राजनैतिक वृत्तमा सामान्य रुपमा विथोलिएको नेपाल भारत सम्बन्ध पछिल्ला दिनमा सुधारतर्फ उन्मुख भएको छ । भर्खरै मात्र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको तीनदिने भारत भ्रमणपश्चात राजनैतिक वृत्तमै दुईदेशबीचको सम्बन्ध थप सुदृढ भएको आंकलन गर्न थालिएको छ ।
नेपाल भारतबीचको जनस्तरको सम्बन्धमा जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै विचलन आएन । पराम्परागत रुपमै दुवै देशका नागरिकबीचमा आफ्नै प्रकारको सम्बन्ध रहँदै आएको छ । खासगरी नेपालमा सविधानसभाबाट सविधान जारी हुँदाताका राजनैतिक वृत्तको सम्बन्धमा केही चीसोपना आएको थियो ।
प्रधामन्त्री पुष्पकमल दाहालको भारत भ्रमण केही लिनु र दिनु भन्दा पनि सम्बन्ध सुदृढमै केन्द्रित रहेको थियो । नेपालको संविधान जारी भएपछि संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै मधेशवादी दलहरु, क्षेत्रीय राजनैतिक दलहरुले झण्डै ६ महिना आन्दोलन चर्काए । उनीहरुको आन्दोलनले सीमा नाकाहरुमा ठप्प भए । तर सरकारले उनीहरुका मागमा संवेदनशील बन्न सकेन । फलतः मधेश आन्दोलनको सम्पूर्ण दोष भारतलाई दिँदै सरकार आफ्नो दायित्वबाट पन्छियो । समान्य कुटनीतिक मर्यादा समेत देखाउन नसक्दा दुवै देशबीच राजनैतिक सम्बन्धमा कटुता देखियो । प्रधानमन्त्री पुष्पकमल दाहालको यसपटकको भारत भ्रमणले सम्बन्धमा सुधार आएको छ । अब यसलाई थप मजबुत र दिगो बनाउँदै लैजानु आवश्यक छ । साथी फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिदैन । नेपालमा अस्थिरता सिर्जना हुँदा त्यसको प्रत्यक्ष परोक्ष असर भारतमा पनि पर्छ । त्यसैले पनि भारत नेपालमा शान्ति र स्थायित्व होस् भन्ने चाहन्छ । यस सम्बन्धमा त्यस देशका नेता, सरकारबाट समय समयमा अभिव्यक्तिहरु आइरहेका छन् ।
यस भन्दा अगाडि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भारत भ्रमण गर्दा एउटा संयुक्त विज्ञप्तीसमेत आउन सकेको थिएन । तर प्रधानमन्त्री पुष्पकमल दाहालको तीन दिने भारत भ्रमणमा दुवै देशका सकारको प्रतिवद्धता अर्थात संयुक्त विज्ञप्ती आउनुलाई सकारात्मक मान्नुपर्छ । दश बुँदे संयुक्त विज्ञप्तीमा पारस्परिक सहकार्यका नयाँ क्षेत्र खाजी गर्ने, द्विपक्षीय संयन्त्रको वैठक नियमित बस्ने र निर्णय कार्यान्वयन गर्ने, विदेशमन्त्री स्तरीय संयुक्त आयोग सन् २०१६ भित्र बस्ने, सार्क र विमस्टेक जस्ता क्षेत्रीय संगठन मार्फत व्यापार, पारवहन, कनेक्टिभिटी र विद्युतका क्षेत्रमा मिलेर काम गर्ने, भारतले एक मिलियन अमेरिकी डलर पुनः निर्माण सहयोग दिएकोमा नेपालका प्रधानमन्त्रीद्वारा धन्यवाद दिइएको थियो । यसैगरी संयुक्त विज्ञप्तीमा भारतीय विकास सहयोगका परियोजना कार्यान्वयन गर्न सयन्त्र निर्माण गर्ने, आगामी महिना पारवहन सन्धी परिमार्जन गर्ने सहमति, एकीकृत सुरक्षा जाँच चौकीहरुको निर्माणमा गति प्रदान गर्ने, जयनगर–जितपुर, बर्दिबास र जोगवनी–विराटनगर रेल्वे परियोजना निर्माण भइरहेको प्रगतिको समीक्षा गर्ने, नेपालगञ्ज, काँकडभिट्टा–भ्युजललाई गुडी, भैरहवा, नौतनहवा रेल परियोजनामा विस्तारमा काम शुरु गर्ने, पञ्चेश्वर परियोजना, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत परियोजनाका कामहरु सुचारु गर्ने लगायतका रहेका छन् । संयुक्त विज्ञप्तीमा प्रधानमन्त्री प्रचण्डले भारतीय पत्रकारहरुकाबीचमा आफनो धारणा राख्नु भएको थियो ।
