राजनैतिक दलमा अनुशासन भएन भने त्यसले मुलुकलाई अनिर्णको बन्दीमात्र होइन अद्योगतितर्फ धकेल्छ ।
पछिल्लो पटक नेपाली काँग्रेसमा चरम अनुशानहीनता देखिएको छ । कम्युनिस्टहरु दुई तिहाइको वहुमत लिएर सत्तामा बसेका छन् । संसद प्रतिपक्षीविहीन जस्तो भएको छ । प्रतिपक्षीको भूमिका कमजोर बन्दै गएको छ । जनताका अधिकारहरु स्थापित गराउन प्रतिपक्षीले जनताका आवाजहरुलाई संसद र सडक दुवैतिरबाट उठाउनुपर्छ जसले गर्दा सरकारले ती आवाजहरुलाई स्थापित गर्न सकोस् ।
भर्खरै मात्र रिक्त राष्ट्रिय सभाको १९ सदस्यमध्ये १८ सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा नेपाली काँग्रेसले एक सिट समेत प्राप्त गर्न सकेन । आफ्नै सभासदले समेत वा नेपाली काँग्रेसका सभासदले समेत नेपाली काँग्रेसलाई मतदान गरेनन् । यसलाई पार्टीभित्रको अनुशासनहीनताको पराकष्ट नमानेर के मान्ने ? माघ ९ गते भएको प्रदेश नं. १ को विराटनगरको चुनावी नतिजा सम्पूणं रुपले नेकपाको पोल्टामा पुग्यो । त्यस निर्वाचनमा प्रदेश सभामा नेपाली काँग्रसका २१ जना प्रदेशसभा सदस्य मतदा गरे । तर दुई जना नेपाली काँग्रेसका सभासदले नेकपालाई मत दिए ।
यस्तो विसम परिस्थितिमा आफ्नै सभासदहरुले अर्को दललाई भोट दिन्छ् भने नेपाली काँग्रेसभित्रको अनुशासन कुन हदसम्म गुज्रदै छ भन्ने कुरा स्पष्ट भएको छ । भलै प्रदेशमा भएको उक्त निर्वाचनबाट नेपाली काँग्रेसले जित्ने अपेक्षा कसैले गरेका थिएनन् । तर आफ्नो मत अरु दललाई जान्छ भन्ने कुरा उनीहरुले सोचेका पनि थिएनन् । पार्टीभित्र अनुशासन कायम गराउने, पार्टी पद्धति र सस्कार अनुसार कार्यकर्तालाई हिडाउने जिम्मा नेतृत्वको हो । तर नेतृत्व आफै यो दायराभन्दा बाहिर गएको देखिन्छ । प्रदेशसभा सदस्यजस्तो व्यक्तिले पार्टीको उमेद्वारलाई मत दिँदैन भने नेपाली काँग्रेस कुन हदसम्म गुज्रदै छ भन्ने कुरा प्रष्ट हुन्छ । नेपाली काँग्रेस नेपालको सबैभन्दा
पुरानो पार्टी हो । यसले राणा, राजालाई तह लगाएको भन्दै भाषण ठोक्नुको औचित्य अब देखिदैन ।
नेपाली काँग्रेसभित्रको चरम अनुशासनहीनताले पार्टीलाई झन झन कमजोर बनाउदै लगेको छ । हिजो अर्थात २०७४ सालको स्थानीय निर्वाचन, प्रदेश सदस्य निर्वाचन र संघको निर्वाचनमा नेतृत्वको नालायकी पनले काँग्रेस नराम्ररी थला परेको छ । स्थानीय तह काँग्रेसको शुन्य प्रायः जस्तै भएको छ, प्रदेशमा कहीँकतै काँग्रेसले अन्य दलहरुसँग समेत मिलेर सरकार बनाउन अवस्था छैन भने संघमा काँग्रेस शिला खोज्नुपर्न अवस्थामा पुगेको छ । नेपाली काँग्रेसभित्रको गुट उपगुट र वर्तमान नेतृत्वको अक्षमताले गर्दा आगामी दिनमा समेत काँग्रेसले गति लिएला भन्ने कुरामा आज आम कार्यकर्ताहरु विश्वस्त हुन सकेका छैनन् । यस्तो किसिमको संकेत देखिएको पनि छैन । नेपाली काँग्रेस आफैभित्र हराउँदै गएको छ । आफैभित्र रुमलिएको छ । आफैभित्र सत्ता र प्रतिपक्षको अवस्थामा देखिएको छ । आफ्नैका खुट्टा तान्ने प्रवृत्ति मौलाएको छ । जसरी हुन्छ पार्टी कब्जा गर्ने ध्याउन्नमा नेतृत्व हिडेपछि आगामी दिनमा समेत नेपाली कांग्रेस सवल र सुदृढ होला भनेर कसरी पत्याउने ?
अब लाचारी, दिशाहीन, अदुरदर्शी नेतृत्व काँग्रेसमा स्थापित हुनुहुँदैन । हरेक भ्रष्टाचारको मुद्दामा जोडिएको, दंगदंती गन्हाएको नेतृत्वलाई आम इमान्दार कायकर्ताले बहिष्कार गर्न सक्नुपर्छ । नेपाली काँग्रेसमा सुद्धिकरण अभियान चलाउनुपर्छ । नेतृत्व आउन चाहनेहरुको उमेरको हद तोकिनुपर्छ । छलकपट, आर्थिक प्रलोभनबाट स्थापित हुने नेतृत्वले काँगेस अब सवल र सुदृढ हुन सक्दैन ।
