पुल निर्माणमा ढिलाई

धरान÷ दुई वर्ष अघि भत्किएको धरान ८ स्थित खहरे खोलाको पुल पुनर्निर्माण अझै हुन सकेको छैन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सडकमा रहेको धनकुटे रोडको खहरे खोलाको पुल निर्माणमा ढिलाई हुँदा समयमै उपचारका लागि एम्बुलेन्स लिएर उपचारका लागि आउने बिरामीले सास्ती भोग्नु परेको छ भने सर्वसाधारणहरुलाई आउँजाउँमा कठिनाई भईरहेको छ ।
कोशी राजमार्गबाट छुटिएर धरान चतरा जोड्ने सडक खण्डको धरान स्थित धनकुटे रोड बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य बाटो हो । यही बाटो भएर दैनिक सयौंको संख्यामा बिरामी बोकेका एम्बुलेन्स र अन्य सवारीहरु ओहोरदोहोर हुने गर्दछ । धरानकै पश्चिमी वडाहरु १९, १८, १७, २० र बराहनगर पालिका जान पनि यो सडक प्रयोगमा आउने गरेको छ ।
२०७२ साल असोज ८ गते भत्किएको यो पुल ८ महिना अघि मात्रै सडक विभाग डिभिजन कार्यालय विराटनगरले ठेक्का लगाएको थियो । असार मसान्त सम्म पुल निर्माण गरिसक्ने सम्झौता गरेको श्याम कन्टूक्सन निर्माण कम्पनीले ५० प्रतिशत काम पनि पुरा गर्न सकेको छैन् । १ करोड ५ लाख रुपैयाको लागतमा ११ मिटर लम्बाई र ११ मिटर चौडाईको पुलमा दुवै तर्फ ७ फिटको फुटपाथ बनाउने सम्झौता भएको थियो । निर्माण सम्पन्न गर्ने ठेक्का पाएको ठेकेदार कम्पनीका कामदारले काम गर्न नसकेको स्थानीयको आरोप छ ।
पुल निर्माणको ढिलाईले मुख्यतः उपचारका लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउने बिरामीहरुलाई परेको छ । आकस्मीक सेवाका लागि एम्बुलेन्सबाट आउने बिरामीहरुलाई समयमै अस्पताल सम्म पुरयाउन नसक्दा बाटोमै मृत्यु हुन सक्ने जोखिम रहेको एम्बुलेन्स चालकहरु बताउँछन् ।
वर्षा शुरु भईसकेकाले खोलाको नजिकै रहेका घरहरु भत्किने चिन्ता पनि स्थानीयलाई बढ्दै गएको छ । पुल भत्किदा छेउमै रहेको घरको आधा भाग समेत भत्काईसकेको थियो । पुल निर्माण भए छेउमा लगाईने ढलानले घर जोगाउन सकिने स्थानीय रत्न कुमारी राईको भनाई छ ।
यता सडक विभाग डिभिजन कार्यालय विराटनगरले ठेकेदारको ढिला सुस्ती र समयमै पैसा उपलब्ध गराउन नसक्दा ढिलाई भएको स्वीकार गरेको छ । दुई वर्ष बितिसक्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसक्दा बिरामीहरुले सास्ती भोग्नुपरेको छ । स्थानीयहरु साउनको भेलले घरै बगाएर लैजाने चिन्तामा छन् । यसलाई सरोकारवालाहरुले चाडो भन्दा चाडो ध्यानाकर्षण गर्न आवश्यक छ ।
त्र

तपाईको प्रतिक्रिया