नेपाली काँग्रेस यतिबेला सत्ता विमुख छ । सदैव सत्ता निकट रहने काँग्रेस सत्ता विमुख भएर प्रतिपक्षमा पुगेको छ । सत्ताको अनुभव मात्र समेटेको काँग्रेस प्रतिपक्षको भूमिमा अत्यन्तै कमजोर सावित भएको
छ ।
प्रतिपक्षमा हुँदा समेत नेपाली काँगेसले जनताको जनजीविकाको सवाललाई सशक्त ढंगले उठाएर क्यास गर्न सकेको छैन । प्रतिपक्षमा हुँदा समेत उसलाई पदीय लोभ, लालचले छोडेको छैन । उसले संसदमा सभामुख र उपसभामुख एउटै दलको हुनुहुँदैन ती दुईपद मध्ये एउटा काँग्रेसले पाउनु पर्छ भनेर सत्तापक्षसँग यातना गर्नु, संसदीय समितिहरुमा भागबण्डा खोज्नु आफैमा लज्जाको विषय हो ।
पछिल्लो पटक नेपाली काँग्रेसका भातृ संगठनहरको जोडबलमा सडक तताउने काम भयो र आफूलाई शीर्ष नेता हौ भन्नेहरुले सडकमा आएर नेतृत्व गर्न समेत हिच्किचाए । भातृ संगठनहरुले आफ्नै जोर बलमा आन्दोलन गरे तर नेतृत्वको पदीय लोलुपता, लाभको आकांक्षा, जस्ता कुराले आन्दोलन शिथिल बन्न पुग्यो, सशक्त ढंगले अगाडि बढेन । संसदमा शीर्ष नेताहरुले आफ्नो प्रभावकारी भूमिका देखाउन सकेका छैनन । हिजो काँग्रेसले सत्तामा हुँदा जुन ंढगले काम गरेको थियो आज सत्तामा भएको र नेकपाले सोही अनुरुप काम गरिहेको छ । जसका कारण नेपाली काँग्रेसले विमति राख्दा राख्दै पनि आम नागरकबाट झन समर्थन बटुल्न सकेको छैन ।
नेपाली काँग्रेस सत्तामा छँदा गोविन्द केसीलाई १४ पटक सम्म स्वास्थ्य शिक्षा सुधारका लागि आन्दोलन गरेकै हो । गोविन्द केसीले सत्याग्रह गर्दा सत्तासीन काँग्रेसले आफ्ना भातृ संगठन भिजिलान्तेहरु पठाएर धक्याएको हो, नेपाली काँग्रेससँगै आवद्ध, काँग्रेसकै पारिवारिक पृष्ठभूमि भएकी तत्कालीन प्रधान न्यायाधीश सुशिला कार्कीलाई संसदमा काँग्रेसले नै महाअभियोग प्रस्ताव दर्ता गरेकै हो , लेनदेनमै केन्द्रित भएर प्रहरी महानिरीक्षकमा चरम नाटक प्रदर्शन गरेकै हो । नेपाली काँग्रेस सत्तामा छँदा यस्ता कामको लामै फेहिरिस्त बनेको छ । जसका कारण नागरिक स्तरबाट नेपाली काँग्रेसलाई साथ र सहयोग दिनेको कमी भएको हो । गोविन्द केसीको १५ औं आमरण अनसनमा काँग्रेसले केसीमा माग पूरा गर्नुपर्छ भन्दा हिजो आफू सत्तामा बस्दा किन पूरा नगरेको भन्ने चौतफी आवाज आयो । तर काँग्रेसले आफ्नो विगतलाई अहिलेसम्म मनन गरेको देखिएन ।
हालैमात्र संसदीय सुनुवाई समितिले कायम मुकायम प्रधान न्यायाधीश दिपकराज जोशीलाई प्रधान न्यायाधीशमा अस्विकृत गरेपछि काँग्रेसका शीर्ष नेताहरुले कोठे बैठकबाट विरोध जनाएका छन् । उनीहरुले नेकपाले दुई तिहाई मतको आडमा सरकारले न्यायालय समेत कब्जा गर्न थालेको भन्दै त्यसलाई अतर्राष्ट्रिय करण गर्ने जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको काँग्रेस केन्द्रीय समितिको बैठक नेकपाले दुई तिहाइको बलमा गरेको निर्णयलाई संसद, सडक हुँदै अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । हिजो काँग्रेस सामान्य वहुमतमा हुँदा कैयौ स्वेच्छाचारी निर्णय भएको कुरा एक पटक मनन गर्नुपर्छ । आज नेकपाको दुई तिहाई वहुमत छ । स्वाभाविक रुपमा उनीहरले आफ्नो अनुकूल निर्णय गराउँछन् । यसमा विरोध गर्नुको गुन्जायस रहँदैन । अन्तर्राट्रिय जगतले पनि बलेको आगो मात्र ताप्ने हुन् । काँग्रेसले उठाएका आवाजलाई उनीहरुले गम्भीरता पूर्वक सुन्दैनन पनि । त्यसैले नेपाली काँग्रेसले संसदमा पृथक ढंगले जनताका जनजीविकासँग जोडिएका सवालहरु महंगी वृद्धि, भ्रष्टलाई कारबाही, जनताले धान्नै नसक्ने गरी बृद्धि गरिएको कर, आदिलाई जोडदारसँग उठाउनुपर्छ । यस्ता कुरामा जनताले साथ सहयोग दिन्छन् । यस्तै मुद्दा लिएर अब काँग्रेस पैदल गाउँ पस्नुपर्छ,, अनावश्यक तडक भडक र गाडीको लस्कर लिएर हिड्नु हुँदैन ।
