राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा कविसँगै स्रस्टाहरु सम्मानित

धरान÷पुरानो पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन हाम्रो अभियान भन्ने नाराका साथ कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औ जन्म जयन्तिका आवसरमा कवि शिरोमणि साहित्य साधना समाज धरानले शनिवार आयोजना गरेको राष्ट्रव्यापी खुल्ला प्रतियोगितामा कविसँगै तीनजना श्रष्टाहरु समेत पुरस्कृत एवम् सम्मानित भएका छन् ।
सम्मानित एवम् परस्कृत हुने श्रष्टाहरुमा वीरेन्द्रसिंह थापा, टीका आत्रेय र मिलन साह रहेका छन् । आफना माता पिताका नाममा सारा प्रतिष्ठान स्थापना गरी गरिब तथा असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, विविध साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका थापालाई १० हजार राशीको सिद्धिकर्ण भागिरथी पुरस्कार सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी गजल, कविता तथा कथाको माध्यमबाट समाजमा सकारात्मक योगदान दिएको भन्दै टिकाप्रसाद वस्ती र कविता तथा गजल लेखक मिलन साहलाई बराह ज्वेलरी दलित पुरस्कारबाट सम्मानित गरिएको थियो । उहाँहरुलाई जनही १० हजार राशी सहित दोसला ओढाइएको थियो ।
राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा मुलुकभरिका १५ जना कवि तथा कवयित्रीहरुका रचना छनौट भएका थिए । जसमा इटहरी सुनसरीका योगेन्द्र पराजुलीको धन शीर्षकको कविताले प्रथम पुरस्कार हात पारेको थियो । यसैगरी पर्वत जिल्लाबाट प्रतिष्पर्धामा सहभागी हुन आउनु भएका तारानाथ पराजुलीको मेरो देश शीर्षकको कविता दोस्रो र स्याङ्जाका सत्कार रेग्मीको मेरो स्वर्गसरी देश शीर्षकको कविता तेस्रो भएको थियो । प्रथम हुने पराजुलीले ११ हजार नगद र प्रमाणपत्र, द्वितीय हुने पराजुलीले ७ हजार नगद र प्रमाणपत्र तथा तृतीय हुने रेग्मीले ५ हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । सम्मानित श्रष्टा एवम् कविहरुलाई प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारी र समाजका अध्यक्ष सिद्धिकर्ण शर्माले पुरस्कार सहित दोसल्ला ओढाउनु भएको थियो ।
कविता प्रतियोगितामा सात्वना पुरस्कार महेन्द्रनगर कञ्चनपुरका डा. नविन भट्टले प्राप्त गर्नुभएको थियो । उहाँले ३ हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । प्रतियोगितमा एकराज थापा, कमल चेम्जोङ्ग, केशव काफ्ले, ज्ञानबहादुर पाण्डे, नविन महर, नारायण मुठवरी, नेत्र रिजाल, युवराज भण्डारी, रितु खनाल, रोशन तिम्सिना, संयोग बस्याल, भीमसेन याख्खाले समेत कविता वाचन गर्नुभएको थियो । समाजका अध्यक्ष सिद्धिकर्ण शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. टंक न्यौपाने, भवानी शंकर भट्टराई, प्रा. रमेश घिमिरेले पनि बोल्नु भएको थियो भने सञ्चालन डा. महानन्द तिम्सिनाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया