राज्य पुनसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीजस्ता विषयमा सहमति जुटाउन एमाओवादी नेता बाबुराम भट्टराईको संयोजकमा रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमतिको औचित्य अब समाप्त भएको छ ।
आगामी माघ ८ गते संविधान जारी गर्ने दलहरुको यस अगाडिको प्रतिवद्धता पूरा नहुने स्पष्ट भएको छ । समितिले तीन महिनामा पनि अन्तरवस्तुमा सहमति जुटाउन नसकेपछि समितिको औचित्यमाथि नै प्रश्न उठेको छ ।
समयमै संविधान जारी गर्ने हो भने विवादित हरेक विषय वस्तुलाई संसदमा लगेर प्रक्रियाबाट टुंगो लगाउनुपर्छ । दुई तीन वटा दलका नेताहरु बसेर सहमति खोज्ने हो भने संविधानसभाको औचित्य के ? संसदमा चारतिर मुख फर्किएका दलहरु छन् । जनताको विश्वास आर्जन गर्न नसकेका समानुपातिकबाट एक दुई सिट ल्याएका, संसदमा उपस्थित नै नभएका दलहरुको दबावमा संविधान लेखनको कार्यलाई अगाडि बढाउने हो भने संविधानसभाले नेपालमा कहिल्यै संविधान बनाउन सक्दैन ।
बाबुराम भट्टराई सभापति रहेको समितिले तीन महिनाको अवधिमा झिना मसिना कुरालाईमात्र प्राथमिकता दियो । हुन त बाबुराम भट्टराईको स्वाभाव पनि त्यस्तै छ उनी जहिल्यै पनि झिनामसिना कुरामा मात्र अल्झिन्छन् । बाबुराम भट्टराईले सहमति जुट्न नसकेको कुरामा पुन: सहमति खोज्न समितिको म्याद थपका लागि आग्रह गरेका छन् । उनको यो आग्रह आफैमा हाास्यास्पद रहेको छ । तीन महिनामा उनले कुनचाहिा महत्वपूर्ण कुरामा सहमति जुटाए र फेरि सहमतिको संयोजक बन्न लालायित बनेका हुन् ? समितिको संयोजक वा सभापति भएर राज्यबाट सेवा सुविधामात्र लिने मनसाय बाबुराममा देखिएको छ । उनी पल–पलमा झुठको खेति गर्दै आएका छन् । सहमति जुटाउने कार्य तालिमा अनुसारको समय सीमा भदौ २१ गते समाप्त भयो । असहमतिको प्रतिवेदन फेरि संवाद समितिमा पठाउने निर्णय भएको भन्दै उनले सफेद झुट बोले । तत्कालै कााग्रेसका एक नेताले संवाद समितिमा पुन : पठाउने नभएको प्रतिक्रिया दिएपछि बाबुराम भट्टराइएको सफेद झुट सतहमा आएको
थियो ।
अब वास्तवमा संविधान बनाउन दलहरुले चाहेका हुन् भने सहमति र असहमतिका हरेक विषय प्रक्रियाबाटै टुंग्याउनुपर्छ । त्यसैको लागि संविधानसभा बनाइएको हो । राज्यको ढुकुटीबाट अरबौ खर्च गरेर निर्वाचन गरिएको हो । यसैबाट विवादित विषयको टुंगो लगाउनुपर्छ । अब प्रक्रियामा नगई सहमतिबाट विवादित विषयको टुंगो नलाग्ने पक्का भएको छ । पहिलो संविधानसभाबाट संविधान नबन्नुको प्रमुख कारण पनि यही थियो । अबको संविधानसभा पनि सहमति र असहमतिमा अल्झिने हो भने नेपाली जनताले संविधान पाउन सक्दैनन् । आज गणतन्त्र आएको सात बर्ष भन्दा बढी भयो तर गणतन्त्रलाई संस्थागत गर्नेतर्फ सबैभन्दा ठूलो बाधक एमाओवादी र साना झिनामसिना दलहरु नै देखिएका छन् । जुन कुरालाई संस्थागत गर्न सकिदैन त्यसलाई भत्काउनु अगाडि किन माओवादी र उसको लहै–लहैमा लाग्ने दलहरुले सोच्न सकेनन् ?
