प्रदेश नं. १ मा एमाले एक्लैको प्रदेशसभामा स्पष्ट वहुमत भएपनि मुख्यमन्त्री चयनमा किचलो केन्द्रीय सचिव एवम् प्रदेश नं। १ का संयोजक भीम आचार्य र पूर्व मन्त्री शेरधन राई मुख्यमन्त्रीका प्रमुख आकांक्षी

धरान÷प्रदेश नं. १ मा एमालेको आफ्नो एकल वहुमत रहे तापनि मुख्यमन्त्रीको उमेद्वार अझैसम्म तय गर्न सकेको छैन । निर्वाचनको परिणाम घोषणासँगै एमाले प्रदेश नं. १ मा मुख्यमन्त्रीकै विषयलाई लिएर किचलो शुरु भएको छ ।
एमालेका केन्द्रीय सचिव, वौद्धिक व्यक्तित्व एवम् प्रदेश नं. १ का संयोजक भीम आचार्य र पूर्व मन्त्री शेरधन राई मुख्य मन्त्रीका प्रमुख आकाांक्षी देखिएपछि सोमबार विराटनगरमा बसेको प्रदेश सचिवालयको बैठकमा सहमतिको प्रयास भएपनि सहमति हुन नसक्दा एमालेले माघ २६ गते शुक्रबार संसदीय दलको नेताका लागि निर्वाचन गर्ने भएको छ ।
एमाले प्रदेशसभा सचिवालयको बैठकले २६ गतेका लागि दलको बैठक बोलाइएको छ, एमाले सुनसरीबाट प्रदेशसभामा निर्वाचित प्रदीप भण्डारीले भन्नुभयो । उहाँले भन्नुभयो सहमतिको प्रयास भयो तर हुन नसकेपछि अन्तमा निर्वाचन प्रक्रियामा जानैपर्छ । संसदीय दलको नेता जो हुन्छ ऊ नै प्रदेशको मुख्य मन्त्री बन्ने भएकोले संसदीय दलको निर्वाचन पहिला हुन्छ, भण्डारीले भन्नुभयो । मुख्य मन्त्रीको प्रवल आकांक्षीका रुपमा हाल आचार्य र राई सँगै जीवन घिमिरेले समेत दावी गरेका छन् ।
प्रदेश नं. १ का ९३ जना सांसदमध्ये एमालेका मात्र ५१ जना रहेका छन् । ५१ जनामध्येबाट संसदीय दलको निर्वाचनमा जसले बहुमत ल्याउँछ उही संसदीय दलको नेता र मुख्यमन्त्री बन्ने हुन् । भोजपुरबाट निर्वाचन जितेका शेरधन राई पार्टी अध्यक्ष केपी ओली पक्षधरका भनेर चिनिन्छन् भने संयोजक अचार्य माधव नेपाल र जीवन घिमिरे झलनाथ खनाल पक्षधरका भनेर चिनिने गरेका छन् । एमालेभित्रको गुट उपगुटमा सभासदहरु समेत विभाजित भएकोले एमालेको स्पष्ट वहुमत हुँदा पनि आकांक्षीहरु तीनजना देखिएपछि केन्द्रबाटै निर्वाचन मार्फत संसदीय दलको टुंगो लगाउने निर्देशन भएको एमालेका एक नेताले बताए । उनका अनुसार प्रदेश नं. १ मा माधव नेपाल पक्षधरको वहुमत
रहेकोले भीम आचार्यको पल्ला भारी हुने देखिएको छ ।
सोमबारको प्रदेशसभा सचिवालयको विराटनगरको बैठकमा माओवादी केन्द्र र एमालेबीचमा पार्टी एकताको प्रयास भइरहेको अवस्थामा एउटै पार्टीभित्रका प्रदेश सभाका सदस्यहरुबीचमा प्रतिष्पर्धा हुँदा त्यसले जनमनसमा राम्रो सन्देश नजाने आवाज पनि उठेको थियो । नेपालका सातै प्रदेशले सभामुख, उपसभामुखको चयनको मिति तय गरिरसकेका छन् भने सविधान अनुसार फाल्गुण ५गते भित्रमा मुख्यमन्त्रीको पनि चयन गरिसक्नुपर्ने प्रावधान रहेको छ । प्रदेश न. १ को हकमा जीवन घिमिरे र शेरधन राई समेत मुख्य मन्त्रीको आकांक्षी भएर संसदीय दलको नेताको निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएपछि त्यसले भीम आचार्यलाई अझ सहज बनाएको झापाका एक पदेश सांसदले बताए । उनका अनुसार हेभी वेटका भीम आचार्यको प्रतिष्पर्धी अहिलेको अवस्थामा कोही देखिएका छैनन् । आकांक्षा राख्नु बेग्लै कुरा हो उनले भने । संघीय संसद र प्रदेश संसदको निर्वाचनका बेला नै आगामी प्रदेश नं. १ को मुख्यमन्त्री भीम आचार्य भनेर पार्टीले अगाडि सारेके हो । नत्र अचार्य प्रदेशमा नभएर केन्द्रमा निर्वाचन लड्नु हुने थियो ।
यसैबीच सोमबारै प्रदेश नं. १ को पहिलो ऐतिहासिक वैठक बसेको थियो । प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरको जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकको अध्यक्षता नेपाली काँग्रेसका जेष्ठ सांसद ओमप्रकाश सरावगीले गर्नुभएको थियो । निर्धारित समय भन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठक सवा घण्टा चलेको थियो । प्रदेशसभा नियमावली हालसम्म बनि नकेकोले सभाको कार्य सञ्चालनका लागि अन्तरिम कार्यविधि २०७४, प्रदेशसभा सचिवालयका रुपमा धु्रव घिमिरेलाई कामकाज गर्न अनुमति दिने, सभामुख र उपसभामुखको अनुपस्थितिमा पाँच सदस्यीय समिति गठन, सभामुख र उपसभामुखको निर्वाचन मिति निधारण गर्ने लगायतका पाँच वटा निर्णयहरु समेत गरेको छ । सो अवसरमा एमालेका सचिव एवम प्रदेशसभा सदस्य भीम आचार्या, नेपाली काँग्रेसका चन्दप्रसाद श्रेष्ठ, संघीय समजवादी फोरम नेपालका जयराम यादव, माओवादी केन्द्रका इन्द्र आङ्गबोहाङ्ग, संघीय लोकान्त्रिक राष्ट्रिय मञ्च (कुमार लिंगदेन) पार्टीका विष्णु तुम्बाहाम्फे, राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्दिरा राई, स्वतन्त्र सभासद नारायणबहादुर मगरले बोल्नु भएको थियो । उहाँहरु सबैले प्रदेश समृद्धिको पक्षमा आफ्ना धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया