अरुबाट सकारात्मक जवाफ पाएको छु , मेरो जित सुनिश्चित छ,–मीना पुलामी

मीना पुलामी । झण्डै चार दशकदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आउनु भएकी धरानकी मीना पुलामीलाई यसपटक नेपाली काँग्रेसले महिलातर्फबाट राष्ट्रिय सभाको उमेद्वार बनाएको छ ।
महिला तथा बालबालिकाको क्षेत्रमा मात्र नभएर दुई दर्जन भन्दा बढी सामाजिक संघ संस्थाहरुमा सक्रिय पुलामी नेपाली काँग्रेसको नेतृ समेत रहनु भएको छ । वि.सं. २०३६ सालदेखि पारिवारिक प्रभावमा नेपाली काँग्रेसप्रति आवद्ध पुलामी नेपाली काँग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि समेत रहनु भएको छ । राजनीति र समाज सेवामा समान रुपमा समर्पिति रहनु भएकी पुलामीले पार्टी गतिविधिमा आवद्ध भएको चार दशकसम्म कुनै लाभको पदको अपेक्षा गर्नुभएन ।
पार्टी विधि, विद्यान अनुरुप एवम् नेतृत्वको निर्देशनलाई सर्वोपरी मानी संगठन विस्तार, सामाजिक कार्यबाट महिला बालबालिकाहरुको रुपान्तरणमै आफूलाई समर्पित गराई रहनु भयो । सामाजिक कार्यमा उहाँको सक्रियता र
राजनीतिमा उहाँको इमान्दरिता देखिेर अन्य राजनैतिक दलहरुले समय समयमा उहाँलाई दिएका अनेकौ प्रलोभनहरुले कहिल्यै लोभ्याउन सकेन । प्रलोभन दिने हरेकलाई उहाँको एउटै जवाफ हुने गर्दथ्यो ‘राजनैतिक आस्थाको मेरो केन्द्र विन्दु नै नेपाली काँग्रेस हो ।’ सायद उहाँको त्यही प्रतिबद्धता, निष्ठा, इमान्दारिता एवम् सक्रियतालाई नै यसपटक नेपाली काँग्रेसले उहाँप्रति न्याय गरेको हुनुपर्छ, सम्मान गरेको हुनुपर्छ । उहाँलाई राष्ट्रिय सभाको उमेदवारी दिएर पार्टीप्रतिको उहाँको त्यागको मूल्यांकन गरेको छ । भोलि माघ ९ गते हुने निर्वाचनमा प्रदेश नं. १ मा नेपाली काँग्रेसको मतभार कमजोर देखिए पनि उहाँ आफ्नो जितप्रति सुनिश्चित देखिनुहुन्छ । यसपटक हामीले सामाजिक अभियन्ता तथा नेपाली काँग्रेसकी जुझारी नेतृ पुलामीसँग उहाँको उमेद्वारी, निर्वाचन आदिमा केन्द्रित भएर वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः

तपाइलाई भोलि माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभाको सदस्यको निर्वाचनमा नेपाली काँग्रेसले उमेद्वार बनाएको छ । आफ्नो उमेद्वारीप्रति तपाईलाई कस्तो अनुभूति भइरहेको छ ?
–पहिला त म पार्टी नेतृत्वलाई धन्यवाद दिन चाहन्छु । राष्ट्रियसभा सदस्य एउटा सम्मानित पद हो । विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका व्यक्तिहरुलाई राष्ट्रिय सभामा स्थान दिइन्छ । झण्डै चार दशक देखि समाजसेवा र पार्टीमा पु¥याएको योगदानको मेरो सन्दर्भमा उचित मुल्यांकन गरेको मैले अनुभूति गरेको छु । इमन्दारिता पूर्वक, प्रलोभनमा नफसी काम गर्दा एकदिन मूल्यांकन हुँदो रहेछ भन्ने मलाई लागेको
छ । पार्टीले आफूलाई राष्ट्रिय सभाको लागि योग्य देख्नुले अझ जिम्मेवारी पनि थपिएको मैले महसुस गरेको छु ।
तपाइलाई पार्टीले योग्य कसरी देख्यो ? नेपाली काँग्रेसमा धेरै योगदान दिएकाहरु पनि छन् हैन र ?
