धरान÷सुनसरी जिल्ला वडी विल्डिङ संघ धरानले धरान उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख तिलक राई सहित तीन जनालाई सम्मान गरेको छ ।
संघले शनिवार एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित प्रमुख राई सहित भारतमा भएको बडी विल्डिङ प्रतियोगितामा डाइमण्ड कपमा ६० केजी तौल समूहबाट स्वर्ण पदक विजेता झापा विर्तामोडका रामबहादुर दाहाल, केही समय अगाडि खाडी मुलुक दुवईमा भएको अन्तर्राष्ट्रिय फिजिक्स प्रतियोगितामा धरानबाट पहिलो पटक छनौटमा पर्न सफल हुनुभएका अवतार श्रेष्ठलाई सम्मान गरेको हो ।
धरान उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख राई सुनसरी बडिविल्डिङ संघको पूर्व सचिव समेत रहनु भएको थियो । सो अवसरमा बोल्दै राईले भन्नुभयो ०४७÷०४८ सालमा सुविधा सम्पन्न जिम खानाको धरानमा अभाव रहेको थियो । बडी विल्डिङ्गका क्षेत्रमा आफू पनि सहभागी भएकोले यसको विकासमा आफू निरन्तर लाग्ने र वडी विल्डिरहरुलाई सबैले माया र प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
सुनसरी जिल्ला वडी विल्डिङ संघ धरानका अध्यक्ष चन्दन श्रेष्ठको अध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई बडी विल्डिङ संघका केन्द्रीय स्टेयरिङ्ग कमिटीका सदस्य राजभगत प्रधानाङ्ग, सुनसरी जिल्ला वडी विल्डिङ संघ धरानका निवर्तमान अध्यक्ष विशाल श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष रणबहादुर थेवेले समेत सम्बोधन गर्नुभएको थियो भने सञ्चालन सुयोग पाख्रिनले गर्नुभएको थियो ।
