धरान÷नेपाली काँग्रेस धरान उपमहानगर समितिले आगामी मंसिर १४ गत हुने धरान उपमहानगरपालिकाको प्रमुखका लागि हुने उप निर्वाचनलाई लक्षित गरेर संगठन विस्तारलाई तिब्रता दिएसँगै आजबाट तीन दिने नगर सभाको आयोजना गर्दैछ ।
नेपाली काँग्रेसका धरान उपमहानगर समितिका सभापति, प्रभावशाली युवा नेता तथा नगर प्रमुखका प्रवल दावेदार तिलक राईले दिनुभएको जानकारी अनुसार दोस्रो नगर सभाको प्रमुख उद्देश्य नै आगामी उप निर्वाचनमा केन्द्रित हुनु हो । विगतमा हरेक निर्वाचनमा नेपाली काँग्रसले पराजय व्यहोरे पनि अहिलेको अवस्था भिन्न र पृथक रहेकोले आगामी मंसिर १४ गतेको निर्वाचनमा नेपाली काँग्रेसले जित्ने राइले दाबी गर्नुभयो ।
सोमबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा सभापति राईले भन्नुभयो, नगर सभा भाद्र २५, २६ र २७ गते हुनेछ । २५ गते भानुचौकमा हुने खुल्ला आमसभालाई पार्र्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा उपसभापति विजय गच्छदार, केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की, गगन थापा, विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गरेपछि दुइ दिनसम्म पार्र्टीको सांगठनिक, राजनैतिक, आर्थिक प्रतिवेदनमाथि धरान सभागृहमा वृहत बहस र छलफल हुने सभापति राईले जानकारी दिनुभयो । बन्द सत्रमा पार्टीले आगामी दिनमा अपनाउनुपर्ने कार्यदिशा, योजना, धरानको विकास र सम्बृद्धि आदिका सम्बन्धमा खाका तयार गर्ने र त्यसैलाई चुनावी एजेन्डाका रुपमा लिएर जाने मात्र नभएर त्यसैलाई धरान घोषणा पत्रका रुपमा प्रस्तुत गरिने पनि राईले जानकारी दिनुभयो ।
