यस्तो रेष्टुरेन्ट जहाँ प्रवेश गर्नुअघि ढोकामै कपडा खोल्नुपर्छ

पहिलो पटक फ्रान्सेली राजधानी पेरिसमा नग्न व्यक्तिहरुलाई खाना खुवाउने रेष्टुरेन्ट सञ्चालनमा आएको छ। यो रेष्टुरेन्टमा प्रवेश गर्नुअघि ग्राहकले ढोकामै सम्पूर्ण कपडा खोल्नुपर्छ।
फ्रान्समा यसअघि नै सैयौँ समुद्री किनार, स्पा सेन्टर र क्याम्प साइटहरुमा नांगै बस्न अनुमति दिइएको छ। तर नोभेम्बर महिनाको सुरुमा पेरिसमा नग्न रेष्टुरेन्ट पनि खुलेको छ।
‘ओ’नेचुरेल’ नाम दिइएको सो रेष्टुरेन्टमा एक पटकमा ४० जनालाई डिनर गर्न मिल्छ। रिजर्भेसन गराएका ग्राहकले मात्रै त्यहाँ प्रवेश पाउँछन्। र त्यहाँ डिनर मात्रै गर्न दिइन्छ। डाइनिङ रुममा प्रवेश गर्नुअघि ग्राहकलाई ढोकैमा कपडा र मोबाइल छोड्न लगाइन्छ। ग्राहकलाई रेष्टुरेन्टभित्र चप्पल लगाउन दिइन्छ। यद्यपि महिलाहरुले हिल भने लगाउन पाउँछन्।
रेष्टुरेन्टमा ४० प्रतिशत ग्राहक महिला रहेको सञ्चालकहरुले बताएका छन्। डिनरको मूल्य ३५ डलरभन्दा माथि राखिएको छ।
सो कोठालाई सडक तथा अन्य घरहरुबाट नदेखिने गरी पर्दा लगाइएको छ।
४२ वर्षका जुम्ल्याहा माइक र स्टेफेन साडाले यो रेष्टुरेन्ट खोलेका हुन्। ‘हाम्रो भूमिका भनेको ग्राहकलाई आराम दिलाउनु हो,’ स्टेफेन भन्छन्, ‘डाइनिङ रुपमा पस्नेबित्तिकै हामी उनीहरुको साथमा हुन्छौँ र उनीहरुलाई विश्वास दिलाउँछौँ, कोठामा भएका जम्मै मानिस तपाईंलाई हेरिरहेका छैनन्।’
नियमअनुसार यहाँ वेटरको पनि काम गर्ने स्टेफेन र माइक भने कपडा लगाउँछन्। लण्डनमा बन्याडी नामको नग्न रेष्टुरेन्ट गतवर्ष नै केही समयका लागि खुलेर बन्द भएको थियो। अहिले सो रेष्टुरेन्ट फेरि खुल्न कोष जम्मा भइरहेको छ। त्यो रेष्टुरेन्टमा चाहिँ वेटरले पनि टपलेस हुनुपर्थ्यो।
‘हामी पेरिसको मुटुमा छौँ र नांगै खाना खाइरहेका छौँ। सपनाजस्तो लागिरहेको छ,’ फ्रेन्च नेचुरिस्ट फेडेरेसनका अध्यक्ष यिव लुकलार्क भन्छन्, ‘यसमा छुट्टी मनाइरहँदाभन्दा ज्यादा मजा छ।’
सञ्चालक स्टेफेन केही ग्राहकलाई प्रवेश नदिइने गरेको पनि बताउँछन्। ‘मानिसहरुसँग सम्बन्ध बढाउने ठाउँ यो होइन, त्यस्तालाई हामी अन्तै जान भन्छौँ।’ एजेन्सी

तपाईको प्रतिक्रिया