धरान÷कमजोर संगठन, उमेदवार छनौटमा नेतृत्वको चाकडीलाई प्रमुख आधार बनाइनु, माओवादी केन्द्रसँग अप्राकृतिक चुनावी गठबन्धन गरिनु, इमान्दार र पुराना कार्यकर्तालाई निर्वाचनमै उपेक्षा गर्नु जस्ता कारणले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस प्रदेश नं. १ बाट नराम्रोसँग पराजित भएको छ भने एमाले सबैभन्दा अग्रस्थानमा देखिएको छ ।
स्थानीय तहको निर्वाचनले नै प्रदेश र संसदको निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले आगामी माघ ७ गते भित्र हुने दुई चरणको निर्वाचनमा समेत एमालेकै वर्चस्व रहने राजनैतिक विश्लेषकहरुको अनुमान छ ।
प्रदे्श नं. १ को मंगलबार विहानसम्मको मत परिणाम अनुसार एमालेले अन्य सबै दललाई पछारेर आफनो अग्रता कायम
गरेको छ । प्रदेश नं. १ का १४ वटै जिल्लामा एमालेले आफ्नो प्रतिष्पर्धी नेपाली काँग्रेसलाई हराएर अग्रता कायम गरेको हो भने माओवादी केन्द्रले कही खाता सम्म खोल्न सकेन । प्रदेश नं. १ मा १ सय ३६ स्थनीय तह रहेका छन् । सुनसरी जिल्लामा मंगलबारसम्मको सार्वजनिक भएको मत परिणाम अनुसार चार स्थानीय तहमा नेपाली काँगेस, फोरम लोकतान्त्रिक, एमाले र संघीय समाजवादी पार्टीले जित हासिल गरेका छन् । सुनसरीमा दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँ पालिका रहेका छन् । जसमा एक नगरपालिका र चारवटा गाउँपालिकाको परिणाम सार्वजनिक भएको छ । दुहवी नगरपालिकाको मेयर र उपमेयरमा लोकतान्त्रिक फोरमले जित हासिल गरेको छ । फोरम लोतान्त्रिकबाट मेयरमा बेद गच्छदार र उपमेयरमा सुनिता दाहाल विजयी भएका छन् । दुहवीका १२ वटा वडा मध्ये ५ वटामा लोकतान्त्रिक फोरम र ३ वडामा नेपाली काँग्रेस, ३ वडामा एमाले, १ मा संघीय समाजवादीले जितेका छन् । यस्तै बर्जु गाउँपालिकामा लोकतान्त्रिक फोरमकै अध्यक्षमा रघुनन्द चौधरी, उपाध्यक्षमा संगीताकुमारी रायले जित हाँसिल गरेका छन् ।
उता भोक्राहा गाउँ पालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका महेन्द्र यादव र उपाध्यक्षमा पुनमकुमारी मेहता विजयी भएका छन् । उता हरिनगरा गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका तर्पmबाट गफार अन्सारी र उपाध्यक्षमा काँग्रेसकै रिमझिमकुमारी भगत विजयी भएका छन् । यसैगरी जिल्लाको सदरमुकाम रहेको इनरुवा नगरपालिकामा नेपाली काँग्रेसले सानदार विजयी हासिल
गरेको छ । इनरुवा नगरपालिकाको मेयरमा राजन मेहता र उपमेयरमा काँग्रेसकै जमुना पोखे्रल विजयी भएका छन् । उता रामधुनी नगरपालिकाको मेयरमा समेत नेपाली काँग्रेसले जित हासिल गरेको छ । नेपाली काँग्रेसका जयप्रसाद चौधरी विजयी भएका छन् भने उपमेयरमा एमालेकी सविना चौधरी विजयी भएकी छन् । इटहरी उपमहानगरपालिकामा वडा नं. १, ३, २० र ६ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ भन्ने अन्य वडामा एमाले नै अग्रस्थानमा देखिएको छ । एमालेका सक्रिय सदस्य ईश्वर
भट्टर्राका अनुसार इटहरीमा एमालेको वर्चश्व कसैले तोड्न सक्दैन । एक दुई वडामा नेपाली काँग्रेसले अग्रता लिए पनि त्यसले कुनै फरक नपर्ने पनि बताएका छन् । नेपाली काँग्रेसका सक्रिय सदस्य प्रेम वास्तोला भन्छन् नेपाली काँग्रेसले टिकट वितरणमै गलत गरेको परिणाम नै इटहरी उपमहानगरपालिकाको नेतृत्वबाट हात धुनु हो । उनी भन्छन् काँग्रेसका लोकप्रिय युवा नेता तथा नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौड्याललाई उमेद्वारी दिएको भए नेपाली काँगेसले निर्वाचन जित्ने थियो । यद्यपि हाल नेपाली काँग्रेसका प्रत्यासी रोहित प्रसाईले जति मत ल्याएका छन् त्यो सबै हेमकर्ण पौड्यालकै कारणले हो ।
यता धरान उपमहानगरपालिकाको अवस्था समेत इटहरी उपमहानगरपालिकाको भन्दा फरक छैन । टिकट वितरणमै केन्द्रले गरेको गल्तिले २० बर्षपछि भएको स्थानीय तहको निर्वाचनमा समेत एमालेले नै वर्चस्व राख्ने पक्का देखिएको छ । हाल धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसले वडा नं. १, २ र ५ मात्र विजय हासिल गरेको छ भने बाँकी ३, ४,६, ७, ८ मा एमालेका वडाअध्यक्ष सहित पुरै प्यानल विजयी भएका छन् । अन्य वडाको मत गणना जारी रहेको छ । अत्यन्तै सुस्त गतिमा भएको मत गणनासँगै मत गणनाका क्रममा स–साना विवाद उत्पन्न हुँदा बीच बीचमा रोकिनु, सर्वदलीय वैठक बसेर पुन गणनाको निर्णय गर्नुले पनि परिणाम आउन ढिलाई भइरहेको छ । धरानमा १० बर्षदेखि पार्टीको संगठन गर्दै आउनु भएका किशोर राईलाई पार्टीले उमेद्वारी दिएको भए एमालेलाई आफ्नो वर्चश्व कायम राख्न धौ धौ पर्ने थियो, नेपाल शिक्षक संघका पूर्व जिल्ला सचिव बाबुराम घिमिरेको कथन छ । उहाँ भन्नुहुन्छ अब कुनै जात विशेषलाई हेरेर मतदाताले मत दिँदैनन्, संगठन नै हुनुपर्छ ।

