्खनन् हुन थालेपछि धरान उपमहानगरपालिकाले त्यसमा निगरानी शुरु गरेको छ ।
अवैध रुपमा निकालिएको ढुंगा गिट्टी बालुका कारण शेरा खोला खतराको संकेत बढेको भन्दै संरक्षण गरेको क्षेत्रमा जथाभावि ढुंगा गिटी बालुवा निकाल्ने काम भएपछि धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको टोली त्यहा पुगेर खोलाको वास्तविकता बुझेका थिए ।
अनुगमनका क्रममा इटहरी उपमहानगरपालिकाको क्षेत्रमा रहेको खोलाजन्य वस्तु निकाल्ने ठेक्का लिएका ठेकेदारले अवैध रुपमा धरान उपमहानगरपालिका क्षेत्रको खोलामा उत्खनन गरेको पाइएको छ । ठेकेदार कम्पनीले इटहरी क्षेत्र भन्दा करिब १ किलोमिटर धरान तर्फको क्षेत्रमा उत्खनन् गरेको पाइएको हो ।
इटहरीको क्षेत्रमा पर्ने सेहरा खोलाको भागबाट ढुङ्गा, बालुवा उत्खनन् गर्न ठेक्का लिएको पाथीभरा कन्स्टूक्सनले धरान क्षेत्रबाट २८ हजार ९ सय ३ घनमिटर क्षेत्रफलमा अवैध रुपमा उत्खनन् गरेको हो । इटहरी र धरानको सिमा क्षेत्रमा पर्ने धरान ६ स्थित पानवारी सामुदायिक वन उपभोक्ता समुहको नजिकै रहेको सेहरा खोलामा धरानले संरक्षित क्षेत्र घोषणा गरेको भएपनि अवैध रुपमा उत्खनन भएपछि नगरपालिकाको ध्यानाकर्षण भएको धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बताउनुभयो ।
उत्खनन् भएको क्षेत्रमा धरान उपमहानगरपालिकाले त्यस क्षेत्रबाट कुनै पनि खोलाजन्य वस्तु उत्खनन नगर्ने भन्दै ठेक्का पनि लगाएको छैन् । इटहरी क्षेत्रमा ढुङ्गा, गिटी नपाए पछि धरान तर्फको क्षेत्रमा उत्खनन् गरेको पाथीभरा कन्स्ट्रक्सनका सञ्चालक जीवन न्यौपानेले स्वाकार्नु भएको छ । इटहरीले आइइ गरेको क्षेत्रमा ढुङ्गा बालुवा नआउने भए पछि धरान तर्फको क्षेत्रमा उत्खनन् गरेको ठेकेदार ठेकेदार न्यौपानेले बताउनुभयो ।
धरानकी उपमेयर मञ्जु भण्डारी सहितको टोलीले विहिबार उत्खनन् भएको क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । इटहरीले ठेक्का लगाएपनि ठेकेदार कम्पनीले धरानक्षेत्र मिचेर उत्खनन् गरिरहेको पाएपछि ३ वटा टिूपर र एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । गाडीहरु अहिले पनि इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा राखिएको छ ।
