धरान÷भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा सञ्चालित पूर्वाञ्चलव्यापी अन्तर भूपू समिति व्याडमिन्टन प्रतियोगिताको उपाधि धरानले हात पारेको छ ।
संघीय प्रहरी इकाई कार्यालय
धरानको व्याडमिन्टन हलमा जेठ ३२ गतेदेखि आषाढ २ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भारतीय भूतपूर्व सैनिकहरुको पूर्वाञ्चलमा रहेका ८ वटा समितिहरुबाट २८ वटा टिमहरुले सहभागिता जनाएका थिए ।
अंकको आधारमा ओभरअल विजेता धरान भएको थियो भने उपविजेता झापाको दमक भएको थियो । डबल सोझो सेटको उक्त प्रतियोगितामा धरान २ ले नगद सात हजार सहित शिल्ड र प्रमाणपत्र हात पारेको थियो भने उपविजेता दमकले नगद ६ हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त
गरेको थियो । प्रतियोगितामा ५० बर्ष मुनिका १४ टिम, ५१ बर्षदेखि ६० बर्ष सम्मका १२ टिम र ६१ बर्ष माथिका २ टिमको सहभागिता रहेको थियो । ५० बर्ष भन्दा कम उमेर समूहमा इटहरी १, पथरी, धरान २, धरान १, बेलबारी, तरहरा, बेलबारी ३, बेलबारी २, धरान ३, दमक २, शान्तिनगर १, शान्ति नगर २, र इटहरी रहेका थिए । यसैगरी ५१ देखि ६० बर्ष उमेर समूहको टिममा शान्तिनगर, तरहरा २, धरान १, बेलबारी, झुक्का, दमक ३, तरहरा १ पथरी, दमक १, धरान २ रहेका थिए भने ६१ बर्ष भन्दा माथि इटहरी १ र इटहरी २ को प्रतियोगितामा सहभागिता रहेको थियो ।

प्रतियोगिताको अन्तिम खेलमा सोमबार ६१ बर्ष भन्दा माथि उमेर समूहमा
तरहराका सुवेदार मेजर के.के. राई र हनरेरी क्या. दिलप्रसाद राईलाइ धरानका सुवेदार डिके लिम्बु र सुवेदार एस डि राईको डबल सोझो सेटमा धरान विजयी भएको थियो । धरानले पहिलो सेटमा २१ र दोस्रो सेटमा २१ अंक प्राप्त गरेको थियो भने तरहराले दुवै सेटमा १६ र १३ अंक पाप्त गरेको थियो । यसैगरी दमक र धरान २ बीचको ५१ देखि ६० बर्ष उमेर समूहमा दमकका हनरेरी क्या. धनजीत राई, सुवेदार भोजकुमार राई र धरान २ का सुवेदार बुद्धिराज राई, हवल्दार कृतिमणि राईको बीचको सोझो सेटमा दमक विजयी भएको थियो । दमकले पहिलो र दोस्रो सेटमा २१÷२१ अंक प्राप्त गरेको थियो भने धरानले १२÷१२ अंक प्राप्त गरेको थियो । यस्तै ५० बर्ष मुनि धरान ३ का याम दर्पण लिम्बु, लेस नायक श्री कुमार राई र धरान २ का राजकुमार राई, नायक नरेन्द्र राई बीचको डबल सोझो सेटमा धरान २ ले २१÷२१ र धरान ३ ले १३÷७ अंक प्राप्त गरेका थिए ।
प्रतियोगिताका विजेता, उपविजेता र सहभागीहरुलाई नगद, शिल्ड र प्रमाणपत्र वितरण गर्दैै भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिहले भन्नुभयो प्रतियागिताको मुख्य उद्देश्य आपसी सद्भाव अभिवृद्धि गर्नु नै हो । पहिला पहिला पेन्सन वितरण कार्यालयबाटै पेन्सन वितरण हुँदा सबै भूपूहरुसँग भेटघाट हुन्थ्यो । उहाँहरुले आफ्ना समस्या अवगत गराउनु हुन्थ्यो । तर अहिले सबै भूपूहरुको पेन्सन सोझै बैंकमा पठाइन्छ । बैंकबाटै उहाँहले आफ्नो पेन्सन बुझ्नु हुन्छ । जसका कारण भेटघाट कम हुनु थाल्यो । व्याडमिन्टन प्रतियोगिताको मुख्य उद्देश्य नै भेटघाट र आपसी सम्बन्ध विस्तार गर्नु हो । उहाँले भन्नुभयो प्रतियोगितामा कसैको
हार भएको छैन सबैले जित्नु भएको छ । प्रतियोगितामा ६१ बर्ष भन्दा माथिका भूपूहरुले खेलको प्रति उहाँले मुक्तकण्ठले प्रशंसा गर्दै भन्नुभयो मानिस बढ्दो उमेरको अंकले बुढो हुँदैन । मन मस्तिक्सले अफूलाई सक्षम बनाउनुपर्छ । भोलिका दिनमा अर्थात सेवा निवृत्त भएपछि म पनि यसैगरी प्रतियोगिताहरुमा भाग लिनेछु उहाँले भन्नुभयो ।
