काठमाडौं । प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाल भारतसँग
पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद
परिषद्को कर्भडहलमा आइतबार भएको खेलमा नेपाली महिला टोली भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो । खेल सुरुवातीदेखि नै निकै आक्रमक शैलीमा उत्रेको भारतसामु नेपाली महिला टोली निरिह बन्यो ।
पहिलो सेट २५–१६ ले गुमाएको नेपाल दोस्रो सेट २५–१७ र तेस्रो सेट पनि २५–१७ ले पराजित हुनपुग्यो ।
जितसँगै भारतले दुई खेलबाट ६ अंक जोडेको छ भने तीन खेल खेलेको नेपालको पनि समान ६ अंक छ । भारतले पहिलो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने दोसो खेल बंगलादेशलाई पनि ३–० को सोझो सेटमा पाखा लगाएको थियो ।
खेलपछि नेपालका मुख्य प्रशिक्षक सुदिसकुमार रिमालले पहिलो र दोस्रो खेलमा भन्दा भारतविरुद नेपाली टोलीले निकै राम्रो खेल प्रदर्शन गरेको बताए । नेपालको ब्लक र सभिर्स विग्रिएता पनि भारतको टोली निकै छिटो खेल्ने भएकाले नेपालले हार भोग्न पुगेको उनले बताए ।
नेपालकी टोली कप्तान विनिता बुढाथोकीले धेरैजसो खेलाडीमा अन्तर्राष्ट्रिय खेलको अनुभव नभएकाले पनि हार भोग्नु परेको बताइन् ।
अर्को खेलमा श्रीलङकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो । श्रीलङकाले माल्दिभ्सलाई २५–९,२५–१२ र २५–१७ को सेटमा
पराजित गरेको हो ।