–हो तर पनि मेरो योगदान पनि कम छैन । मेरो ससुरा कुलबहादुर पुलामीले नेपाली काँग्रेसमा पु¥याउनु भएको इतिहास आज धरानका धेरैलाई थाहा नहुन सक्छ । तर त्यो इतिहास नेपाली काँग्रेसका प्रतिन्धित अवस्थामा जिल्ला सचिव, पूर्व महासमिति सदस्य, साहित्यकार एवम् पत्रकार गिरिराज आचार्यसँग अधावधि छ । उहाँले त्यो इतिहासलाई सुरक्षित राख्नु भएको छ । अहिलेका युवा पुस्ताहरुलाई कुलबहादुर पुलामीका बारेमा जानकारी नहुन सक्छ । तर पुराना पुस्तालाई त्यसको भलिभाँति थाहा छ । मेरो ससुरा कुलबहाुर पुलामीकै प्रेरणाले वि.सं. २०३६ देखि नेपाली काँग्रेसमा आवद्ध भएको हुँ । कहिल्यै पार्टीको नीति, आदर्श र निष्ठाबाट विचलित भइन । शायद पार्टीले यसैलाई मेरो सन्दर्भमा मापदण्ड तय गरेको हुनुपर्छ ।
तपाइलाई यसभन्दा अगाडि धेरैले प्रलोभन दिन आएको भन्ने सुनिएको छ, हो ?
–हो । मलाई धेरैले प्रलोभन दिन आएका थिए । तपाइलाई महिला विभागको उच्च पदमा
राख्छौं पनि भने । कसैले तपाई महिला, बालबालिकाको क्षेत्रमा यत्रो काम गर्नुभएको छ । तपाईलाई आफ्नै पार्टीले मुल्यांकन
गरेको देखिएन । आउनुस दिदी हाम्रो पार्टीमा समेत भने ।
त्यसरी भन्न को को आएका थिए, विगतमा ?
–अब नामै त कसरी भनौ । तर पनि त्यस्ता धेरै मानिस विभिन्न पार्टीबाट आउनु भएको थियो । हाल स्वर्गिय हुनुभएका ध्यानबहादुर राई पनि एक हुनुहुन्थ्यो ।
धरान उपमहानगर पलिकाको पूर्व प्रमुख समेत रहनु भएका राई एमालेमै हुँदा आफ्ना केही साथीहरु सहित आउनु भयो । उहाँले मेरो सक्रियता, इमान्दारिता देखेर त्यस्तो प्रलोभन दिँदा मैले भनेकी थिए मलाइ नेपाली काँग्रेस छाडेर कहीँ जानु छैन । मैले परिवारको इतिहासलाई पनि जीवन्त राख्नुपर्छ । म अरु जस्तो प्रलोभनमा वहकिने महिला हैन भनेर जवाफ दिँदा उहाँ रिसाउनु पनि भएको थियो । घरमा आएको अतिथिलाई सामान्य कट्सी मेन्टेन्स गर्न चिया खुवाउने हामो परम्परा छ । त्यसदिन मैले चिया दिँदा हउाँले खान्न भनेर हिड्नु भएका थियो । शायद उहाँको कुरा मनिदिएको भए उहाँ त्यसरी रिसाएर हिड्नु हुने थिएन ।
उहाँ त्यसरी कहिले आउनु भएको थियो ?
–उहाँ नेपाली काँग्रेसको १२ औं महाधिवेशन अगाडि आउनु भएको थियो ।
अरुले पनि त्यस्ता प्रलोभन दिए ?
–कति आए आए । कसैले तपाई यति सक्रिय जनजाति चेली हुनुहुन्छ । काँग्रेसमा बसेर केही हुँदैन आउनुस सम्म भने र तर कसैको प्रलोभनले मलाई लोभ्याउन
सकेन । म कहिल्यै डगिनँ ।
२०३६ सालदेखि अहिलेसम्म आइपुग्दा तपाइले नेपाली काँग्रसको महत्वपूर्ण पदहरु के के सम्हाल्नु भयो ?
–मैले त्यस्तो महत्वपूर्ण जिम्मेवारी केही पनि पाइन । कहिल्यै आकांक्षा पनि
जागेन । एक पटक महाधिवेशन प्रतिनिधि चाहिँ भएँ ।
कति सालमा ?
–१२ औ महाधिवेशनमा । त्यो पद पनि यहाँ साथीहरुले स्वेच्छाले दिनु भएन । मैले पनि मरिहत्ते गरिन । पछि के भयो भने त्यसबेला म राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ समन्वय परिषद्को सुनसरी अध्यक्ष थिएँ । म त्यसबेलाको संस्थापक अध्यक्ष थिएँ । यो चाहिँ मीना पुलामी जस्ती जागरुक महिलालाई पार्टीले उपेक्षा गरेकै हो भनेर इन्द्रबहादुर गुरुङ्ग जो त्यसबेला आदिवासी जनजातिको संयोजक हुनुहुन्यो । उहाँले फोन गरेर लौ मीना बहिनी फोटो नागरिकता लिएर तुरुन्तै काठमाण्डौ आउनुस् भन्नुभयो । म पनि त्यसै अनुसार काठमाण्डौ गएँ । उहाँकै पहलमा म मनोनित महाधिवेशन प्रतिनिधि भएँ । त्यही थियो मैले पार्टीको महत्वपूर्ण जिम्मेवारी पाएको ।
तपाइले पनि पार्टीसँग जिम्मेवारी माग्नु भएन हैन ?
