धरान÷१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत तेक्वान्दोमा स्वर्ण पदक जित्न सफल धरानकी सिना लिम्बू मादेनलाई धरानमा भव्य स्वागत गरिएको छ ।
सोमबार धरान–१५ स्थित बगरकोटमा जम्मा भएका स्थानीयबासीले मादेनलाई स्वागत गरेका हुन् । स्थानीयले गरेको स्वागतबाट हर्ष विभोर भएकी उनले भनिन्,‘खुशीको कु्नै सिमा नै छैन, यसरी स्वागत र माया पाउँदा मलाई अझै जिम्मेवारी थप भएको महसुस भएको छ । उनले भनिन्, ‘मेडल जित्दा असाध्यै खुशी थिएँ, अहिले आफ्नो ठाउँमा स्वागत पाउँदा गर्व महशुस भइरहको छ ।’ धरान–५ निवासी सिनाको बुबा नविनचन्द्र लिम्बू आफै पनि तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी हुन् । सिनाको दुई दिदीहरु रितु मादेन र ऋचा मादेन पनि तेक्वान्दोका राष्ट्रिय खेलाडी नै हुन् । सिना भने परिवारकी कान्छी छोरी हुन् । धरान उपमहानगरवडा नं ५ का वडाअध्यक्ष सन्तोष लिम्बूले देशको लागि स्वर्ण पदक जित्ने खेलाडी आफ्नो वडाबासी भएकोले वडा कार्यालयले पनि भव्य रुपमा कार्यक्रम गरेर उनलाई स्वागत तथा सम्मान गर्ने बताए । उनका बुवा नविनचन्द्रले भने, ‘छोरीले मेरो मनको चाहना पुरा गरिदिइन्, खुशी छु, अन्तराष्ट्रिय प्रतियोगितामा छोरीले स्वर्ण जितेपछि खुशी छु, यो खुशी धरान र नेपालकै लागि गर्व गर्ने विषय हो ।’
