गेट ढल्यो रे
रातारात नक्कली विकास गरेर चीनका राष्ट्रपतिलाई समेत उल्लु बनाउन खोज्दा दुई तिहाइको कम्निष्ट सरकार सर्वाङ्ग ह्वाङ्गै भएछ । एकातिर छोप्न खोज्यो अर्कोतिर हवाङ्गै, अर्कोतिर छोप्न खोज्यो अर्कोतिर ह्वाङ्गै । रातारात टाल्दा टाल्दा सरकारै लखतरान
भएछ । सक्कली विकास भए पो दीगो हुन्छ । जन्ताले जन्मेदेखि मृत्यु सम्म पाइला पाइलामा तिरेको करबाट चाइनिज राष्ट्रपतिलाई देखाउन नक्कली विकास गर्दा दीगो हुने सवालै भएन । एक त नक्कली विल त्यसमाथि कमाउनिस्टहरुको कमिशन मोह । अब हेरम न छिलाई देखाउन बनाएको बबरमहलको गेट एक दिन अगाडि नै गल्र्यामगुर्लुम ढलेछ । हावा चल्या पनि थिएन, कसै पातकीले ढाल्या पनि होइन आखिरी गेट ढल्यो । यो गेट काण्डले दुई तिहाइको सरकारको मुख अमिलो भयो । गेट ढल्नुमा कुनै न कुनै षड्यन्त्रचाहिँ पक्कै छ । कस्ले षडयन्त्र गरेको हो भन्ने कुराचाहिँ दुई तिहाइको सरकारले वक्तव्य जारी गरेपछि नै पत्ता लाग्ला ।
महराले हावा खाए
अइमाइ भने कुराको महिमा वर्णन गरिसाध्ये छैन । महाभारत जस्ता ठूला ठूला युद्ध महिलाकै कारण भएका थिए । कैयौ महापुरुषहरुको पतन र कैयौ दरिद्र पुरुषको उत्थान पनि महिलाकै कारण भएका थिए । नेपालमा पनि भखरै एकजना महामहिम माने सभामुखको पतन महिलाकै कारण भएको छ । महान जनयुद्ध लडेर आएका भनिएका सभामुख कृष्णबहादुर महरा सभामुख खाएर सानसँग बसेका थिए । अब अहिले हावा खाएर बसेका छन् । उनको हविगत हावा खुस्केको टायर जस्तो भएको छ । पक्कै पनि महराले धार्मिक तथा ऐतिहासिक ग्रन्थहरु पढेका थिएनन् । पढेका भए त विजुली पानीको बोतल बोकेर रोशनीको कोठाभित्र छिर्ने नै थिएनन् । धर्मलाई अफिम मान्ने, ऐतिहासिक ग्रन्थहरु जलाउने, ढाल्ने बुर्जुवा भन्ने भएपनि विचरालाई बुढेसकालमा यस्तो आपत्ति आइलाग्यो आफनो दुइतिहाइको सरकारले पनि तिनलाई जोगाउन नसकिने भयो । सभामुख पद पनि चैट, सांसद पद पनि चैट । यहाँ भन्दा ठूलो दशा के लाग्नु ? दशा भन्ने कुरा बाजा बजाएर नआउँदो रै’छ ।
लाजै पचाएछन्
विना पिँधो लोटाको उपमा पाएका डा. बाउराम भट्टराईले आफ्नी जोइलाई सँगै राखेर आफ्ना बाबुको हातबाट दशैको रातो टीका निधार भरि थोपरेछन् । अघि पछि हिन्दुपधर्मको घोर विरोध गरेर नेता पल्टिएका भट्टराईले नै निधारभरि टिका थोपरेर कानमा जमरा भिरेपछि तिन्को सक्कली मुखुण्डो उदांगो भएको छ । पर्धानमन्तरी खप्रओले भन्या थे
डाक्टर दुई प्रहारका हुन्छन् एउटा सुई घोच्ने अनि अर्कोैचाहिँ हावा जोत्ने । बाउराम भट्टराई हावा जोत्ने डाक्टर न परे । कहिले आफै पार्टी खोल्छन् कहिले अर्कको पार्टीमा छिर्छन । अनि जहाँ छिर्छन त्यहाँ भाँडभैलो नै मच्चाउँछन् । कि कसो हौ ?
