दुई सय जना नेपाली विद्यार्थीहरुलाई भारतद्वारा स्वर्ण छात्रवृत्ति प्रदान

प्रत्येक बर्षहरुमा झैँ यस पटक पनि काठमाण्डौस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्व विद्यालय तथा कलेजहरुमा स्नातक तहमा अध्ययनरत दुई सय जना जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान गरेको छ ।
भारतीय राजदूतावासले एक विज्ञप्ती प्रकाशित गरी उक्त कुराको जानकारी गराएको हो । विज्ञप्तीमा भनिएको छ चालू आर्थिक बर्षमा नेपालका ५० जिल्लाका विद्यार्थीहरुले एमविविस, विडिएस, विई, विएस्सी, विविए, विकम लगायतका ३६ वटा स्नाताक कोर्षका लागि छात्रवृत्ति पाउने भएका हुन् । छात्रवृत्ति पाउने कुल विद्यार्थी संख्यामध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपांगता रहेका छन् ।

फागुन २९ गते काठमाण्डौस्थित हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहका प्रमुख अतिथि नेपाल सरकार शिक्षा मन्त्रालयका शिक्षा सचिव खगराज बरालले दुई सय जना छनौटमा परेका जेहेन्दार नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिँर्दै उनीहरुको व्यक्तिगत तथा व्यवसायिक सफलता प्राप्त गर्ने विस्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुग्नुका साथै नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइँमा पु¥याउने छ ।
सन् २००२ मा भारत सरकारले नेपाल भारत आर्थिक सहकार्यको ५० बर्ष पूरा भएको अवसरमा नेपाली विद्यार्थीहरुलाई लक्षित गरी स्वर्ण जयन्ति छात्रवृत्तिको आरम्भ गरेको थियो । छात्रवृत्ति कार्यक्रमको शुरुवात ५० जना नेपाली जेहेन्दार विद्यार्थीबाट गरिएको थियो । भारत सरकारले सन् २००७ मा छात्रवृत्ति संख्यामा वृद्धि गरी एकसय पु¥याएको थियो । सन् २०१२ देखि छात्रवृत्ति संख्या दुई गुणाले बृद्धि गरी दुई सय पु¥याएको हो ।  स्वर्ण जयन्ति छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमविविएस, विडिएसको विद्यार्थीले पाँच बर्षसम्म मासिक प्रति महिना रु ४ हजार, विईका विार्थीले चार बर्षसम्म प्रति महिना रु ४ हजार र अन्य स्नातक कोर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले तीन बर्षमा मासिक ३ हजार  प्राप्त गर्ने भएका छन् । हालसम्म नेपालका ७७ जिल्लाका २ हजार ३ सय ५० भन्दा बढी नेपाली विद्यार्थीहरुलाई स्वर्ण जयन्ति छात्रवृत्ति भारतले प्रदान गरिसकेको छ ।
यहाँ स्मरणीय कुरा के छ भने नेपाल तथा भारतका विश्व विद्यालय तथा कलेजहरुमा चिकित्सा विज्ञान, पशु विज्ञान, औषधी विज्ञान, दन्त चिकित्सा विज्ञान, कृषि, इन्जिनियरिङ्ग, कला, कमर्स, कम्प्युटर विज्ञान, नर्सिङ्ग तथा अन्य विभिन्न विषयका अध्ययनका लागि भारत सरकारले ३ हजार छात्रवृत्ति प्रदान गर्दे आएको छ ।

तपाईको प्रतिक्रिया