हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बामगठबन्धनले बहुमतका साथ विजय हासिल गरेपछि देशकै सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको भविष्य अनिश्चित र अन्यौलमा परेको छ । लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको काँग्रसको
पराजयसँगै सन् ९० को दशकदेखि अभ्यासमा रहेको उदारवाद पनि संकटमा परेको संकेत दिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को यस सफलता पछि लोकतन्त्रवादीहरुले गहिरो चिन्तन र मन्थन गर्नु पर्ने बेला आएको छ । विभिन्न गुट उपगुटमा विभाजित कम्प्युनिष्टहरुको सम्पूर्ण मत प्रतिशतको हिसाबले २०५१ सालको निर्वाचन देखि नै बहुमतमा थियो । जसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेसलाई पुग्दै आएको थियो । तर संघयि गणतान्त्रिक नेपालको स्थापनापछि भएको यस निर्वाचनमा दुई प्रमुख साम्यवादी दलहरु एक भएपछि उनीहरु बहुमतमा पुग्नु स्वभाविकै हो । कांग्रेसले लोकप्रिय मत तर्फ ३३ प्रतिशत हासिल गरी ४० सिट
राख्नुले कांग्रेसको मत सुरक्षित नै देखिन्छ । तर प्रत्यक्ष तर्फ भने कांग्रेस नराम्ररी
पराजित भएको छ । यसको कारणहरु के हुन् ? दूरगामी प्रभाव के के पर्दछन् ? के नेपाली प्रधानमन्त्री शेर बहादुर देउवाले भने जस्तो अधिनायकवाद तर्फ जान्छ ? के यो साम्यवादको विजय हो ? विचारिणीय कुराहरु छन् । आजभन्दा २ वर्ष अघि भारतले नेपाललाई नयाँ संविधानको घोषणा गर्दा असहमति जनाई गरेको नाकाबन्दीमा एमालेका के.पी. ओलीले लिएको राष्टूवादी अडान र प्रधानमन्त्री हुने बित्तिकै चीन सँग विकल्पको लागि गरेको व्यापार तथा पारवहन सम्झौताले नेपाली जनतालाई सकारात्मक मनोवैज्ञानिक असर पारेका थियो । यो राष्टूवादी अडानले गर्दा बामगठबन्धन लोकप्रिय बन्यो । संविधान संशोधनको विषयमा ओलीले लिएको अडानले मधेसमा आलोचित भएपनि पहाडे समुदायमा लोकप्रिय बन्यो । नेपाली शासकहरु जे जस्तो भए पनि जनता भारतीय शासकवर्गको हेपाह प्रवृत्ति मनपराउँदैनन् । यही भावनालाई ओलीले भजाए । नयाँ दिल्ली स्थित नेपाल ज्ञाता प्राज्ञ एस.डी. मुनिका अनुसार यो विजय साम्यवादको नभई नवराष्टूवादको विजय भन्नु उचित नै देखिन्छ । नेपाली कांग्रेस वि.पि. कोइरालाको निधनपछि राष्टूवादको विषयमा मुखरित हुन सकेको छैन । नाकाबन्दीको बारेमा नबोल्नु यसैको उदाहरण हो । जसको फाइदा कम्प्युनिष्टहरुले लिए । माओवादी केन्द्रको सहयोगमा प्रधानमन्त्री बनेपछि सभापति शेर बहादुर देउवाको कार्यशैली गैर
जिम्मेवार, गैर लोकतान्त्रिक र फितलो रह्यो । अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई रक्षा गर्न खोज्नु, प्रधानन्यायधिश सुशिला कार्कीका विरुद्ध महाअभियोग ल्याउनु, खरिद विक्रीमा राजदूत नियुक्त गर्न जस्ता कार्यले शहरिया शिक्षित मतदाताहरुलाई कांग्रेस अरुचिकर लाग्यो । शहरिय मतदाताहरुबाट कांगेस टाढा बल्यो । पार्टीमा रहेको गुटबन्दी, नातागोता र आफ्ना मान्छेहरुलाई टिकट दिनु, बिचौलीया, कमिशन एजेन्ट र व्यापारीहरु जस्ता क्षुद्र स्वार्थ भएकाहरुले टिकट पाउनु पनि कांग्रेस पराजयको मुल कारण बन्यो । नयाँ पुस्ताहरुलाई कांग्रेसले आकर्षण गर्न सकेन । बाम गठबन्धनको स्थायित्व र समृद्धिको नाराले जनतालाई आकर्षित ग¥यो । किनभने विगत ११ वर्षमा १० वटा सरकार जनताले हेरिसकेका थिए । यो सरकार परिवर्तन र अस्थिरताबाट जनता मुक्ति चाहन्थे । जसको विकल्पको रुपमा बामगठबन्धन देखाप¥यो । नेपाली कांग्रेसले अब प्रजातन्त्तको कुरा गरेर मात्र हुँदैन,
राष्ट्रियता पनि सोच्नु पर्छ । दुईटा
राप्रपासँगको प्रजातान्त्रिक गठबन्धनलाई जनताले पत्याएनन् । राप्रपा पूर्व राजतन्त्रका समर्थकहरुको दल हो । क्षेत्र नम्बर १ मा राष्टिूय जनतापार्टी र समाजवादी फोरम बलिया देखिए, कांग्रेस नेतृत्व चुस्त र रणनीतिक रुपमा सबल देखिएन । माओवादीलाई मूलधारमा ल्याएको जस र आफ्नो सरकारले विगतमा गरेका राम्रा कामहरुलाई जनताबीच बुझाउन सकेन । विपक्षीप्रति आक्रमक बन्न सकेन र प्रतिरक्षामा
रहेर चुनाव लड्यो, यस निर्वाचन पश्चात संघियता कार्यान्वयनमा गएको छ भने राजनीतिक संक्रमणको अन्त्य भएको छ । वामपन्थीहरुको
सरकार बनेपनि उनीहरु शास्त्रीय साम्यवाद ल्याउन सक्ने छैनन् । उनीहरुले पनि लोकतान्त्रिक विधि मार्फत संविधान अनुसार शासन गर्न पर्छ । तर नेपाली कांग्रेसले इतिहासमात्र होइन भविष्य तर्फ हेरेर अगाडि बढ्ने साहस गर्नुपर्छ । नयाँ नेतृत्व कांग्रेसमा आवश्यक छ र समकालिन विश्व अनुसारको नीति तथा कार्यक्रम
जरुरी पर्छ । विश्वमा अहिले उदारवाद विरुद्ध युरोप, अमेरिका र भारतमै राजनीति मौलाएको छ । एमाले अध्यक्ष के.पी. ओलीको मधेश बारे अडान हेर्दा उनी अल्पसंख्यक मन नपराउने अनुदारवादी देखिन्छन् । उदारवादको रक्षाका लागि कांग्रेसले पुनर्गठन र पुनर्मुल्याङ्कन हुनु जरुरी छ । यत्रो पराजय पश्चात कांग्रेसले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर मन्थन गर्न जरुरी छ । नत्र भने कांग्रेस भविष्यमा होइन कि इतिहासमा मात्र सिमित हुने देखिन्छ । विगतमा कांग्रेसले आफ्नो क्षमता देखाएर जनताको मन जित्ने भन्दा कम्प्युनिष्टहरुको मत विभाजनबाट फाइदा लिएर संसदीय राजनीतिमा हालीमुहाली गर्दै आएको थियो । वामगठबन्धनको बहुमत र पार्टी एकिकरणसँगै यो सुविधा अब कांग्रेसलाई हुने छैन । अब कांग्रेस आफ्नै बलबुतामा अगाडि बढ्न सक्नु पर्छ । वास्तवमा अबको प्रतिकुलतालाई चिर्दै काँग्रेसलाई पुर्नजीवन दिनसक्ने गतिशिल नेता, अहिलेको नेतृत्व वर्ग र पुस्तामा छदैछैन । पार्टी सभापति देउवा, नेता रामचन्द्र पौडेल, डा् शशांक
कोइराला र अधिकांश केन्द्रीय समितिका सदस्यहरु जो सँग नेतृत्व गर्न क्षमता छैन । त्यसैले कांग्रेसलाई दुर्घटनाबाट बचाउने हो भने पार्टीलाई सक्षम र इमान्दार युवाको टिमलाई जिम्मा दिएर अहिलेको नेतृत्व वर्गको सिंगो पुस्ताले विश्राम लिएर अभिभावकको भुमिकामा रहनु पर्छ । गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ्ग लगायत युवाहरु कांग्रेसको नेतृत्व सम्हाल्न सक्षम छन् । कांग्रेसलाई बलियो बनाउने हो भने अब युवा पुस्तालाई नेतृत्व हस्तानतरण गर्नुको विकल्प छैन । जो वामगठबन्धनको
सरकारबाट हुन सक्ने मनपरीतन्त्र विरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न र सत्तामा जाँदा समेत राम्रो काम गरेर लोकप्रिय हुने सक्ने खुबी भएका नयाँ र युवा नेताहरुलाई नेतृत्व सुम्पन तयार हुनु पर्छ । हो, भोलि उनीहरु पनि सत्तालोलुप हुने असक्षम सावित भईसकेपछि पनि पदमा टासिरहन
सक्छन् । त्यसलाई रोक्न समुचित नियन्त्रण र सन्तुलनको व्यवस्था सहित पार्टीको विधान संशोधन गर्नुपर्दछ । त्यसैले कांग्रेसको पुर्नगठन अब गर्नै पर्छ । नत्र कांग्रेस असान्दर्भिक भएर जाने निश्चित छ ।
त्र