विचरीलाई कम्ता गाह«ो भएन
चीनका राष्ट्रपति छिजिङ्गपिङ्ग अस्तिका दिन नेपालमा आउँदा नेपालकी राष्ट्रपति विद्या भण्डारीलाई कम्ता गाह«ो भएन । त्यसै त्यसै उकुस मुकुस भएर आयो । खित्का छाड्न पनि नमिल्ने, बोल्न पनि नसक्ने । क्या फसाद । केही दिन अगाडि एउटा कार्जेक्रममा विचरीले काँग्रेसका सभापति शेरबहादुरले बोलेको बोलीसमेत बुझिनन् । बोली नबुझेपछि आफै खित्का छाडेर हाँसेकी थिइन् । अब चीनका राष्ट्रपतिले बोलेको कुरा झन बुझ्ने कुरै भएन । छिले च्याङ्ग च्याङ्ग र चुङ चुङ भनेको विचरीलाई कागलाई बेल पाके जस्तै भयो । छिको बोली सुनेर विचरीलाई कम्ता हाँस्न मन लाग्या थिएन । विदेशी पाहुना परे । त्यसमाथि आफ्नै जात भाइ पार्टीका शक्तिशाली मान्छे । खितका छोडेर हाँसौ भने खप्रओवाले उठीबास लगाउलान् । नहाँसौ भने थामेर थामिसक्नु भएन । विचरीलाई मर्ता क्या नही करता जस्तै भयो ।
दुई दिनमै भव्य विकास
हाम्रा पर्धानमन्नतरी खप्रओ बोल्ने मात्र नभएर गरेरै देखाउने क्षमता भा’का रै’छन् । जोरी पारीहरुले वित्थामा उखाने, टुक्के, हावा भन्या रै’छन् । त्यसो भनेसी’ कस्लाई गर्न मन लाग्छ ? तर यसपटक जस्ले जे भने नि उन्ले कुनै वास्ता गरेनन् । चीनलाई आफनो देशको विकास गर्न दश बर्ष लाग्या थ्यो । अमेरिकालाई दुई बर्ष लाग्यो तर हाम्रा पर्धामन्तरी खप्रओलाई दुई दिन मात्र लाग्यो । चाइनिज राष्ट्रपति छिजिङ्गपिङ्ग आउने भएसी’ खप्रओले दुई दिनमै काठमाण्डौ सहरलाई दुलही जस्तै सिंगारिदिए । भत्केका, भ्वाङ्ग परेका, सडिएका, गल्ड्याङ्ग गुल्डुङ्ग भएका सडकहरुलाई सोह्रबर्षे युवतीका फिला जस्तै बनाइदिए । राता रात सडक किनारमा ढकमक्क फूल फुलाइदिए । सडकमा फोहोरको नामो निसाना मेटाइदिए । सडक पेटीहरु मात्र झकिझकाउ बनाइ दिएनन् विजुलीका खम्बाहरु समेत रंगीचंगी बनाएर रंगाइदिए । चाइनिज राष्ट्रपतिले यो दृश्य देखेर मनमनै दुई दिने विकासको प्रशंसा गरे । आखिरी खप्रओ वाले मन नगरेर पो विकास नभा’को रै’छ । अब विदेशी पाहुनाहरु काठमाण्डौ मात्र नएर अरु सहर र गाउँ गाउँमा पनि जानुपर्छ । कि कसो हौ ?
मै चूप तै चूप
यतिबेला देशाँ कसैको चर्चा छ भने रोशनी साही र कृष्णबहादुर महराकै छ । जता जाउँ यी दुईको मात्र गफगाफ हुन्छ । देशमा यत्रो चर्चा परिचर्चा भैरहँदा नि नेपालका महिला अधिकारकर्मी, महिला नेतृ, महिला सञ्जालले भने अत्तो पत्तो पाएका छैनन । अरु बेला स–साना
कुरामा ढोल ढ्यांगो ठटाउँदै सडकमा उफ्रने महिला अधिकारकर्मी, महिला नेतृ, महिला सञ्जाल यतिबेलाचाहिँ किन चै तूप मै चूप भएका होलान् ? घण्टाघरले पत्तो लगाउन कैयौ प्रयास ग¥यो तर अह छेउ टुप्पो नै फेला पारेन । हुन त सर्पको गोडा सर्पले नै देख्छ भन्छन् । महरा रोशनी फिल्मको चार्चा उत्कर्षमा छ । यस भन्दा अगाडि रोशनी साहीलाई कस्ले चिन्थ्यो र । उनी रातरात चर्चामा आइन् । गुमनाम से अच्छा बदनाम ठीक । रोशनीकै पराक्रमले महराको पद प्रतिष्ठाबाट मात्र चिप्लिएका छैनन् । राजनैतिबाटै चिप्लिएका छन् । ज होस् नारी शक्ति महिमा अपम्परा छ ।
मधेशवादी ट्वा“
चाइनिज राष्ट्रपछि छि आए कसैसँग हात मिलाएर कसैसँग गफ गरे, केही अर्व रुपैया सहयोग दिए, नेपाललाई भुपरिवेष्ठितबाट भूजडित बनाइदिन्छम भन्दिए र अन्तेमा हाल हल्लाएर चल्दिए । तर मधेशवादी दलहरुलाइ भने वास्तै गरेनन् । चाइनिज राष्ट्रपतिले हाम्लाइ नि बोलाउलान्, भेटघाट गर्लान भनेर आँखा तिखारेर बस्या थे तर अन्तेमा जिल्लराम भए । नेपालाँ मधेशवादी दलहरु पनि छन् भनेर दुई तिहाइको सरकारले छिलाई भन्दै भनेनछन् । भन्या भए त विचराले भेट्थे नि । अब कुन दिन राजिन्दर महतो लगायतका मधेशवादी दलहरुको गोडा दशेक पेजको वक्तव्य निकालेर षडयन्त्रको घोर गन्ध आएको भन्न बेर लगाउँदैनन् । त्यसैेले त स–साना कुरामा धोति उचालेर सडकमा उफ्रने मधेशवादी दलहरु यो मुद्दामा नउफ्रेलान भन्न सकिदैन ।
अन्तेमा
चीनका राष्ट्रपतिले अस्तिका दिन डेढ दिन नेपाल बसाइका क्रममा नेपालका कम्निष्टहरुलाई विलासी जविन त्याग्न, धन नथुपार्न र भष्टाचार विरुद्ध लड्न उपदेश दिएर फकेसी’नेपालका कम्निस्टहरु यतिबेला साह«ै विलखबन्दमा परेका छन् । उन्ले त सच्चा कम्निष्टहरुले धनको मोह गर्दैन सम्म भन्दिए छन् । अब नेपालका कम्निष्टहरुले के गर्लान् ? कसैले वाइडवडीमा डकारेर धन
थुपरोका छन्, कसैले वाल्वाटार किनेर महल ठड्याएका छन् । पहिला चप्पल लगाएर पैदल हिड्नेहरु करोडौको गाडीमा मात्र हिड्ने भएका छन् । यस्ता सुविधाहरु छिले भन्दैमा त्याग्ने कुरा पनि भएन । छिले कमाएनन्, जोडेनन् भनेर हुन्छ ? चीनमा पो कम्युनिस्ट छन् । यहाँ त कमाउनिस्ट मात्र छन् । छिलाई विचरा यी कुरा के थाहा ? हुर्रर्र आए गए । कि कसो हौै ?