–हैन मैले किन माग्ने ? मैले एउटा मागेको थिए गएको २०७४ सालको चुनावमा । मैले पनि उपमेयरको प्रत्यासी हुन चाहेको थिएँ । त्यसबेला श्यामा रेग्मीलाई पार्टीले दियो । उहाँले पनि पार्टीमा धेरै योगदान दिनु भएको छ । उहाँलाई पार्टीले उमेद्वारी बनाइसकेपछि त्यसलाई स्वकार्नु
पर्छ । पार्टीका इमान्दार कार्यकर्ता पार्टी निर्णय विपरीत जाने कुरा आउँदैन । आफूले आकांक्षा राख्नु एउटा कुरा हो । त्यसबेला मलाई कतिले उक्साए तपाई स्वतन्त्र उठ्नुस दिदी पनि भने । तर म पार्टीको निर्णय विपरीत जानेवाला थिइन र गइन । यस पटकको स्थानीय निर्वाचन अर्थात धरान उपमहानगरपालिकाको उप निर्वाचनमा मैले प्रमुखको आकांक्षा राखेको थिएँ । मैले आफ्नो नाम नगर र क्षेत्रमा दिएको थिएँ । तर पछि साथीहरुले यस पटक विवाद नगरौ, एउटै नाम सर्वसम्मत ढंगले पठाऔ भन्ने कुरा भयो तिलक राई, पर्वत राईले घरैमा आएर आग्रह गर्नुभयो । त्यसपछि ठिकै छ त म छोडिदिन्छु । हामी बीचमा विवाद हुनुहुदैन । हाम्रो लक्ष्य निर्वाचन जित्ने हुनुपर्छ भनेर मैले लालकिल्ला तोड्न छाडिदिएँ । इतिहास बनाउनुपर्छ भनेर मैले त्यसबेला छाडेको हुँ । जसका कारण धरानमा नेपाली काँग्रेस विजयी भएको छ । तिलक राइ धरान उपमहानगरपालिकाको प्रमुख बन्नु भएको छ । यो विजयी भनेको नेपाली काँग्रेसको मात्र नभएर सम्पूर्ण धराने जनताको हो ।
तपाइले अहिले टिकट पाउनु भएको छ । नेपाली काँग्रेसमा अरु पनि धेरै आकांक्षीहरु थिए । तपाइलाई नै पार्टीले टिकट किन दिए जस्तो लाग्छ ?
–मलाइ नै किन दिएको जस्तो लाग्छ भने चार दशकदेखि समाजसेवा र पार्टीप्रति इमान्दार भएरै होला । यत्तिका बर्षदेखि नेपाली काँग्रेसमा एकोहोरो दौडिरहनु भएको छ, दर्जन भन्दा बढी संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ भनेर मूल्यांकन गरेको होला । मैले भन्नुपर्दा धरानमा महिलाहरुको अधिकारका लागि र महिलाहरुलाई न्याय दिने काम अरुले गर्न सकेका छैनन् जति मैले गरेको छु । झण्डै तीन सय महिलालाइ अन्याय पर्दा मैले न्याय दिलाउने काम गरेको छु । म पारालिगलको जिल्ला उपाध्यक्ष, धरान उपमहानगरको अध्यक्ष भएर काम गरेका छु । दुई तीन महिनामा हामीले न्यायको क्षेत्रमा के के काम गरेउँ भनेर रिपोट दिनुपर्छ ।
निर्वाचन भोलि हुँदैछ । तयारी कस्तो गर्दै हुनुहुन्छ ?
–तयारी गर्दैछु । मैले मात्र नभएर पार्टीगत रुपमा साथीहरुले पनि सक्रियता बढाउनु भएको छ । अन्य पार्टीका साथीहरुसँग पनि भोट मागेको छु । अधिकांश अन्य दलका मतदाताहरुलाले तपाई ढुक्क हुनुहोस भनेका छन् ।
अन्य पार्टीका मतदाताहरुबाट कस्तो आश्वासन पाउनु भएको छ ?
–अरुबाट सकारात्मक जवाफ पाएको छु ।
तपाइलाई अन्य दलका मतदाताले मत दिन्छन भन्ने कुरामा कत्तिको विश्वास छ ?
–मलाई विश्वास छ ।
आधार के ?
–आधार के भने म एउटा जनजाति हुँ । बर्षौदखि महिला तथा बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दे आएको छु । मैले धेरै अनुभव बटुलेको छु । राष्ट्रिय सभामा अनुभव बटुलेकाहरु पनि
पुग्नुपर्छ । त्यसैले गर्दा मलाई सबैले माया गरेर भोट दिनुहुन्छ । म विजयी हुन्छु ।
क्रसिङ भोट होला ?
–गोप्य मतदानमा मतदाताले आफ्ना असुन्तुष्टि पोख्छन् । यस भन्दा अगाडि पनि यस्तो देखिएको थियो । मैले जो जोसँग भोट मागेको छु अन्य दलका साथीहरुसँग उहाँहरुबाटै अयन्तै सकारत्मक जवाफ पाएको छु ।
अहिलेसम्म कुन कुन दलसँग एप्रोच राख्नुभएको छ ?
–मैले पूर्व एमालेका साथीहरु, पूर्व माओवादीका साथीहरु, राप्रपा, संघीय लिम्बुवान मञ्चसँग सम्बन्ध बनाएको छु । कतिपय ठाउँमा मगर, राई मतदाता पनि हुनुहुन्छ । म मगरकी बुहारी हुँ र राइको छोरी हुँ ।
त्यस नाताले पनि तपाई विजयप्रति ढुक्क हुनुहुन्छ ?
हो । यसले पनि मलाई धेरै काम गर्छ ।
विजयप्रति त्यसो भए ढुक्क हुनुहुन्छ ?
–म पूर्ण रुपमा विश्वस्त छु । किनभने मलाई भित्रैेदेखि विश्वास लागेर आएको छ ।
राष्ट्रिय सभामा निर्वाचित हुनुभयो भने तपाई धरानका लागि के गर्नुहुन्छ ? सांसदमात्र भएर काठमाण्डौ बस्ने हो कि केही गर्नुहन्छ ?
–म एकैपटक सांसद हुने होइन । बर्षौदेखि मैले ग्रास रुटबाट काम गर्दे आएको मान्छे हुँ । म राष्ट्रिय सभाको निर्वाचनमा विजयी भए भने धरानका रहेका वडामा कार्यक्रम ल्याउछु ।
कस्ता कार्यक्रम ल्याउनुहुन्छ ?
–महिला बालिकाका क्षेत्रका काम गर्ने गरी । मलाई लाग्छ यसमा म बजेट ल्याउन सक्छु ।
महिला बालबालिकाको क्षेत्रमा धरानमामात्र काम गर्ने गरी बजेट ल्याउने हो कि प्रदेश नं. १ मै ल्याउने ? तपाई प्रदेश नं १ बाट उमेद्वारी बन्दै हुनुहुन्छ हैन र ?
–पहिला धरानमा ल्याउछु । त्यसपछि प्रदेशका विभिन्न ठाउँका लागि ल्याउछु । पहिलो प्राथमिकता त धरान हो । म पहिला मगर महिला सघको १ न. पदेशको अध्यक्ष पनि हुँ । त्यसैले गर्दा १४ वटा जिल्ला म सँग छ । त्यसले गर्दा राष्ट्रिय सभाको सदस्य उमेद्वारी पाएकोले मलाई १४ वटै जिल्लाबाट समर्थन हुन्छ । मलाई विश्वास छ म विजयी हुन्छु ।
तपाइ चुनावमा उठ्दै गर्दा आफ्ना सम्पूर्ण मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
–म सबैलाइ भन्छु तपाईहरु आफ्नो अमूल्य मत दिएर विजयी गराउनुस म काम गर्छु । म कुनै गलत काम गर्दिनँ । आज मेरो कामले गर्दा नै सबैले मन पराएका पनि छन् । भोलिका दिनमा कसरी अगाडि बढ्ने सबैसँग सरसल्लाह गरेर नै अगाडि बढ्छु ।
तपाइको निर्वाचनलाई लिएर निजी धारणा के छ त ?
–मेरो निजी धारणा के चाहिँ हनुपर्छ र ? आज धरानमा राम्रो भएको छ । यसपटक नेपाली काँग्रेसले विजय हासिल गरेको छ । मलाई कमाउनु छैन । छोराहरु युकेमा छन् । आमा यही आएर बस भन्छन् उनीहरुको दुई तीनवटा घरहरु छन् तर म
धरानमा केही गरौ भनेर धरान छाँड्न सकेको छैन र छोड्दिन पनि । मलाई धरानै मन पर्छ । यहीको धुलो माटो मन पर्छ । मैले समाजमा एउटा छुट्टै प्रकारको छाप छोड्नुपर्छ भन्ने लाग्छ । (आफ्ना घरका भित्ताहरुमा राखिएको मदर टेरेसा, बीपी, गणेशमानसिंह, सुवर्ण शमशेर लगायतको तस्विर देखाउँदै) जसरी उहाँहरुले एउटा छाप छोडेर जानु भएको छ ।
अरु केही छ ?
–त्यस्तो केही छैन । भोली हुने निर्वाचनमा मेरो कामको मुल्यांकन गरिदिनु हुन सबैमा आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया