धरान÷संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक, नेपालको अत्यन्तै निकट, जनस्तरबाटै घनिष्ट सम्बन्ध रहेको छिमेकी मित्रराष्ट्र भारतको ६८ औं गणतन्त्र दिवस यहाँस्थित रहेको भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानले गत विहीबार भव्यताका साथ मनाएको छ ।
अत्यन्तै भावुक बनाउने राष्ट्रिय गीतको गुन्जनका बीचमा पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी सेना मेडल मेजर सुनिल पालले झण्डोत्तोलन गर्र्दै बीर अमर सैनिकको स्तम्भमा श्रद्धापूर्वक माल्र्याहार गरी सलामी दिनुभएको थियो । यसैगरी पूर्व भारतीय सेनाका कर्णेल बीबी राई लगायत अन्य यहाँ बसोबास गर्ने भूतपूर्व भारतीय सैनिकका अधिकारीले समेत माल्याहार अर्पण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै कार्यालय प्रमुख एवम् प्रभारी अधिकारी सेना मेडल मेजर सुनिल पालले भन्नुभयो गणतन्त्र दिवस भारतको राष्ट्रिय पर्व हो । आजैको दिन भारतमा सविधान जारी भएको थियो । सन् १९४७ मा भारत स्वतन्त भएपछि सन् १९५० मा भारतको सविधान जारी भई भारत संघीय लोकतान्त्रिक गणतन्त्र भएको थियो । उहाँले आगन्तुक सबैलाई कार्यक्रममा सहभागीता जनाइदिनु भएकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो । प्रभारी अधिकारी सेना मेडल पालले भूपू सैनिक विद्यालय मोरङ्ग पथरीलाई स्कुलको फर्निचर बनाउन रु ५० हजार, भिमसेनस्थान माविलाई ५० हजार, भुकम्प पीडित सहायतावापत एकजना भूपूलाई ३२ हजार, राधा कृष्ण उच्च माविलाई अािर्थक सहयोग, आसाम राइफल्सका कटकबहादुर तामाङ्ग, पदमबहादुर गुरुङ्गकी श्रीमति, बीरबहादुर क्षेत्री लगायतलाई चारथान ह्वील चेयर समेत उक्त अवसरमा वितरण
गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका पूर्व क्षेत्रीय प्रमुख अनिल गुरुङ्ग, समाजसेवी एवम् प्रतिष्ठित व्यवसायी तथा गोरखा डिपार्टमेन्ट
स्टोरका सञ्चालक बलराम आचार्य, एसपी पोषराज पोखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठ, कुल सचिव तुलबहादुर श्रेष्ठ, दिल्ली पब्लिक स्कुलका प्रिन्सिपल पि.के. संकरालिंघम, धरानका उद्योगी व्यवसायी, धरान तथा अन्यत्र बसोबास गर्ने तीनसय भन्दा बढी भारतीय भूतपूर्व सैनिकहरुको सहभागिता रहेको थियो । सो अवसरमा आयोजित टक अफ वारमा यसपटक भूतपूर्व सैनिक संघ इटहरी विजयी भएको थियो भने उपविजेता भूतपूर्व सैनिक संघ शान्तिनगर भएको थियो । विजेता र उपविविजेतालाई निमित्त उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठ र सेना मेडल मेजर सुनिल पालले पुरस्कार वितरण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन एडम सुवेदार मेजर नेत्रप्रसादले गर्नुभएको थियो ।
