धरान÷जनप्रतिनिधि निर्वाचित भएसंगै धरानको विकासले गति लिन थालेको महसुस धरानका सर्वसाधारणले गर्न थालेका छन् ।
विगतमा स्थानीय तह कर्मचारीतन्त्र र दलीय संयन्त्रमा चल्दा ठप्प भएका विकास निर्माणका कामहहरु धमाधम निर्माण हुन थालेपछि धरानका स्थानीयहरु संघीय संरचनासहितको नयाँ नेपाल निर्माणसंगै विकासले समेत गति लिनेमा विश्वस्त बनेका छन् ।
दलीय भागबण्डा र कर्मचारीतन्त्रका कारण २० बर्ष भन्दा बढी विकासले गति लिन नसकेको धरान उपमहानगरपालिकामा विस्तारै विकास निर्माणका कार्यहरु हुन थालेका छन् । स्थानीय तहमा १० महिना अगाडि निर्वाचित भई आएका जनप्रतिनिधिहरुले आफ्नो कार्यभार सम्हालिसकेपछि धमाधम विकास हुन थालेपछि सर्वसाधारणले खुशी व्यक्त गर्न थालेका छन् ।
विकासले गति लिन थालेपछि स्थानीय युवाहरु समेत उत्साहित बन्न थालेका छन् । धरान १४ विजयपुरका सौगात भुर्तेल उमेरले १७÷१८ बर्ष पुगेपनि उपमहानगरपालिकाले आफ्नो टोलमा बाटो बनाउन थालेपछि उपभोक्ता समितिको अध्यक्ष भएर त्यहाका सम्पूर्ण कामको जिम्मेवारी सम्हाल्नु भएको छ । विगतमा टोलमा कोही विमारी हुदा एउटा एम्बुलेन्स समेत छिर्न नसक्दा मुख्य सडकसम्म बोकेरै लगेको कुरालाई स्मरण गर्दै भुर्तेलले अब त्यस्तो अवस्था नआउने बताउनुभयो ।
विजयपुरलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित गराउन धरान उपमहानगरपालिकाले पहिलो चरणमा धरान १४ विजयपुरका मुख्य तथा शाखा बाटोहरु धमाधम निर्माण गर्न थालेको छ । स्थानीय उपभोक्ता, १४ नं. वडा समिति र धरान उपमहानगरपालिकाको साझेदारीमा विजयपुर पुग्ने मुख्य र शाखा ८ ओटा बाटो धमाधम निर्माण हुदैछ । कर्मचारीतन्त्र, दलीय भागबण्डाका कारण विगतमा विकासले गति लिन नसकेकै कारण पहिल्यै बनाउनुपर्ने बाटो धमाधम बनेको स्थानीय विनोद कोइराला बताउनुहुन्छ ।
धरान उपमहानगरपालिकाको दुई करोड लगानी तथा स्थानीय उपभोक्ताहरुको लगानीमा सडकलाई पहिलो प्राथमिकता दिन थालेको धरान १४ विजयपुरका वडाअध्यक्ष कृष्णप्रसाद भट्राई बताउनुहुन्छ । विकासको पहिलो काम सडक निर्माण भएको भन्दै त्यसपछि पौराणिक महत्व बोकेका मन्दिरको प्रवद्र्धनका लागि काम अगाडि बढाइने उहाको भनाई छ ।
विजयपुरमा अहिले पौराणिक महत्व बोकेको पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिर, पाथीभरा मन्दिर, गणेश गाधी लगायतका दर्जनौ मन्दिर रहेका छन् । यस्ता पौराणिक महत्व बोकेका मठमन्दिरसम्म पुग्न सडक निर्माणका साथै प्रचारप्रसारमा जोड दिन सके नेपालमात्र हैन आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्ने र धरान उपमहानगरपालिकाले विजयपुरलाई धार्मिक पर्यटन क्षेत्र बनाउने गुरुयोजना पूरा हुनेमा कुनै शंका छैन । यसतर्फ धरानका सर्वसाधारण, जनप्रतिनिधि सबैले चासो दिन जरुरी छ ।
